१३ असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्दै काठमाडौं महानगरपालिका

नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रत्याभूति गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले २० वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माण गरिरहेको छ। ३२ वटै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत आधारभूत स्वास्थ्य सेवा प्रत्याभूति गर्ने योजना रहेको भए पनि असोजभित्र २० वटा वडामा सञ्चालन हुनेगरी प्रक्रिया अघि बढेको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। ‘आवश्यक उपकरण र जनशक्ति पूरा भएमा असोजभित्रै सञ्चालन हुन्छ,’ काठमाडौ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडेलले भने।

सहरी स्वास्थ्य क्लिनिकमा स्वास्थ्य सेवालाई स्तरोन्नति गरी गुणरस्तीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सहरी स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्र स्थापना गर्न लागेको पौडेलले बताए। महानगरपालिकामा यसअघि नै ६ वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा आइसकेको र थप केन्द्रका लागि भवन निर्माण भइरहेको पौडेलले जानकारी दिए।

महानगरपालिकाका अनुसार सबै गरी यो वर्षभित्र महानगरपालिका वडा नम्बर १ को नक्साल, २ को लाजिम्पाट, ३ को महाराजगन्ज, ५ को हाँडिगाउँ, ६ को कुलेश्वर, ७ को मित्रपार्क, ९ को गौशाला, १० को लाखेचौर, ११ को बबरमहल, १२ को टेकु र १४ को गणेश मन्दिरमा निर्माण हुँदैछ। त्यसैगरी, वडा नम्बर १७ को क्षेत्रपाटी, १८ कोे नरदेवी, १९ को टंकेश्वरी, २२ को सुन्धारा, २६ को ठमेल सहिदपार्क, २७ को उज्यालो सूर्य, ३१ को भीमसेनगोला र वडा २८ को बागबजारमा निर्माण हुन लागेको हो।

कतिपय वडामा भवन निर्माणकै काम भइरहेको र कपितय सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा अन्य पूर्वाधार निर्माण भइरहेको स्वास्थ्य शाखाका प्रमुख पौडेलले बताए। सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा नभएका सेवा सुविधा विस्तार गरी एक चिकित्सकसहितको सेवा प्रदान गरिने भएकाले यो सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दा हरेक नागरिकले आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा पाउने शाखाका प्रमुख पौडेलले बताए।

उनका अनुसार अब सञ्चालन हुने सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा एक्सरे, प्रयोगशाला, भिडियो एक्सरे, चिकित्सक, फिजियोथेरापी, मातृशिशु स्वास्थ्य सेवा, बहिरंग सेवा, इसिजी लगायत सेवा प्रदान गरिनेछ। केन्द्रमार्फत नै ९८ प्रकारका औषधि निःशुल्क वितरण हुने र सबै उपचार निःशुल्क रूपमा प्रदान हुने भएकाले सहरबासीको लागि ठूलो राहत हुने पौडेलले बताए।

 केन्द्रको लागि आवश्यक दुई सय १९ जना कर्मचारी दरबन्दीका लागि प्रदेश लोकसेवा आयोगलाई पत्राचार गारिसकेको महानगरपालिकाले जनाएको छ। जनशक्ति दरबन्दी प्रक्रिया सक्दो छिटो भएमा सेवा पनि छिटो दिन सकिने प्रमुख पौडेलको भनाइ छ।

प्रकाशित: २१ भाद्र २०८० ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App