५ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

धरानमा दोहोरिन सक्छ काठमाडौंमा देखिएको ‘जटिल डेंगी’

डेंगु संक्रमणबाट बच्न यस्ता छन् डा.पुनको सुझाव

फाइल तस्बिर

यस वर्ष धरानमा डेंगु संक्रमण महामारीकै रुपमा फैलिएको छ। वैशाख (प्री मनसुन) देखि धरानमा देखिएको डेंगु संक्रमणले अहिलेसम्म १ जनाको मृत्यु भइसकेको छ भने १ हजार ७ सय १ जना संक्रमीत भइसकेका छन्।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार उपमहानगरका वडा न ११,१५,१७ र १८ मा डेंगु संक्रमण बढी मात्रामा देखिएको छ।

मेहेता भन्छन्, ‘धरानमा वैशाखदेखि डेंगु संक्रमण देखिएको हो। अहिलेसम्म डेंगुबाट १ जनाको मृत्यु भएको छ। अन्य ३ जनाको पनि मृत्यु भएको भन्ने छ तर त्यसमा पुष्टि भएको छैन्। अहिलेसम्म १ हजार ७ सय १ जना संक्रमित भइसकेका छन्।’

त्यसो त डेंगु संक्रमण फैलिएर बिरामीको संख्या बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ। क्लिनिकमा अहिले दैनिक २ सय देखि ३ सय सम्मका बिरामीहरु पुग्ने गरेका छन्।

संक्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुन यस वर्ष धरानमा देखिएको डेंगु संक्रमण गत वर्ष काठमाडौं उपत्यकामा देखिएको जटिल डेंगीसंग मिल्न सक्ने बताउँछन्।

पुन भन्छन्,‘सन् २०१९ मा फैलिएको डेंगीको तुलनामा गत वर्ष फैलिएको डेंगी संक्रमण जटिल प्रकृतिको थियो। यो वर्ष धरानमा फैलिएको डेंगी पनि सोही प्रकृतीको देखेको छु।’  

सन २०१९ मा धरान र  काठमाडौंमा डेंगु महामारी देखिएको र गत वर्ष काठमाडौंमा पुन महामारी देखिएको हुँदा धरानमा पनि सोही क्रम दोहोरिन सक्ने उनको बुझाइ छ।

तथ्यांक अनुसार गत वर्ष ५३ हजार ९५१ जनामा डेंगी संक्रमण भएको थियो भने ६२ जनाको मृत्यु भएको थियो। पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष काठमाडौंमा डेंगी संक्रमण फैलनुको कारण सेरोटाइप ३ रहेको थियो।

सामान्यतया डेंगु भाइरसको चारवटा सेरोटाइप हुन्छन्,सेरोटाइप १,२,३ र ४। सेरोटाइप बदलीएर पुन सोहि व्यक्तिमा डेंगु संक्रमण भएमा डेंगुको थप जटिलता देखिन्छ।

डेंगु संक्रमण एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ।

एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ।

डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ। डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन्।

संक्रामक रोग विशेषज्ञ डा शेर बहादुर पुन डेंगु संक्रमण हुन नदिन लामखुट्टेको बस्ने वातावरण सिर्जना हुन नदिनु नै प्रमुख उपाए रहेको बताउँछन्।  

पुन भन्छन्,‘डेंगु संक्रमण हुन नदिनु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो। लामखुट्टेको टोकाइबाट बच्नु भनेको लामखुट्टे वृद्धि विकास हुने वातावरण सिर्जना हुन नदिनु हो। लामखुट्टे वृद्धि विकास नभएपछि हामीलाई लामखुट्टेले टोक्दैन र डेंगु संक्रमण हुँदैन्।’  

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्ने पुनको सुझाव छ। यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन। पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ।

त्यस्तै यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ। सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ। साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ।

पुनका अनुसार डेंगु संक्रमण हुँदा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, पखला लाग्ने आदि लक्षणहरू पनि देखा पर्न सक्छ। यदि लक्षणहरु जटिल बन्दै गएमा रक्तश्राव हुने र बेहोश समेत हुन सक्दछ।  

नेपालमा पहिलोपटक सन २००४ मा डेंगु देखिएको थियो। भारतबाट आयातित डेंगु चितवनमा ३२ जनामा संक्रमण भएको थियो। त्यसयता नेपालमा निरन्तर डेंगु संक्रमण देखिएको छ। सन् २००६, सन् २०१०, सन् २०१३, सन् २०१६, सन् २०१७ मा नेपालमा डेंगुको प्रकोप नै देखिएको थियो भने सन् २०१९ मा डेंगुको झनै ठूलो प्रकोप देखिएको थियो। त्यस्तै २०२२ मा भने उपत्यकामा डेंगुको प्रकोप अहिलेसम्मकै ठूलो मात्रामा देखिएको थियो।  

(संक्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुनसंग गरिएको कुराकानीमा आधारित)

प्रकाशित: ७ श्रावण २०८० ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App