८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
विचार

संस्कृतिमय सुदूरपश्चिम

‘मेरी इजाले पछिसम्म पनि गुन्यू तथा घाँगर लगाएको, चौबन्दी चोली र टाउकोमा मुन्याठो बाँधेर काम गरेको, विसुपर्वमा रामरमिताका साथै उग्रतारा देवी, अन्य स्थानीय देवीदेवताको मन्दिरमा प्रभातै पूजा गरेको मलाई सम्झना छ। हाम्रो स्थानीय भाषामा बोलेर गाउँका जेष्ठ नागरिकले भाषाको सेवा गरेको देखेर मलाई खुसी लाग्छ। गाउँमा जाँदाखेरि म पनि आफ्नै जिल्ला र प्रदेशको भाषा बोल्ने गर्छु।’ पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसुपर्वको उपलक्ष्यमा गत वैशाख १ गते राजधानीको प्रज्ञाप्रतिष्ठानको सभाहलमा बोलेका कुरा हुन् यी।

देउडा समाजले आयोजना गरेको शुभकामना आदानप्रदान, स्रष्टासम्मान र देउडा खेल कार्यक्रममा प्रमुख अतिथिका रूपमा देउवाले हजारौं सुदूर र कर्णाली प्रदेशका संस्कृतिकर्मी माझ आफ्नो भाषा र संस्कृतिबारे खुलेर विचार सुनाउनुभयो। ‘कर्णालीको जुम्ला सिंजादराबाट उत्पत्ति भएको माउ भाषा हो नेपाली, जुन बिस्तारै विकसित हुँदै देशभरि फैलियो। हामीले आफ्नो भाषाको विकास र विस्तार नगरे अरू आएर प्रचारप्रसार गर्ने कुरा भएन। आजभोलि डडेलधुरा, बैतडी, बझाङ, बाजुरा आदि ठाउँबाट काठमाडौं र अन्य सहरी भूभागमा बस्ने मानिस जन्मेका ठाउँको भाषा भुलेर नेपाली र अंग्रेजीमा कुरा गर्ने गरेको मैले सुनेको छु। यताको भाषा नबोल, गीत नगाऊ भन्न खोजेको होइन तर आफ्नो मातृभाषा पनि बोल्नुपर्छ, नत्र हराएर जाने डर हुन्छ मात्र भन्न खोजेको हुँ’, देउवाको कथन थियो। 

हालको देशको तरल राजनीतिक अवस्थाबारे जेठो र ठुलो राजनीतिक पार्टीको सभापतिका नाताले केही राजनीतिका चोटिला सन्देश पक्कै दिनुहुनेछ भन्ने मनसायले कार्यक्रममा राजधानीमा बसेका सुदूरपश्चिमका साधरणदेखि प्रबुद्ध वर्गको बाक्लो उपस्थिति रहेको थियो। तर देउवाले धेरै कुरा कालीकर्णालीको भाषा रहनसहन र संस्कृतिबारे धारणा राख्नुभयो। २०८२ सालको अन्त्यतिर देउवाका लागि प्रधानमन्त्री पद प्राप्त गर्ने वर्ष पनि हो। संस्कृतिभित्रको राजनीति सभ्यताको सूचक पनि हो। 

देउवाको संस्कृतिसँगैको राजनीति चुलिएकै कारण सुदूरपश्चिमका दुइटा ठुला सांस्कृतिक पर्व विसु र गौराका बेला निरन्तर उपस्थित भएर संस्कृतिकर्मीमाझ देउडा खेल्नुभएको हो। देउडा सुदूरपश्चिम र कर्णाली प्रदेशको अलौकिक र महत्वपूर्ण संस्कृति हो। युवाहरूमाझ ढल्कीढल्की डेढ स्टेप पाइताला घुमाउँदै हात समाउँदै गोलाकार रूपमा घुमेर गीत गाउनु यसको खास विशेषता हो। आफ्नो युवा कालदेखि यसमा चाख मानी मानी उहाँ सहभागिता जनाउँदै आउनुभएको छ। यसपटक पनि खुसी मान्दै सहभागिता जनाउनुभयो। तर प्राविधिक कारणले देउडामा घुम्नु भने भएन। संस्कृतिकर्मीहरूले केही खल्लो माने। तर पूर्वमन्त्री कांग्रेस केन्द्रीय सदस्य एनपी साउद, भानुभक्त जोशी, गोविन्दबहादुर शाह, नैनसिंह महरलगायतका नेताहरू भने देउडामा रमाए।

रिक्त रहन गएको नेपाल राष्ट्र बैंकको गभर्नर पद सुदूरपश्चिम प्रदेशबाट छिटै छनोट हुने आशा विसु मनाउन आएकाहरूले गरे। यसका अलवा डेढ वर्ष पहिले हमास समूहद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि केही आशाका शब्द सुनाउनुहुनेछ भन्ने पनि आशा राखेका थिए विसुप्रेमीले। तस्बिर खिच्न देउवासँग तँछाडमछाड गर्नेहरूमध्ये केहीले त लाक्षणिक भाषामा कालीकर्णालीले मौका पाउनुपर्‍यो भनी सम्झाए। हरेक सभामा थोरै बोल्ने बानी भएका देउवाको विसुको सम्बोधन विशुद्ध त्यस प्रदेशको भाषा हराउन लागेकामा केन्द्रित थियो।

इतिहासको एउटा प्रसंगको याद आयो त्यसबेला मलाई। कुरा २०३६ सालको काठमाडौंको महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिसभा नयाँ बानेश्वरको हो। जनमतसंग्रहको घोषणा भएर बहुदलवादीहरू गाउँ गाउँमा प्रचार अभियानमा पुगिसकेका थिए। यता लक्ष्मीप्रसाद देवकोटाको स्मृतिसभामा प्रमुख वक्ताका रूपमा प्रखर समाजसेवी नेता बिपी कोइराला आमन्त्रित हुनुहुन्थ्यो। सान्दाजुले पक्कै पनि नयाँ राजनीतिक कुरा बोल्नेछन् भनी सभामा सयौं प्रबुद्ध वर्गको उपस्थिति थियो। सम्बोधनका क्रममा उहाँले नेपाली साहित्यका महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याललगायतका विशिष्ट साधकको युगको चर्चा गर्नुभयो। केही चर्चा सुन्दरीजल कारागारमा आठ वर्ष बस्दा जन्मिएका आफ्ना अमरकृतिको गर्नुभयो, केही चर्चा महाकविको निबन्ध ‘के नेपाल सानो छ?’ बारे गरेर मन्तव्य टुङ्ग्याउनुभयो। 

जल्दोबल्दो राजनीतिक रापका बेला बिपीले राजनीतिका नाममा ‘र’ पनि उच्चारण गर्नुभएन भनेर उपस्थितवर्ग आश्चर्य मानिरहेका थिए। ती व्यक्तिलाई सम्झाउँदै बिपीका अनुयायी प्रदीप गिरिले भन्नुभएको थियो– बिपीले प्रशस्त मात्रामा राजनीतिक कुरा गर्नुभयो। तपाईं हामीले नबुझेका मात्र हौँ। ऊनै बिपीका चेला देउवाले पनि नेपाली भाषा र संस्कृतिभित्रको राजनीतिलाई सूक्ष्म तवरले केलाउँदै आआफ्नो मातृभाषा संरक्षणका लागि लागिपर्न निर्देशन दिनुभएको हो कि भन्ने ठम्याइ रहेको छ। हुन पनि गणतन्त्रकालपछि विभिन्न आयोगसँगै भाषा आयोग पनि गठन भयो। देशका एक सय २५ भन्दा बढी भाषामा बोल्ने मानिसहरूको संख्या उत्तिकै छ। घरायसी रूपमा आआफ्नो भाषामा बोले पनि सरकारी रूपमा देवनागरी लिपि अर्थात् देशको राष्ट्रभाषा नेपालीमा नै बोल्ने र लेख्ने गरिन्छ। भाषाले अपनत्व देखाउँछ। राजनीति गर्नेहरूका लागि बस्तीबस्तीमा बोलिने र लेखिने भाषा सिक्नु र प्रयोगमा ल्याउनु सान्दर्भिक हुन आउँछ। 

वसन्त ऋतुमा वन र बगैंचामा सयौंथरी रंगीबिरंगी फूल फुलेर प्रकृतिको सुन्दर बगैंचा मानिएको नेपाल भूमिलाई सिंगारिरहेछन्। ठिक त्यसैगरी नेपालीले बोल्ने नेपाली भाषा मात्र नभएर विभिन्न जातजातिले बोल्दै आएको भाषाभाषीले देशलाई सिँगारिरहेछ। आदिकालदेखि हिन्दु, बौद्ध, मुस्लिम, इसाइहरूले बसोबास गर्दै आएको नेपाली जातिको एकताले पनि विभिन्न भाषाको श्रीवृद्धि गरेको पाइन्छ। संस्कृति वेशभूषाबिनाको राजनीति नुन, अमिलो नमिसाइएको अचारजस्तै हुनेहुँदा कानुन बनाउने सर्वोच्च निकाय संसद्ले नेपाली भाषाको उन्नयनका लागि विशेष कानुन बनाउनु वान्छनीय देखिन्छ। 

गत चैत्र १५ गते राजावादीले तीनकुनेमा गरेको आतंककारी गतिविधिबारे पक्ष र प्रतिपक्षबिच चर्काचर्की स्वरहरू सुनियो देखियो, जसमा केही सांसदहरूले अंग्रेजीमा पनि बोलेको देखियो। जुन शैली शोभनीय लागेन। आआफ्नो धर्म संस्कृतिअनुसार नयाँ वर्षलाई सबै नेपालीहरूले आफ्नो शैलीले स्वागत गरे। जुन आफैंमा गर्विलो नेपाली परम्परा हो। कालीकर्णालीका मानिसले आपसमा सिस्नु लगाए। देवर भाउजूबिच सिस्नु लगाउने प्रचलन छ। आफूभन्दा ठुलालाई पनि सिस्नु लगाइन्छ, जुन आदर र प्रतिकारात्मक रूपमा हेरिन्छ। सिस्नुले पोलेपछि वर्षभरि रोग लाग्दैन भन्ने कथन छ। 

गतानीडुप्का, बटुक र दही खाँदा वर्षभरि शुभ हुन्छ भन्दै भाइचारा चिरकालसम्म कायम राख्न आपसमा देउडा खेल्नु यहाँको परम्परा हो। महिलाले कपडाको पुत्ला बनाई मन्दिरहरूमा सेलाएर देवीका गाथा गाउने गर्छन्। नयाँ वर्षमा धनकुटा जिल्लामा ‘कोप्चे पर्व’ बडो उत्साहका साथ मनाइन्छ। राई र लिम्बु जातिले मनाउने यो पर्व वर्तमानमा सबै जातिमा फैलँदै गएको देखिन्छ। गर्मी नहोस् भनेर शिरमा पानी राखेर भिजाउने, आपसमा मिठो परिकार बनाई खाने परम्पराले जनजनमा हार्दिकता साटासाट गर्छ। मानौं माघ महिनामा सुदूरपश्चिममा चेलीबेटीलाई बाबर, प्वाधूलोको पोको बाँधेर अन्निफाको उपहार दिएजस्तै। यसैगरी तराईंको अवध संस्कृतिमा ‘सातुवान’ पर्वले नयाँ वर्षको स्वागत गर्ने परम्परा छ। जौको सातुमा सक्खर मिसाई देवीदेवतालाई अनिवार्य चढाएर मात्र भोजन गर्ने अनि आँपको ‘टिकोरा’ चढाउने, चैतीगीत गाएर मनोरञ्जन गर्ने प्रचलनले अवध संस्कृतिलाई जोगाएको देखिन्छ। यसैगरी गौरव र ऐतिहासिक संस्कृति बोकेको मिथिलाञ्चल प्रदेशमा जुड शीतल मनाउने परम्पराले नयाँ वर्षलाई सभ्यताको वर्षका रूपमा लिने गरिन्छ। 

विमल निभा र अवध संस्कृतिका अध्येता विक्रममणि त्रिपाठीको नयाँ वर्ष मनाउने परम्परा शीतलतासँग र सद्भाव, मेलमिलापसँग जोडिएको मात्र नभई प्रकृतिबाट उब्जनी भएका बहुमूल्य बोटविरुवासँग पनि जोडिएको कुरा बताउनुहुन्छ। जुन कुरा आयुर्वेदसँग पनि सम्बन्धित छ। जौको सातु, सिस्नु, आँपको प्रयोग यसको उदाहरण हो। झापामा ताजपुरिया जातिले हिलोसँग लडिबुडी खेल्दै रामरमिता गरेर नयाँ वर्षको स्वागत गर्नु पनि मनोरञ्जनका साथै किसान र माटोको सम्बन्ध कति गहिरो छ भन्ने देखाउँछ।

देशमा लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था स्थापना भएको १५ वर्ष पूरा हुँदैछ। यस अवधिमा सबै काम सकारात्मक रहे भन्न नसकिए तापनि नेपाली संस्कृतिका मौलिक पाटाहरू प्रशस्त मात्रामा बाहिर आएका छन्। सातवटै प्रदेशका अलौकिक परम्पराहरूको जर्गेना गर्नु राजनीतिकर्मीहरूको कर्तव्य पनि हुन आउँछ। दक्षिण एसियाली मुलुकहरूमा नेपाल मात्र यस्तो मुलुक हो, जहाँको मौलिकता र सभ्यता अत्यन्त प्राचीन र पठनीय छ। विसुपर्वमा देउवाको सम्बोधन पनि यिनै कुरामा केन्द्रित थियो।

प्रकाशित: ९ वैशाख २०८२ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App