१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि १२ जना प्रारम्भिक सूचीमा

चार महिनादेखि रिक्त रहेका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि सर्च कमिटीले  शुक्रवारसम्म १२ जनाको नाम छनौट गरेको छ । सम्भावित प्रत्येक प्रतिष्ठानको लागि तीन जनाको दरले छनौट गरेको छ । साउन २२ र २३ गतेको अन्तरवार्ता तथा उम्मेदवारको योजना प्रस्तुति पछि कमिटीले छनौट गरेको हो ।  

छनौटमा हुनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राध्यापक डा. प्रल्हाद कार्की, प्रा.डा. रोहित प्रसाद यादव र प्रा.डा. रामेश कोइराला छन् । उनीहरु नेपाली कांग्रेसबाट सिफारिसमा परेको स्रोतले जनाएको छ । तीन जना मध्येमा प्रल्हाद कार्कीको सम्भावना बढी रहेको स्रोतले जनाएको छ । कार्कीको पहुँच नेपाली काँग्रेसका अध्यक्ष शेर बहादुर देउवा निकट रहेकोले सम्भावना बढी भएको स्रोतले जनाएको छ ।  

त्यसैगरी पाटन स्वास्थ्य विज्ञानको लागि प्राध्यापक बुद्धि पौडेल, प्रा.डा. सिर्जना श्रेष्ठ र प्रा.डा. गेहनाथ बराल छन् । उनीहरु मध्येमा बुद्धि प्रसाद पौडेलको सम्भावना बढी रहेको स्रोतले आकलन गरेका छन् । पौडेल एमाले निकट र लामो समयदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेको कारण पनि सम्भावित देखिएका हुन ।  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्रा.डा. भरत बहादुर खत्री, प्रा.डा.चण्डिका पण्डित, प्रा.डा. मायाँ लामा छन्। यी मध्येमा एमाले निकट भरत बहादुर खत्रीको बढी सम्भावना देखिएको स्रोतले जानकारी दिए । डा. के.सी लामो समयदेखि गण्डकी मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञको रुपमा कार्यरत छन् ।  

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्रा.डा. पुजन कुमार रोकाया, प्रा.डा. डबल बहादुर धामी, प्रा.डा सूर्यमान म्याङयाङ्गो छन् । यी तीन जना मध्येमा पुजन रोकायाको सम्भावना बढी देखिएको स्रोतले बताएको छ । नेपाली काँग्रेस निकट रहेका रोकाया दश वर्षदेखि प्रतिष्ठानमै रहेर योगदान दिएको कारण पनि उपकुलपति हुने सम्भावना देखिएको हो ।  

उल्लेखित १२ जना छनौटमा पर्नु अघि समितिले प्रत्येक प्रतिष्ठानको लागि चार जनाको दरले नाम सूची तयार पारी अन्तर्वार्ता लिएको थियो । छनौट प्रक्रियामा समितिले दुई दिनसम्म लिएको अन्तर्वार्ता र प्रस्तुति क्षमता लक्षित नभई कर्मकाण्ड पुरा गर्ने शैली रहेको विज्ञहरूको समिति माथि आरोप छ । उपकुलपति जस्तो प्राज्ञिक र जिम्मेवार निकायमा गम्भीर प्रक्रिया पुरा गरेर नियुक्ति गर्नुको सट्टा हचुवाको प्रक्रिया हुँदा धेरै जसो विज्ञहरूले चित्तबुझ्‌दो नभएको अनुभूति गरेको एक चिकित्सकले बताए । ‘ प्रतिष्ठान भनेको गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्ने र चिकित्सक उत्पादन गर्ने निकाय भएकोले हल्का फुल्का रुपमा दलको भागमा पर्ने गरी निर्णय हुनु राम्रो भएन’उनले भने । उचित प्राज्ञिक उपकुलपति नियुक्ति हुन नसकेमा यसको चिकित्सा शिक्षामा दूरगामी असर पर्ने स्रोतको भनाइ छ ।

प्रकाशित: २३ श्रावण २०८२ १८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App