३ पुस २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीमा बोर्डले भुक्तानी नदिँदा समस्यामा आँखा अस्पताल

हेटौंडा सामुदायिक आँखा अस्पताल।

स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत सर्वसाधारणको उपचार वापत्को वीमा बोर्डबाट आउनुपर्ने रकम उपलब्ध नहुँदा हेटौंडा सामुदायिक आँखा अस्पताल समस्यामा परेको छ।

अस्पतालले बोर्डसँग ३ करोड ६७ लाख १२ हजार १६९ रुपैयाँ रकम लिन बाँकी रहेको छ। वीमा बोर्डबाट प्राप्त हुनुपर्ने रकम नआएपछि अस्पतालको दैनिक सेवा नै प्रभावित हुने अवस्थामा पुगेको हो।

बोर्डबाट अन्तिम पटक गत माघ १९ गते ५२ लाख ८७ हजार ४७५ रुपैयाँ प्राप्त भएको हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ। रकम नआएपछि अस्पतालले यही चैत्र मसान्तसम्म रकम निकासाको माग गर्दै वीमा बोर्डलाई पत्र नै पठाएको छ।

अस्पतालमा आर्थिक वर्ष २०७४/०७५ देखि स्वास्थ्य वीमा कार्यक्रम लागू गरेको छ। वीमाको रकम नआउँदा अस्पतालको दैनिक सेवा तथा बिरामीको उपचार एवम् शल्यक्रियामा प्रयोग हुने औषधि तथा अन्य सामग्री खरिद गर्न रकम अभाव हुनुका साथै कर्मचारीको तलवको व्यवस्थापनमा समेत समस्या भएको अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिए।

स्वास्थ्य वीमा कार्यक्रमबाट विपन्न वर्गका आँखाका विरामीहरु लाभान्वित हुँंदै आएका छन्। हेटौडा सामुदायिक आँखा अस्पताल तिलगंगा आँखा प्रतिष्ठानको शाखा हो। अस्पतालको सञ्चालन खर्च आफ्नै आम्दानीको स्रोतबाट जुटाउँदै आएको छ। हाल दैनिक करिब १५० जना स्वास्थ वीमा गरेका बिरामी आँखा जाँच गर्न आउने  गरेको अस्पतालको तथ्यांकले देखाएको छ । दैनिक बिरामी जाँच, औषधि र चश्मा गरी ५० हजारदेखि १ लाख ५० हजार सम्म वीमा रकम दावी हुँदै आएको छ।

अस्पतालले दैनिक सेवा सञ्चालन खर्च अभावको कारण तिलगंगा आँखा प्रतिष्ठानसँग सहयोग रकम लिई खर्च गर्दै आएको श्रेष्ठले बताए। बिरामीको सेवाको लागि तय गरिएका निर्माण कार्यहरु अधुरै रहेको जानकारी दिँदै अस्पतालका प्रमुख डा. सुनिल थकालीले रकम निकासा नहुँदा समस्या खेप्नुपरेको बताए। अस्पतालले स्वास्थ्य वीमा बोर्डलाई पठाएको पत्रमा हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय र बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई समेत वोद्यार्थ दिइएको छ।

प्रकाशित: ७ चैत्र २०७९ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App