२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नेपाल चिकित्सक सङ्घद्वारा आन्दोलन घोषणा

नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानुनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिए। एक समूहले डा. थापा र बिडारी माथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए। गत भदौ २७ गते डा थापा र डा. बिडारी माथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भएको थियो।

तिवारीले गम्भीर घाइते भएका चिकित्सकहरूको स्वास्थ्य अत्यन्तै नाजुक भएको बताएका छन। उनले चिकित्सकका परिवार एवं अन्य स्वास्थ्यकर्मीहरूलाई समेत बारम्बार धम्काइ असुरक्षित एवं आतङ्कित बनाइएको बताए। उनले ज्यान मार्ने किसिमको घटनालाई अस्पतालको सिसिटिभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा समेत सुरक्षा निकायले गम्भीरतापूर्वक नलिएको बताए। उनले ७२ घण्टाको अल्टिमेटम दिएर सो घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारबाहीको माग गरेका छन।

डा.तिवारीले देशमा कानुनी राज्यको प्रत्याभूति चिकित्सक, स्वास्थ्यकर्मीहरूले कहिले पनि गर्न नसकेको बताए। उनले नियमित रूपमा उपचार प्रक्रियालाई इमानदारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई ज्यान मार्ने मनसायले अस्वाभाविक, अकल्पनीय र अमानवीय घटना भएको बताए।

उनले संलग्न दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नका लागि प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण गराइएको बताए। उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरे।

प्रकाशित: २८ भाद्र २०८० १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App