२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बाजुरामा स्क्रब टाइफस महामारीको खतरा, ४ महिनामा ४० संक्रमित भेटिए

बाजुरामा स्क्रब टाइपस रोगको संक्रमण देखिएको छ। गएको ज्येष्ठ महिना यता रोगको संक्रमण फैलिएको बाजुरा जिल्ला अस्पतालले बताएको छ।

बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिका क्षेत्रमा रोगको संक्रमण देखिएको अस्पतालमा कार्यरत डाक्टर चेतबहादुर धामीले बताए।

मुसा लगायतका प्रजातिमा पाइने सूक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा, किर्ना आदिको टोकाइबाट सर्ने रोगको संक्रमण बाजुरामा वृद्धि हुँदै गएको पाइएको छ। उपचारका लागि आउने मध्ये दैनिक १/२ जनामा स्क्रब टाइपस रोगको संक्रमण देखिने गरेको डाक्टर चेतबहादुर धामीले जानकारी दिए।

स्क्रब टाइपस ओरेन्सिया सुसुगामुस नामको जीवाणुले गर्दा लाग्ने गरेको छ। स्क्रब टाइपसको संक्रमण हुँदा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, सास फेर्न गाह्रो हुने, शरीर बाउँडिने, खोकी लाग्ने जस्ता लक्षण देखिने गरेको बाजुरा जिल्ला अस्पतालका प्रमुख डाक्टर समिता पुनले बताइन्।

अधिकांशमा बान्ता हुने, पेट दुख्ने पखला लाग्ने, जिउ दुख्ने, जोर्नी र मांसपेशीमा पिडा हुने, गर्दन, नितम्ब र पाखुरामा गाँठो देखिने, रगतमा प्लेटलेट्सको संख्या घट्दै जाने, छाती पाखुरा, हात खुट्टामा गुलाबी बिमिरा देखिने जस्ता लक्षण देखिने गरेको छ।

बाजुरा जिल्ला अस्पतालमा एक जना बिरामी चार दिन देखि भर्ना गरिएको छ। चार महिनाको अवधिमा ४० बढीमा संक्रमण देखिएको अस्पताल श्रोतले बताएको छ। कसैलाई धेरै गाह्रो हुने र कसैलाई सामान्य खालको दुखाई मात्रै हुने गरेको छ।

समयमै उपचार नपाएमा ज्यान समेत जोखिममा हुने स्वास्थ्य कर्मी बताउँछन्। केही वर्ष पहिला कमै देखिने स्क्रब टाइपस पछिल्लो समय संक्रमण नै रुपमा फैलिएको चिकित्सकको भनाई छ।

स्क्रब टाइपस पहिलो पटक सन १९३० मा जापानमा पहिचान गरिएको रोग हो। यसको समयमै उपचार हुन नसके दीर्घकालसम्म सुन्ने क्षमता गुम्ने, रक्तचाप कम हुँदै जाने, मिर्गौलाले काम गर्न छाड्ने, शरीरको प्रतिरक्षात्मक क्षमता कमजोर हुँदा सामान्य जीवाणुले पनि सजिलै संक्रमण गर्ने जस्ता जटिलताहरु देखा पर्ने जोखिम रहेको छ।

सबै उमेर समूहका मानिसलाई पनि संक्रमण सर्न सक्ने हुन्छ। हालसम्म यस जीवाणुको विरुद्धमा दिइने लाइसेन्सेड भ्याक्सिन बनेको छैन। तर संक्रमण भएपछि डक्सिसाइक्लिन (१०० एमजी) दिनको दुई पटक, टेट्रासाइक्लिन जस्ता एन्टिबायोटिकको मद्दत लिनु पर्ने र चिकित्सकको सल्लाहमा उपचार गर्नु पर्ने सुझाव स्वास्थ्य कर्मीको छ।

यो जीवाणुबाट बच्नका लागि सूक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा आदिबाट टाढा बस्ने, बिरामीको सुरक्षित ढंगले हेरचाह गर्ने, बिरामीको सामानहरु जथाभाबी नराख्ने र प्रयोग नगर्ने तथा सरसफाईमा राम्रो ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव छ।

प्रकाशित: २८ भाद्र २०८० ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App