४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

खानेपानी अभावले वीपी प्रतिष्ठान अस्पतालको सेवा पनि प्रभावित

वीपी प्रतिष्ठानका उपकुलपति कार्यालयअघि एक शिक्षक चिकित्सक वाल्टीले आफ्नो अनुहार छोपेर सांकेतिर विरोध जनाउदै। तस्बिर: रोहित राई

खानेपानीको चरम अभावले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आवासिय क्षेत्रसँगै अस्पताल सेवा पनि प्रभावित हुने अवस्थामा पुगेको छ।

पानी अभावले डाइलाइसिस, अप्रेशन थिएटरमा पनि उपचार प्रभावित भइरहेको भन्दै चिकित्सक, विद्यार्थीहरु दिनहुँ जसो प्रतिष्ठान पदाधिकारीहरुलाई भेटेर दवाव दिइरहेका छन्। शुक्रबार विद्यार्थीहरुले प्रतिष्ठान परिसरमा बाल्टीसहित पानीको माग गर्दे र्याली निकालेका थिए भने आज (आइतबार) शिक्षक चिकित्सकहरुले उपकुलपति कार्यालयमा पुगेर पानीको व्यवस्था गर्न माग गरेका थिए।

शिक्षक कल्याण समाजका अध्यक्ष सेराज खानका अनुसार २ साताभन्दा बढी समयदेखि पानीको अभाव भइरहेको थियो। एक सातायता भने चरम अभाव शुरु भएर डाइलाइसिस, ओ.टी. पनि प्रभावित हुने अवस्थामा पुगेको छ। उनले भने,‘डाइलाइसिस बन्द भयो। पछि पानी किनेर ल्यायौं। ओ.टि.मा हात धुने पानी हुदैन। अति भएपछि चाडो समस्या समाधान होस् भनेर पदाधिकारी भेट्न आएको हो।’

डेन्टल कलेजका इन्टर्न डा.विनम्र घिमिरे पनि पानीको समस्याले रेगुलर उपचारमा आउने विरामी फर्काउनु परिरहेको बताए। आकस्मिक विरामीहरुलाई पनि पानी आफै किनेर ल्याएपछि मात्र उपचार गरिरहेको उनले बताए। ‘डेन्टलमा त पानी धेरै नै चाहिन्छ। विरामी जाँच गरेपछि हामीलाई हातधुने पानी छैन। बिरामीलाई नै ५,६ बोतल पानी किनेर ल्याउन भन्नुपर्छ,’उनले भने,‘होस्टेलमा पनि पानी जारको किनेर नुहाउनुपरिरहेको छ।’

वीपी प्रतिष्ठानको स्थापनाकालदेखि नै आफ्नो छुट्टै खानेपानीको स्रोत र पाइपलाइन भएपनि सञ्चालन र वितरण भने आफैले गरेको छैन। प्रतिष्ठानमा सेउती खोलाको शिर शिवजट्टाबाट सतहको पानी र जंगलबाट बोरिङ गरेको पानीको स्रोत रहेको छ। विगतमा खानेपानी संस्थानको धरान शाखाले सञ्चालन, वितरण गरिदिन्थ्यो भने हाल धरान खानेपानी व्यवस्थापन बोर्डले सञ्चालन गर्छ। त्यसवापत बार्षिक ८२ लाख रुपैया रकम प्रतिष्ठानले खानेपानी बोर्डलाई बुझाउने सम्झौता छ।

प्रतिष्ठानका ईञ्जिनिर मदन साह दैनिक ४० लाख लिटर पानी प्रतिष्ठानको आवास र अस्पताल सेवामा आवश्यक पर्छ। अहिले जंगलको पम्प बिग्रेको कारण शिवजट्टाबाट मात्र पानी आइरहेको छ। सुख्खायाम भएकोले शिवजट्टाको पानी पनि थोरै मात्रामा छ। ‘ज्यादै दुःखले चलाइरहेका छौं। पानी किनेर चलाउनुपरेको छ, खानेपानी बोर्डले पनि ट्यांकरबाट ल्याएर दिदैछ,’ साहले भने,‘पम्प बिग्रेको भन्ने छ, त्यो मर्मत गरेर चाडै सुचारु हुदैछ।’

धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक ईञ्जिनियर राजु पोखरेलले वीपी प्रतिष्ठानको वेलको पम्प बिग्रेको कारण समस्या भएको बताए। उनले पम्प मर्मत गरेर ल्याएको र आज (आइतबार) रातभरिमा हालेर प्रतिष्ठानमा पानी सुचारु गर्ने उनले बताए। ‘आज रातभरिमा पम्प हालिसक्छौं, र पानी सुचारु गर्ने लक्ष्य छ,’ उनले भने,‘वीपीलाई पानी दिनुपरेको कारण पनि धरानको केही वडामा समस्या देखिएको छ।’  

प्रकाशित: २१ जेष्ठ २०८० १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App