सुर्खेतको गुर्भाकोट नगरपालिकाकी रामकलाले १८ वर्षकै उमेरमा पाठेघर फालिन्। सेतो पानी अत्यधिक बग्न थालेपछि पाठेघर फालेको उनको भनाइ छ। उनी अहिले ३० वर्षकी भइन्। कलिलै उमेरमा पाठेघर फालेकाले अहिले उनलाई विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेको छ। ‘धेरै सेतो पानी बग्न थालेपछि भारतमा गएर उपचार गराउँदा पाठेघर फाल्नुपर्छ भनेर डाक्टरले सल्लाह दिए’,उनले भनिन्, ‘छोरा जन्मिसकेको थियो। डाक्टरले भनेअनुसार पाठेघरको अप्रेसन गरेर १८ वर्षकै उमेरमा फालिदिएँ।’
पूर्वीसुर्खेतमा दुई सातादेखि नेपाल एपिएफ अस्पतालले महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गर्यो। रामकलाजस्तै धेरै महिला आफूमा रहेको स्वास्थ्य समस्या ल्याएर एपिएफ अस्पतालकी डा. शुभेक्षा कर्माचार्यको समूहलाई भेट्न आए। ‘१८ वर्षकै उमेरमा ती महिलाले पाठेघर झिकेको सुन्दा सुरुमा मलाई अच्चम लागेको थियो’,डा. कर्माचार्यले भनिन्, ‘सेतो पानी बग्नु सामान्य प्रक्रिया हो, यसैलाई समस्याका रूपमा लिएर गाउँघरमा धेरै महिलाले पाठेघर फाल्ने गरेको मैले पाएँ।’
डा. कर्माचार्यका अनुसार पूर्वीसुर्खेतका गुर्भाकोट, लेकबेंसी र भेरीगंगा नगरपालिकामा १३ दिनसम्म गरिएको स्वास्थ्य शिविरमा आठ हजार ५१० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो। तीमध्ये तीन हजार बढी महिलामा पाठेघरको संक्रमण देखिएको छ।
‘सानै उमेरमा विवाह हुनु, सानै उमेरमा छोराछोरी जन्माउनु, आफ्नो स्वास्थ्यका बारेमा सचेत नहुँदा यहाँका महिलामा पाठेघरको समस्या अधिक देखिएको हो’,उनले भनिन्, ‘त्यसैले हामीले स्वास्थ्य जाँचअघि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौं।’डा. कर्माचार्यले महिला स्वास्थ्य जनचेतनामूलक कार्यक्रममार्फत पाठेघरको महत्व र सुरक्षाका बारेमा जानकारी दिने गरेकी छन्। उनी जनचेतनामूलक कक्षामा सेतो पानी बग्दाका फाइदाका बारेमा सम्झाउँछिन्। घरेलु उपचार विधि सिकाउँछिन्। विभिन्न उदाहरण दिएर महिलालाई आफ्नो स्वास्थ्यका बारेमा सचेत गराउँछिन्।
‘पाठेघरबाट सेतो पानी बग्नु र नाकबाट सिँगान आउनु उस्तै हो’,उनले भनिन्, ‘तपाईंहरू नाकलाई जति माया गर्नुहुन्छ, त्यति नै आफ्नो पाठेघरलाई माया गर्नुहोस्।’उनले पाठेघरका फाइदाका बारेमा पनि महिलालाई जानकारी गराइन्। ‘पाठेघरको काम बच्चा जन्माउने मात्रै होइन, त्यसले यौवन राम्रो बनाउँछ, मुटु र हाडजोर्नी बलियो बनाउँछ, पाचन प्रणालीदेखि सोच्ने तरिकासम्ममा परिवर्तन ल्याउँछ’,उनले भनिन्, ‘पाठेघर नहुँदा हाटजोर्नी कमजोर हुँदै जान्छन्, मुटु कमजोर हुन्छ, धड्कन बढ्छ, मन आत्तिन्छ, कमजोर हुन्छ, शरीर पोल्छ र पसिना छुट्छ।’
डा. कर्माचार्यले पाठेघर झिक्नुअघि १० पटक सोच्न महिलालाई आग्रह गरिन्। डा. कर्माचार्यले भारतमा गएर धेरै महिलाले पाठेघर झिक्ने गरेको पाइएको बताइन्। ‘हामीले गुर्भाकोट, लेकबेंसी र भेरीगंगामा महिला स्वास्थ्य शिविर सञ्चालन गर्यौं, उनले भनिन्, ‘अधिकांश महिलाले भारतमा गएर पाठेघर फालेको पायौं।’
उनले सेतो पानी बग्नुलाई समस्याका रूपमा नलिन आग्रह गरिन्। ‘जसरी नाकबाट सिँगान आउँछ, त्यसैगरी पाठेघरबाट सेतो पानी बग्छ’,उनले भनिन्, ‘पाठेघरबाट सेतो पानी बग्नु भनेको त्यहाँ रहेको फोहर बाहिर आउनु हो। यसले पाठेघरमा कीटाणु बस्न दिँदैन।’
डा. कर्माचार्यका अनुसार जाँच गरिएका मध्ये २०४ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने छ। उनीहरूलाई कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको छ। यस्तै शिविरमा आएका १२ जना महिलामा पाठेघरमा क्यान्सर देखिएको छ। उनीहरूलाई एपिएफले निःशुल्क एम्बुलेन्समार्फत बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पताल पठाएको छ।
प्रकाशित: २३ फाल्गुन २०७९ ०२:१४ मंगलबार





