१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

गुल्मी अस्पताल: दुई पक्षबिच छानबिन समिति गठन गर्ने सहमति

मंगलवार बिहानदेखी अशान्त गुल्मी अस्पताल परिसर पीडित र अस्पतालबिच सहमति भएसंगै शान्त भएको छ।

हिजो दिनभर समझदारी नबन्दा गुल्मी अस्पतालमा तनावको स्थिति सृजना भयो । सामान्य पेट दुखेर अस्पताल गएकी बालिकाको मृत्यु भएपछि आफन्तजनले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शव उठाउन नमानेपछि घटनाले फरक मोड लिएको थियो । दिनभर आफन्तहरूले प्रदर्शन गरेपछि अस्पताल अशान्त बन्न पुग्यो।

अस्पताल प्रशासन र मृतकका आफन्तजन बिच भएको छलफल सकारात्मक नभएपछि जिल्ला प्रशासन कार्यालयमा वार्ता बसेर छानबिन समिति बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रशासन, रेसुङ्गाका मेयर खिलध्वज पन्थी, अन्य सरोकारवाला पक्षको दिनभरको प्रयासपछि सफल भएको हो।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । सदस्यहरूमा रेसुङ्गा नगरपालिकाका अधिकृत विनोद मरासिनी, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक लगायत रहेका छन् । गुल्मी अस्पतालले विज्ञप्ति जारी गर्दै समिति गठन भएको र यसले सत्य तथ्य घटना बाहिर ल्याउने जनाएको छ।बालिकाको बुधवार बिहान ८ बजे पोस्टमार्टम पछि आफन्तले शव बुझ्ने बताईएको छ ।

के भएको थियो घटना ? 

सोमवार दिउँसो सामान्य पेट दुखेर अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेका राजेश मरासिनीले आफ्नी ७ वर्षीय छोरी प्रशंसालाई लिएर गुल्मी अस्पताल पुगे  । उपचारको क्रममा अस्पतालमै बच्चाले बान्ता गरेपछि उनलाई भर्ना गरिएको थियो । 

अर्घाखाँची–७, भगवतीका मेघराज पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । आज (मंगलवार) बिहान ६ बजेको समयमा बच्चा निदाएका बेला उठाएर सुई मार्फत औषधी दिइएको थियो । त्यसपछि उनी बेहोस भइन् । सुई लगाएपछि बेहोस भएकी प्रशंसा फेरी ब्युँझिन सकिनन्।

बालिका बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरेपनि  नर्सहरूले समयमै डाक्टर नबोलाउँदा घटना घटेको आफन्तजनको आरोप छ। सामान्य पेट दुखेको बच्चा अस्पताल लगेपछि स्वास्थ्य अवस्था सुधारात्मक रहेका बेला लाहापरवाहीले गर्दा सुई लगाएको केही समयमै बच्चाको ज्यान गएको उनीहरूले आरोप लगाएका छन् ।

टायर बालेर प्रदर्शन गर्दा दुई घाइते 

मृतकका आफन्तजनले अस्पताल परिसरमा नाराबाजी गरेर तोडफोडमा उत्रिएपछि झडपको स्थिति बन्यो । दिनभर अस्पताल परिसरमा आवतजावत बन्द गरेर बाक्लो रुपमा प्रहरी परिचालन गरियो।

साँझसम्म सहमति बन्न नसकेपछि आक्रोशित बनेका आफन्तजनले आन्दोलन गर्ने क्रममा २ जना युवा घाइते भएका छन्।प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै टायर बाल्ने क्रममा आगो शरीरमा सल्किएपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिका ६ का लक्ष्मण पाण्डे र वडा नम्बर ७ का कृष्ण पौडेल जलेर घाइते भएका हुन्।पेट्रोल खनाएर टायर बाल्ने क्रममा ती युवाहरूको शरीरमा पेट्रोल परेको थियो ।  उनीहरूलाई थप उपचारको पाल्पा पठाइएको छ।

प्रकाशित: १२ भाद्र २०८० १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App