८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

भरतपुर अस्पतालमा बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

पदमपुरकी सुकमाया थापा घाईते भएकी आमालाई भरतपुर अस्पतालको आकस्मिक कक्षमा पछ्यौराले हम्कँदै थिइन । स्कुटरबाट खसेर घाइते भएकी ८० आमालाई चिकित्सकले अस्पतालमा राखेर उपचार गर्न सुझाव दिएका छन्। तर, अस्पतालमा राख्नको लागि शैयाँ खाली छैन। आमाको उपचार कसरी गर्ने भन्नेमा उनी अन्योल छिन्। स्कुटर पछाडिबाट घसेर टाउँको र हातमा चोट लागेको छ। रिपोर्ट आउन अझै बाँकी छ। डाक्टरले आज भर्ना गर्नुपर्छ भन्नुभएको छ, आइतबार आकस्मिक सेवामा उपचार गराइरहेकी थापाले भनिन्, वार्डमा बुझ्दा खालि छैन भन्नुभएको छ।’

राप्ती ११ स्थित शिखरडाँडाका कविराज चेपाङ स्वासप्रसासमा समस्या भएपछि बुवालाई  अस्पतालमा लिएर आएका छन्। उनलाई चिकित्सकले आइसियू खोज्न भनेका छन्। तर, भरतपुर अस्पतालमा आईतबार साँझ ४ बजेसम्म उनले आईसियू पाएका थिएनन् । उनको उपचार आकस्मिक कक्षमै अक्सिजन दिएर भैइरहेको छ। ‘डाक्टरले आइसियूमा राख्न भन्नुभएको छ। अहिले खाली छैन । यहाँ राखेर उपचार भैरहेको छ,’ बुवाको अनुहार तिर हेर्दै उनले भने, ‘खाली भएपछि लैजान भन्नुभएको छ।’  

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ। गर्मीको तापक्रम चितवनमा ४२ डिग्री माथी पुगेको छ। यससंगै बिरामीको संख्या पनि बढेको आकस्मिक विभागका प्रमुख डा.अल्लादिन मियाँ बताउँछन्। ‘अन्य अस्पतालमा बिमाको उपचार हुँदैन । यहाँ बिरामीको चाप हुने नै भयो। अहिले झाडापखला, रिङ्गटा लाग्ने लगायतका बिरामीको संख्या बढेको छ,’ उनले भने, ‘भर्ना हुनुपर्ने विरामीको चाप बढी भयो । मेडिकल वार्डमा एक दुईटा शैया खालि हुन्छ। यहाँ १२ देखि १४ जनासम्म भर्ना गर्नुपर्ने बिरामी आउनुहुन्छ । बिरामीको चापले गर्दा धेरै समस्या भएको छ।’  

भरतपुर अस्पतालको आकस्मिक सेवा विस्तार भएको छ। अहिले २५ शैयाबाट ५० शैयामा पुराईएको छ। आकस्मिक प्रयोगशाला, एक्सरे, सामान्य शल्यक्रिया कक्षसहितको सेवा समेत सञ्चालन छ।  वार्डको विस्तार भएको छैन। केही बिरामीलाई आकस्मिक कक्षमा राखेर पनि उपचार गर्ने गरिएको उनले बताए। यहाँबाट ८ देखि १० जनासम्म भर्ना गर्नुपर्ने बिरामी बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। अस्पतालको तथ्याङ्क अनुसार वार्षिक झण्डै एक लाखको हाराहारीमा आकस्मिक कक्षमा बिरामी आउने गर्दछन्।

भरतपुर अस्पतालमा बिरामीको चाप सधैँ नै हुन्छ। संघिय स्तरको यस अस्पतालमा दैनिक १ हजार ६ सयको हाराहारीमा बिरामी आउने गर्दछन्। गत बिहिबार १ हजार ८  सय ३७ बिरामीले ओपिडि टिकट लिएकोे अस्पतालको तथ्यांकमा उल्लेख छ। त्यसमध्ये जटिल खालका बिरामी २० प्रतिशत हुने गर्दछन्। तर, अस्पतालको बेड संख्या ५७९ रहेको छ। अहिलेको अवस्थामा सेवा विस्तार गर्न नसकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेल। ‘संघ, प्रदेश र स्थानीय तहले सेवा सहयोग गरेको अवस्था छैन,’ उनले भने, ‘अस्पताल विकास समितिले मात्रै यो काम गर्न सक्दैन।’ सेवा विस्तारभन्दा पनि गुणस्तरिय बनाउन लागिएको उनले बताए।  

भतरपुर अस्पताललाई २०७७ फागुन ३ गते संघिय अस्पतालका रुपमा घोषणा गरिएको थियो। सोही अनुसार सेवा सुविधा थप्नुपर्ने भएपनि संघिय सरकारले नथपेको उनले बताए। ‘सरकारले अस्पतालमा कर्मचारीको दरबन्दी थप गरेको छैन । १ सय ५० शैयाको दरबन्दी छ। जसमा सरकारी कर्मचारीको दरबन्दी १ सय ७७ छ,’ उनले भने, ‘करिव ६ सय शैयाको अस्पताललाई हामीले कसरी सञ्चालन गर्ने?’ यस अस्पतालमा अस्पताल विकास समिति र सरकारी स्तरबाट गरी ९सय १५ जना कर्मचारी छन्। जसमध्ये मात्र १ सय ६५ जना छन्।  

विसं २०१३मा महेन्द्र आदर्श चिकित्सालयको नामबाट स्थापना भएको अस्पताल हाल संघीय अस्पतालका रुपमा छ।

प्रकाशित: २३ जेष्ठ २०८० ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App