२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डेंगु प्रकोप नियन्त्रण गर्न सुुरु भएन सर्च एन्ड डिस्ट्रोय

डेंगु प्रकोप फैलिएर एकजनाको ज्यान गुमिसके पनि धरान उपमहानगरपालिकाले नियन्त्रणका लागि प्रभावकारी कदम चालेको छैन। डेंगु प्रकोप बढिरहे कार्यालयहरूले फगिङ गरेर नियन्त्रण प्रयास गरेका छन्। डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने सर्च एन्ड डिस्ट्रोय अभियान गर्नुपर्ने भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन।

धरानमा सबैभन्दा बढी वडा १६ र १७ मा डेंगु प्रकोप देखिएको छ। एउटा घरमा ४–५ जनासम्म डेंगुका बिरामी भेटिएको वडा नं १७ का कार्यवाहक अध्यक्ष मनीष विष्टले बताए।

उनका अनुसार वडा नं १७ फोकल्यान्डमा एक महिलाको डेंगुकै कारण ज्यानसमेत गइसकेको छ। ‘तीन साताजति भयो, डेंगुकै कारण ३२ वर्षकी महिलाको मृत्यु भएको छ। यो जानकारी मैले स्वास्थ्य महाशाखालाई पनि दिएको छु’,विष्टले भने, ‘स्वास्थ्य महाशाखाबाट जुन गम्भीरताका साथ डेंगुविरुद्ध काम गर्नुपर्ने हो, त्यति वास्ता भएको देखिएन।’

डेंगुको प्रकोप बढ्दै गएपछि ३–४ दिनसम्म उपमहानगरको स्वास्थ्य महशाखा धाए पनि चासो नदिइएको उनको गुनासो छ। ‘बीपी प्रतिष्ठानसँग समन्वय गरौं, स्वास्थ्य महाशाखा र सहरी स्वास्थ्यको कर्मचारी छन्, टिम बनाएर टोलटोलमा परिचालन गरौं भनेको सुनुवाइ भएन’, उनले भने। स्वास्थ्य प्रोटोकलअनुसार सकेसम्म फगिङ नगर्ने भन्ने छ, तर जनताको माग फगिङ गर्नुपर्ने अत्यधिक धेरै भएकाले वडामा फगिङ भइरहेको पनि विष्टले जानकारी दिए। ‘स्थानीयको माग फगिङ नै गरौं भन्ने रहेकाले आधा वडा त सकिसक्यौं’, उनले भने। वडा १६ का अध्यक्ष मुरारी भट्टराईले पनि वडाबासीको माग बढी भएकाले फगिङ नै गर्नुपरेको बताए। ‘हिजोदेखि फगिङ नै गर्दै छौं, तर यसले बिरामी, बालबालिका र वृद्धवृद्धालाई गाह्रो हुने भएकाले बाटो–बाटोमा मात्र हुँदै छ।’

डेंगु नियन्त्रणका लागि वडाको टोल विकास संस्था, क्लब र संघसंस्थालाई परिचालन गर्ने गरी पर्सि बैठक राखिने वडाध्यक्ष भट्टराईले जानकारी दिए। ‘बजेटको चटारोले कार्यपालिका बैठकमा व्यस्त हुनुपरेको छ, अब पर्सि बैठक राखेर डेंगु नियन्त्रणका लागि घरघरमा पुग्छौं।’

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वडा १६, १७ र ११ डेंगुबाट बढी प्रभावित भएको छ। अन्य वडामा पनि डेंगुका बिरामी भएको महाशाखा प्रमुख उमेश मेहताले बताए। ‘फगिङ गर्यो भने मात्र नगरपालिकाले चासो दियो भन्ने बुझाइ छ, तर सकेसम्म फगिङ गर्नु हँुदैन। सर्च एन्ड डिस्ट्रोय नै पहिलो प्राथमिकता हो’, उनले भने, ‘हामीले २० वटै वडालाई पत्राचार गरेर सर्च एन्ड डिस्ट्रोयको काम गर्न भनिसकेका छौं। जुन रूपमा हुनुपर्ने हो, भएको छैन।’

प्रकाशित: १२ असार २०८० ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App