१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य क्षेत्र सुधारको प्रयासमा छु: स्वास्थ्यमन्त्री बस्नेत

फाइल तस्बिर।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने दृढताका साथ आफूले काम गरिरहेको बताएका छन्।

नेपाली कांग्रेस सिन्धुपाल्चोकद्वारा आइतबार सदरमुकाम चौतारामा आयोजित प्रथम सम्मेलनमा बोल्दै उनले स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

देशैभरको स्वास्थ्य सुधारको प्रयासमा आफू लागिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले भने, ‘बिहान साढे सात बजे नै मन्त्रालय पुगेर मध्यरातसम्म काम गरिरहेको छु।’ आफ्नो यही खटाइले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन हुन्छ भन्ने विश्वासमा आफू पुगेको उनको भनाइ छ।

मन्त्री बस्नेतले आफ्नै प्रयासमा हरेक अस्पतालले १० प्रतिशत शय्या विपन्न बर्गलाई अनिवार्य छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको दाबी गरे।

‘पहिल्यैदेखि यो व्यवस्था भए पनि अस्पतालले सुविधा दिएका थिएनन्। म मन्त्री भएपछि कार्यान्वयनमा ल्याएँ’ उनले भने।

तत्काललाई २२ जिल्लामा वितरित विपन्न परिचयपत्र र अन्य जिल्लाको हकमा सम्बन्धित वडाध्यक्षले दिएको सिफारिसको आधारमा विपन्नले अस्पतालमा शय्या सुविधा लिइरहेको उनले जानकारी दिए।

सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम अपाङ्ग रहेको चर्चा गर्दै मन्त्री बस्नेतले यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आफूले अध्ययन गरिरहेको बताए। ‘स्वास्थ्य बिमाको क्षेत्रमा छिट्टै सुधार हुनेछ,’ उनको भनाइ छ।

अस्पतालहरुमा लामो लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न मन्त्रालयले अनलाइन टिकटको व्यवस्था मिलाई कार्यान्वयनमा ल्याएको जनाउँदै उनले यसलाई क्रमशः व्यवस्थित बनाउँदै लगिने योजना रहेको सुनाए।

प्रकाशित: २९ जेष्ठ २०८० १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App