coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

पक्षाघात पीडामा मलम

खुट्टाको पक्षाघात भएर हलचल गर्न नसक्ने एक ४० वर्षीय बिरामी मस्तिष्क र मेरुदण्डमा गरिएको प्रत्यारोपणका कारण हिँडडुल गर्न सक्ने भएका छन्। यो उपचार विधिअन्तर्गत बिरामीको मस्तिष्क र मेरुदण्डलाई ताररहित बाह्य उपकरणसँग जोडिएको थियो र यसले उनको सोचलाई गतिमा बदल्न सहयोग गरेको छ।  

गत बुधबार प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार १२ वर्षअघि मोटर साइकल दुर्घटनाका कारण ४० वर्षीय गर्ट जान ओस्कामको मेरुदण्ड क्षतिग्रस्त भएको थियो।  

‘उनी पूर्ण रूपमा पक्षाघातग्रस्त थिए। अन्य व्यक्तिको सहायताबिना एक पाइला पनि हिँड्न सक्ने थिएनन्,’स्विजरल्यान्डको इपिएफएल नामक अनुसन्धान विश्वविद्यालयका मस्तिष्क वैज्ञानिक ग्रेग्वाएर कोर्टिन भन्छन्।

विभिन्न क्लिनिकल परीक्षणअन्तर्गत सन् २०१७ मा यी बिरामीको मेरुदण्डमा प्रयोगात्मक हिसाबमा गरिएको प्रत्यारोपणका कारण उनी पुनः हिँडडुल गर्न सक्ने भएका हुन्।  

१२ वर्षअघि मोटर साइकल दुर्घटनाका कारण ४० वर्षीय गर्ट जान ओस्कामको मेरुदण्ड क्षतिग्रस्त भएको थियो। विभिन्न क्लिनिकल परीक्षणअन्तर्गत सन् २०१७ मा यी बिरामीको मेरुदण्डमा प्रयोगात्मक हिसाबमा गरिएको प्रत्यारोपणका कारण उनी पुनः हिँडडुल गर्न सक्ने भएका हुन्।

कुर्कुच्चोलाई आफैंले बिस्तारै उठाएपछि मेरुदण्डका नसामा विद्युतीय करेन्ट सिर्जना हुने र यसले उनलाई पाइला अगाडि बढाउन सहयोग पुगेको बताइएको छ। अप्ठ्यारो सतहमा हिँड्डुल गर्न अझै कठिनाइ रहेको उनी बताउँछन्।  

‘मेसिनको लयअनुसार समयमै पाइला चाल्नुपर्दा केही तनाब त हुन्छ नै,’उनी भन्छन्। ‘प्रुफ अफ कन्सेप्ट’अध्ययनअन्तर्गत विद्युतीय हिसाबले मस्तिष्कका नसालाई उत्तेजना दिने अवधारणाअन्तर्गत सन् २०२१ मा उनी यो अध्ययनमा सहभागी भएका थिए।  

मस्तिष्कले दिने संकेतलाई गतिमा अनुवाद गर्ने अन्य प्रविधिभन्दा यो फरक रहेको वैज्ञानिक बताउँछन्। जब ओस्कामले खुट्टा चलाउनेबारे सोच्छन्, उनको दिमागमा प्रत्यारोपण गरिएको उपकरणले उनले बोकेको झोलामा रहेका बाह्य कम्प्युटरलाई संकेत दिन्छ र कम्युटरले यो संकेतलाई ओस्कामको पेटमा राखिएको पेसमेकरमा प्रवाह गर्छ र यसले मेरुदण्डमा प्रत्यारोपण गरिएको उपकरणमा विद्युतीय धड्कन सिर्जना गरेपछि उनका खुट्टा चल्न सक्ने भएका छन्। उनले लगाएका हेलमेटमा रहेका दुई एन्टेनाले प्रत्यारोपण गरिएका यी उपकरणलाई निरन्तर जोड्ने काम गरेका छन्।

विद्युतीय हिसाबले नसामा उत्तेजना सिर्जना गर्नेमा यसअघिका प्रविधिले जोड दिएकोमा नयाँ प्रविधिअन्तर्गत बिरामीले सूक्ष्म चाल गरेपछि अथवा कुनै बटन थिचेपछि गति लिन सक्छन्।  

अध्ययनमा सहभागी अर्का वैज्ञानिक हेनरी लोराचका अनुसार केही मिनेटको प्रशिक्षणपछि ओस्काम प्राकृतिक हिसाबले हिँड्न सक्छन्। उनका अनुुसार ओस्कामले खुट्टाको चालमा नियन्त्रण बढाएका छन् र खराब सतहमा समेत हिँड्न सक्ने भएका छन्।  

‘सुरुको उत्तेजना (स्टिमुलेसन)ले मलाई नियन्त्रण गरेको थियो र अब मैले यसलाई नियन्त्रण गर्न थालेको छु,’ओस्कामले भनेका छन्। उनी प्रतिदिन १०० मिटरदेखि २०० मिटरसम्म हिँडडुल गर्न सक्ने भएका छन् भने कसैको सहायताबिना २ देखि ३ मिनेटसम्म उभिन सक्ने भएका छन्।  

‘गत साता एक ठाउमा रङ लगाउनुपर्ने देखियो। अरू कोही नभएकाले मैले वाकरको सहायताले उभिएर आफैले रङ लगाएँ,’ उनी भन्छन्।  

मेयो क्लिनिकका पिटर मेरुदण्डमा चोट लागेका बिरामीलाई गह्रौं धातुका फ्रेमको सहयोगमा हिँडडुल गर्नुपर्ने वाध्यतालाई नयाँ प्रविधिले सहज पार्ने बताउँछन्। ओस्कामका हिँडाइका गति कम रहे पनि प्रविधिमा हुने सुधारले यो गति बढ्ने कोर्टिन दाबी गर्छन्। परीक्षणका क्रममा प्रविधिलाई बन्द गरेको बेला पनि ओस्काम वैशाखीको सहयोगमा हिँड्न सफल भएका थिए। वैज्ञानिकका अनुसार प्रत्यारोपण प्रणालीले यसअघि सुशुप्त रहेको दिमागी सञ्जाललाई सक्रिय पारेको हो।  

‘यो प्रविधिले मस्तिष्क प्रणालीमा रहेको हार्डवेयरको उपयोगिता बढाउने हो। यो हार्डवेयरमा पुगेर यसलाई सशक्त पार्नुपर्ने हुन्छ,’पिट्र्सवर्ग विश्वविद्यालयका सहायक प्राध्यापक मार्काे कापोग्रोसो भन्छन्।  

‘शरीरको माथिल्लो र तल्लो दुवै भाग नचल्ने बिरामीलाई जीवनभर सपोर्ट गर्दा ५० लाख अमेरिकी डलर खर्च लाग्छ। खर्चलाई यो विधिमार्फत २५ हजारदेखि ५९ हजार अमेरिकी डलरमा झार्न सकिएमा ठुलो बचत हुनेछ,’ उनी भन्छन्। 

कापोग्रोसो संलग्न रहेको एक वर्षअघि गरिएको एक अध्ययनले विद्युतीय स्नायु उत्तेजनामार्फत पक्षघात भएका बिरामीले हात चलाउन सक्ने देखाएको थियो।  

ओस्कामलाई मध्यम खाले चोट भएको र अध्ययनमा सहभागी हुनुअघि अन्य उपचार विधिमार्फत उपचार भएकाले यो नयाँ प्रविधिको सफलताबारे तत्कालै केही भन्न नसकिने मेयो क्लिनिकका फिजिकल थेरापी विषयका प्राध्यापक मेगान गिल बताउँछिन्। 

‘पक्षाघातका कारण ओछ्यान परेका बिरामीलाई यो प्रयोग गरिएको छैन। ओस्कामसँग थोरै भए पनि उभिन सक्ने क्षमता थियो,’ उनी भन्छिन्।

अध्ययनमा सहभागी कोर्टिन आशावादी छन्। ‘अन्य बिरामीमा पनि यो विधि अवलम्बन गर्न सकिन्छ,’उनी भन्छन्।अन्य बिरामीले कहिले पाउलान् यो उपचार?

ओस्कामले प्रयोग गरेको प्रविधिको निर्माता मेडिकल कम्पनी अनवार्डका प्रमुुख कार्यकारी अधिकृत डेभ मार्भरका अनुसार आगामी १२ देखि १८ महिनासम्म थप परीक्षण हुनेछन्। उनका अनुसार आगामी ४ देखि ७ वर्षसम्म यो प्रविधि व्यावसायिक हिसाबले उपलब्ध हुनेछ।  

‘शरीरको माथिल्लो र तल्लो दुवै भाग नचल्ने बिरामीलाई जीवनभर सपोर्ट गर्दा ५० लाख अमेरिकी डलर खर्च लाग्छ। खर्चलाई यो विधिमार्फत २५ हजारदेखि ५९ हजार अमेरिकी डलरमा झार्न सकिएमा ठुलो बचत हुनेछ,’ उनी भन्छन्। 

उता, मेयो क्लिनिककी गिल यो उच्चतम प्रविधिको उपयोगका लागि क्लिनिसियनलाई राम्रोसँग प्रशिक्षित गर्नुपर्ने ठान्छिन्। ‘फिजिकल थेरापिस्टको हिसाबले मेरो जिममा यसप्रकारको प्रविधि जडित बिरामी आएमा मैले के गर्ने भनेर तत्काल निर्णय गर्न निकै कठिन हुन्छ,’ गिल थप्छिन्।

प्रकाशित: १३ जेष्ठ २०८० ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App