६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

धरानमा अवैध रुपमा पोलिक्लिनिक र ल्याब सञ्चालन

धरान बजारको मेडिकल र ल्याबहरूको बुधबार अनुगमन गर्दै स्वास्थ्य महाशाखा, प्रहरी प्रशासनको टोली। तस्बिर : रोहित राई/नागरिक

सरोकारवाला निकायहरूको अनुगमन नहुँदा धरानको बजार क्षेत्रमा बषौंदेखि अवैधरुपमा ल्याब तथा डायाग्नोष्टिक सेन्टरहरु सञ्चालनमा रहेको पाइएको छ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको अगुवाईमा बुधबार प्रहरी, प्रशासनसहितको टोलीले अनुगमन गर्दा पोलिक्लिनिक तथा ल्याबहरु अनुमति विना सञ्चालनमा भएको पाइएको हो।

पोलिक्लिनक तथा डायग्नोष्टिक सेन्टरहरु अनुमति विना बषौंदेखि सञ्चालनमा भएपनि सरोकारवाला नियमन निकायहरुले चासो नदेखाउँदा मानव स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो बेथिति बढेको हो।

पछिल्लो समय भने धरानमा डेंगुको प्रकोप फैलिदा ल्याबहरुले चर्को मूल्य लिएर डेंगु ज्वरो परीक्षण गरिरहेको गुनासो बढेपछि उपमहानगरपालिकाले मेडिकल तथा ल्याबहरूको अनुगमन सुरु गरेको हो।

त्यसक्रममा बुधबार अनुगमन गरिएका पोलिक्निनक तथा ल्याबहरुले अनुमति नलिई सञ्चालनमा रहेको खुलेको उपमहानगरपालिका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए।

‘मानव स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अनुमति विना ल्याबहरु चलेको पाइयो। ती सबैलाई समय तोकेर तत्काल कानुनी प्रक्रियामा आउन निर्देशन दिइएको छ,’उनले भने।

अनुगमन टोलीले बुधबार विभिन्न ८ वटा मेडिकल तथा ल्याब सेन्टरहरुको अनुगमन गरेको थियो। ती मध्ये सबै ल्याबहरु अनुमति विना सञ्चालनमा रहेको पाइएको थियो। धरान १२ स्थित सुनसरी पोलिक्लिनिकले अनुमति विना एक्स रे सञ्चालन गरिरहेको पाइएको भेटिएको थियो भने डेंगु परीक्षण गर्न एक हजार रुपैयाँ लिइरहेको पाइएको थियो। उक्त पोलिक्लिनिकका सञ्चालक लालुप्रसाद यादवलाई एक्स रे तत्काल बन्द गर्न र डेंगु परीक्षण गर्दा ५ सय मात्र शुल्क लिन अनुगमन टोलीले निर्देशन दिएको थियो।

यस्तै, ओम गार्डिजन डायग्नोष्टिक सेन्टर, मोर्डन डायग्नोष्टिक सेन्टर, नेशनल डायनोष्टिक सेन्टर पनि अनुमति नलिई अवैधरुपमा सञ्चालन भइरहेको भेटिएको अनुगमन टोलीले जनाएको छ। धरान औषधालयले पनि अनुमति नलिई बषौंदेखि ल्याब सञ्चालन गरिरहेको पाइएको थियो।

‘अनुमति विना चलेका ल्याबहरुलाई अनिवार्य प्रक्रिया पुर्‍याएर अनुमति लिएर मात्र चलाउन भनेका छौं,’ स्वास्थ्य महाशाखाका कर्मचारी एवं डेंगुका फोकल पर्सन विजयकुमार साहले भने, ‘स्वास्थ्य संस्थाको अनुगमन गर्ने र कानुनको दायरामा ल्याउने काम हुन्छ।’

डेंगुको मौका छोपेर मेडिकल र ल्याब सेन्टरहरुको मिलेमतोमा महँगोमा रगत परीक्षण हुने गरेको पाइएपछि अनुगमन टोलीले ५ सयभन्दा बढी शुल्क नलिन पनि सचेत गराएको थियो। कतिपय मेडिकलहरुमा गैरकानुनीरुपमा रगत तानेर निश्चित ल्याबमा पठाउने र कमिसन लिने गरेको खुलेको थियो। साथै, उच्च ज्वरो आएर उपचारको लागि मेडिकलमा आएका बिरामीलाई रगत परीक्षण गर्न ल्याबमा पठाइदिँदा कमशिन लिने गरेको र त्यसले महँगो शुल्क परेको पनि पाइएको छ।

‘हामीले मेडिकलहरुलाई रगत नतान्न भनेका छौं। ल्याबहरुलाई पनि मेडिकललाई कमिसन दिने गरी शुल्क लिन पाउँदैनौँ भनेर ५ भन्दा बढी नलिनु भनेर सचेत गराएका छौं,’अनुगमन अधिकृत सापकोटाले भने।

प्रकाशित: १७ श्रावण २०८० १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App