coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नियमित हवाइ सेवा नहुँदाका बाजुरामा तीन दिनमा २ जनाको ज्यान गयो

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीबाट एम्बुलेन्स नभएपछि जीपमा रिफर गरिदै विरामी । <br>

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले ३ दिनको अवधीमा रिफर गरेका २ जना विरामीको ज्यान गएको छ। थप उपचारका लागि रिफर गरिएका चार जना मध्ये २ जनाको बीच बाटोमै मृत्यु भएको हो। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका १ की ऐना गिरी रहेकी छन्।

२६ वर्षका बोहरा विद्युतको तारलाई विस्तार गर्ने बेला पोल ढलेपछि घाइतेभएका थिए। शरिर बाहिर सामान्य चोट देखिए पनि भित्री अंगमा चोट लागेको भन्दै चिकित्सकहरुले रिफर गरेका थिए। बोहरालाई नदेखिने चोट बढी लागेको हुँदा एमआरआइ नगरि उपचार गर्न असंभव भएपछि रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर चेतबहादुर धामीले बताएका छन्।

बोहराको रिफर गरिएको ६ घण्टा नबित्दै मृत्यु भयो। थप उपचारका लागि धनगढी लग्दै गर्दा डोटीको चौखुट्टेमा मृत्यु भएको आफन्तले बताएका छन्। कोल्टीबाट धनगढीको पैदल यात्रा करिब १६ घण्टा बढी लाग्ने गरेको छ। हवाइ सेवाको विकल्प नभएपनि बोहरालाई आफन्तले जीप रिजर्ब गरि पैदल यात्राबाट उपचारका लागि लएका थिए।

त्यसैको ठिक एक दिन पछि रिफर गरिएकै विरामी ऐना गिरीको पनि बीच बाटोमै ज्यान गएको छ। मस्तिष्क घातको समस्या देखिएपछि रिफर गरिएको थियो। बेहोस अवस्थामा आफन्तले स्वास्थ्य केन्द्रमा पुर्याएको र लगत्तै सिटी स्क्यान नगरि उपचार संभव नहुने देखेर रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ।

५५ वर्षकी गिरीको पनि डोटीकै साजघाटमा मृत्यु भएको आफन्तले बताएका छन्। गिरी जगन्नाथ गाउँपालिकाको निवर्तमान उपाध्याय हुन्। रिफर गरिएका ४ जना मध्ये पैदल मार्गबाट गएका दुबै जनाको मृत्यु भइसकेको छ। बाँकी २ जना जहाजको पर्खाइ गरिरहेका छन्। तर कोल्टी विमान स्थलमा चार दिन देखि हवाइ उडान नै भएको छैन्।

विरामीले जहाज पर्खी बसेपनि उनीहरुका लागि काल पहिला आउने र विमान पछि हुने अवस्था रहेको स्थानीय जनक कुमार विष्टले बताएका छन्। हप्तादिन देखि हिमाली गाउँपालिका ७ का देवी दत्त जोशी र जगन्नाथ गाउँपालिका १ का लालबहादुर रोकाया जहाज कुरि बसेका छन्।

६५ वर्षका जोशी पिसाब बन्द भएर सिकिस्त छन्। भने ४५ वर्षका रोकायाको मृगौलामा खराबी र सुगरको समस्या देखिएको डाक्टर चेतबहादुर धामीले बताएका छन्। दुबै जनालाई जतिसक्यो चाँडो सुविधा सम्पन्न अस्पतालमा जान चिकित्सकले सुझाव दिएका छन्। तर उनीहरु जहाज कुरि बसेको अवस्था छ।

रोकायाको अवस्था चिन्ताजनक रहेकोले शनिबार साँझ नै पठाउने तयारी गरिएको छ। १६ घण्टा बढी कोल्टी,मार्तडी धनगढी नेपालगञ्जको यात्रा निकै असहज हुने हुँदा विरामीलाई थप सास्ती बेहोर्नु पर्ने अवस्था छ। आकस्मीक उपचार सेवा दिनु पर्ने विरामीलाई यति लामो रुटमा पठाउँदा बीच बाटोमै मर्ने संभावना बढी हुने चिकित्सकको भनाई छ।  

नियमित हवाइ सेवा नहुँदाको कारण नै दुर्गमका विरामीको अकालमै ज्यान जाने गरेको छ। केही महिना अघि मात्र बुढीनन्दा १० का निवर्तमान वडा अध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो। हृदयघातका विरामी बोहरालाई कोल्टीमा जहाज कुर्दा काल पहिला आएको थियो।

सिजनमा हवाइ कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन्। पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका विरामीले अकालमै ज्यान गुमाउनु परेको स्थानीय जनक कुमार विष्टको आक्रोश छ।  

विमान स्थलमा कालोपत्रे सुधारको काम सकिए लगत्तै जहाजमा कालो लाग्ने बाहना बनाएर हवाई कम्पनीले चारदिन देखि बाजुरामा उडान भरेका छैनन्। सातै दिनको उठान तालिका छ। सिता एयर विहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ।  

तर बुधबार यता कुनै कम्पनीले पनि उडान नभरेको विमान स्थल प्रमुख श्रीकृष्ण रिजालले बताएका छन्। कालो लाग्ने भन्दै नआएको खबर आएपनि उडान नभर्नुको कारण जानकारीमा नआएको प्रमुख रिजालको भनाई छ।  

बाजुरादेखि नेपालगञ्जसम्मको हवाइ उडान समय ३० देखि ३५ मिनेटको हुने गरेको छ। तर आइतबार अनिवार्य उडान भर्न प्रशासन कार्यालयबाटै ताकेता आएपनि हुने नहुने अनिश्चित रहेको रिजालले बताएका छन्।  

नियमित उडान नभरेपनि आकस्मीक अवतरण गर्न अनुरोध गर्दा पनि नमानेको आफन्तको आक्रोश छ। बाजुराका शिर्ष नेताहरुको तहबाट गरिएको पहल पनि विमान कम्पनीले अटेर गर्ने गरेका छन्। पर्यटन मन्त्रीलाई खबर गर्दा पनि विभन्न कारण देखाएर बाहना बनाउने गरेको पाईएको छ।  

रिफर गरिएका २ जनाको ज्यान गइसकेको छ। जहाज नआए थप दुई जनाको समेत ज्यान जाने खतरा बढेको देखिन्छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बाजुराका चार पालिका र छिमेकी हुम्ला, मुगु र कालिकोट जिल्लाका विरामी उपचारका लागि आउने गरेका छन्। कर्णाली करिडोर पनि भरपर्दो नभएको र मार्तडी कोल्टी, मार्तडी धनगढी सडकको दुरी निकै लामो हुने हुँदा विरामीका लागि ठूलै सास्ती हुदै आएको छ।  

उसोत कोल्टीमा चार जना डाक्टर छन्। ती मध्ये एक जना जिपी, एक जना स्त्रीरोग विशषेज्ञ र २ जना मेडिकल अधिकृत छन्। सुविधा युक्त औजार उपकरण र प्रर्याप्त श्रोत साधानको कमीले ज्ञान सिप भएकै उपचार सेवा समेत दिन समस्या हुने डाक्टर प्रतिक न्यौपानेको भनाई छ।  

एक आधघण्टा भित्रै उपचार सेवा दिनु पर्ने विरामीलाई दुर्गम क्षेत्रबाट पठाउनै संभव नहुने भएकोले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता यहाँका स्थानीयलाई छ। पालिकाका तर्फबाट सकेको प्रयास गरिएको छ। संरचना, सुविधा र उपकरणकै प्रमुख समस्या दुर्गमका स्वास्थ्य संस्थामा देखिने गरेको छ।  

संघ, प्रदेश र पालिकाको सयुक्त लगानी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा चार जनाको दरबन्दी कायम गरिएको छ। तरपनि अझै भनेको जस्तो सुविधा र उपचार सेवा दिन नसकिएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले बताएका छन्।

सुविधा सम्पन्न ठाउँमा भए बाँच्न सक्ने अवस्था भएका विरामीलाई पनि हवाइ सेवा नियमित नभएपछि गाडीमा पठाउनु पर्ने बाध्यताले कतिको अकालमै ज्यान जाने गरेको स्वास्थ्य कर्मी नै स्वीकार्ने गरेका छन्।  

हेलिकप्टर चार्टर गर्न सबैले नसक्ने, हवाई सेवा नियमित छैन्, एम्बुलेन्स सेवा समेत नभएपछि विरामीलाई समस्या हुने नै भयो, डाक्टरहरुको सामुहीक गुनासो हो। एम्बुलेन्स नै नभएर सामान्य जीपमा जानु पर्ने हुने हुँदा अक्सीजन समेत जोड्न समस्या हुने गरेको छ।

कोल्टी क्षेत्रका स्थानीयले कहिल्यै हवाइ सेवा, कहिल्यै चिकित्सक सेवा कहिल्यै औषधी अभावको समस्या वर्षेनी भोगिरहन बाध्य छन्। राज्यको ध्यान नगएको र जितेका जनप्रतिनिधीको पहल पनि निर्णायक नभएको स्थानीयको आक्रोश छ।  

प्रकाशित: ६ जेष्ठ २०८० १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App