थारु समुदायमा भयाभह रुपमा रहेको बंशानुगत रोग सिकलसेल ऐनिमिया रोगको वारेमा अभिमुखिकरण गर्ने उद्येश्यले धनगढीमा चिकित्सकहरुको क्षेत्रिय सम्मेलन शुरु भएको छ।
शनिवार बिहान देखि शुरु भएको सम्मेलनमा धनगढी,नेपालगंज, टीकापुर,महेन्द्रनगर, र काठमाण्डौका आमन्त्रित बिशेषज्ञ चिकित्सक गरि १ सय भन्दा बढी चिकित्सकको सहभागी रहेको आयोजक सोसाईटी अफ ईन्टरनल मेडिसन अफ नेपाल(साईमन) का केन्द्रिय सदस्य तथा वरिष्ठ फिजिसियन शुभेस राज कायस्थले बताएका छन। सम्मेलनमा बिशेषज्ञहरुले बिभिन्न १६ वटा बिषयगत कार्यपत्र प्रस्तुत गर्ने छन।
बंशानुगत रोग सिकलसेलले बहु अंगमा प्रभाव पार्ने र बिरामी पिच्छे अंगमा पारेको प्रभाव अनुसारको अलग अलग लक्षण देखिने भएकाले सिकलसेलको पहिचान गर्न कठिनाई हुने गरेको छ।
बिरामीको पहिचान र बिरामीको उपचार सहज होस भनेर चिकित्सकहरुको यो सम्मेलन गरिएको उनले बताए। यो अभिमुखिकरणले बिभिन्न ठाउँमा कार्यरत चिकित्सकले सिकलसेलको रोगका बिरामीको पहिचान गर्न सकेर उनीहरुको उपचार समयमै हुने उनको भनाई छ। सुदूरपश्चिमका थारु समुदायमा सिकलसेल रोग बढ्दै गएको उनले बताए । ‘यो रोग नियन्त्रण र रोकथामका लागी प्रभावकारी निती र बिधी हुन नसक्दा व्यापक रुपमा यो रोग फैलिरहेको छ’उनले भने।
करिव १० बर्ष यतामात्र चर्चा पाएको सिकलसेल एनिमियाका बिरामी कती छन भनेर एकिन तथ्यांक छैन। करिव ५ बर्ष अघि बर्दियामा २० हजार व्यक्तीमा गरिएको एक सर्भेले ११ प्रतिशतमा सिकलसेल एनिमिया देखिएको चिकित्सक कायस्थले बताए। ११ प्रतिशतमा पनि १० प्रतिशत सिकलसेल एनिमिया बाहक व्यक्ती रहेको उनी बताउछन। बाहक व्यक्तीको पहिचान गरि सिकलसेल रोग नियन्त्रण गर्ने निती आबश्यक रहेको उनको भनाई छ। मलेरिया रोग लाग्ने क्षेत्रमा वसेका आदीवासीमा यो रोग देखिएको हो । मलेरियासँग प्रतिरोध गर्न शरिरमा प्रतिरोध प्रणाली बन्ने क्रममा खराव भएर हसिया आकारको रातो रक्त कोष बनेको र यहि बिग्रेको रातो रक्त कोष छिटो टुक्रिएर रक्त अल्पता हुने चिकित्सक बताउछन । यो बंशानुगत रुपमा सर्ने गर्छ।
कैलालीमा सेती प्रादेशिक अस्पतालमा ८ सय ३६, घोडाघोडी अस्पतालमा ३ सय ६१ र टिकापुर अस्पतालमा १ गरि १ हजार १ सय ९८ र कंचनपुरको महाकाली अस्पतालमा ८ गरि सुदूरपश्चिममा १ हजार २ सय ६ सिकलसेल एनिमियाका बिरामीहरुले उपचार गराईरहेका छन। बंशानुगत रुपमा सर्ने सिकलसेल एनिमिया लागेको व्यक्तीको ४० बर्षमा मुत्यु हुने गर्छ। यो रोग लागेमा रगत कम हुने, शरिरका अंग कम दुख्ने, रोग सँग लड्ने क्षमता कम हुने, किड्नी फेल हुने लगायतका लक्षण देखा पर्ने गरेको चिकित्सक शेरबहादुर कमर बताउछन।
यो रोग अमेरिका र अफ्रिकी मुलुकमा दशकौ पहिले देखिएको उनी बताउछ। सुदूरपश्चिममा थारु समुदाय बाहेक अन्य समुदायका व्यक्तीमा पनि यो रोग देखा परेको तर त्यो संख्या नगण्य (१ प्रतिशत भन्दा कम) रहेको चिकित्सक कायस्थले बताए। एकिन तथ्यांक नभएपनि सिकलसेल रोगका कारण ज्यान गुमाउनको संख्या ठूलो रहेको उनी बताउछन। ‘बिभिन्न बिषयका चिकित्सकहरु एउटै ठाउँमा वसेर सिकलसेल रोगको वारेमा छलफल,बिचार मन्थन गरिने यो सम्मेलन यो रोगका बिरामीको हेरचाह तथा उपचारका सन्दर्भमा कोसेढुंगा हुने छ’ सम्मेलनको संयोजन गरेका कायस्थ भन्छन।
प्रकाशित: २७ फाल्गुन २०७९ १९:०१ शनिबार