२० पुस २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

‘पाठेघरलाई हेला होइन, माया गर्नुहोस्’

'एपीएफको स्वास्थ्य चेतनामूलक कार्यक्रम'

सुर्खेतको गुर्भाकोट नगरपालिकाकी रामकलाले १८ वर्षकै उमेरमा पाठेघर फालिन्। सेतो पानी अत्यधिक बग्न थालेपछि पाठेघर फालेको उनको भनाई छ। उनी अहिले ३० वर्षकी भइन्। कलिलै उमेरमा पाठेघर फालेकाले अहिले उनलाई विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेको छ।

‘धेरै सेतो पानी बग्न थालेपछि भारतमा गएर उपचार गराउँदा पाठेघर फाल्नुपर्छ भनेर डाक्टरले सल्लाह दिए,’ उनले भनिन्, ‘छोरा जन्मिसकेको थियो, डाक्टरले भने अनुसार पाठेघरको अप्रेसन गरेर १८ वर्षकै उमेरमा फालिदिएँ।’

पूर्वी सुर्खेतमा दुई सातादेखि नेपाल एपीएफ अस्पतालले महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गर्‍यो। रामकलाजस्तै धेरै महिलाहरू आफूमा रहेका स्वास्थ्य समस्या ल्याएर एपीएफ अस्पतालकी डाक्टर शुभेच्छा कर्माचार्यको टिमलाई भेट्न आए।

‘१८ वर्षकै उमेरमा ती महिलाले पाठेघर झिकेको सुन्दा सुरुमा मलाई अच्चम लागेको थियो,’ डा. कर्माचार्यले भनिन्, ‘सेतो पानी बग्नु सामान्य प्रक्रिया हो, यसैलाई समस्याका रूपमा लिएर गाउँघरमा धेरै महिलाहरूले पाठेघर फाल्ने गरेको मैले पाएँ।’

डा. कर्माचार्यका अनुसार पूर्वी सुर्खेतका गुर्भाकोट, लेकवेशी र भेरीगंगा नगरपालिकाकामा १३ दिनसम्म गरिएको स्वास्थ्य शिविरमा आठ हजार ५१० जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो। ती मध्ये तीन हजार बढी महिलामा पाठेघरको सङ्क्रमण देखिएको छ।

‘सानै उमेरमा विवाह हुनु, सानै उमेरमा छोराछोरीलाई जन्मदिन, आफ्नो स्वास्थ्यका बारेमा सचेत नहुँदा यहाँका महिलाहरूमा पाठेघरको समस्या अधिक देखिएको हो,’ उनले भनिन्, ‘त्यसैले हामीले स्वास्थ्य चेकजाँच अघि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौँ।’ डा. कर्माचार्यले महिला स्वास्थ्य जनचेतनामूलक कार्यक्रममार्फत पाठेघरको महत्त्व र सुरक्षाका बारेमा जानकारी दिने गरेकी छिन्।

‘पाठेघरबाट सेतोपानी बग्नु र नाकबाट सिँगान आउनु उस्तै हो,’ उनले भनिन्, ‘तपाईँहरू जति नाकलाई जति माया गर्नुहुन्छ, त्यति नै आफ्नो पाठेघरलाई माया गर्नुहोस्।’ उनले पाठेघरका फाइदाका बारेमा पनि महिलालाई जानकारी गराइन्। ‘पाठेघरको काम बच्चा जन्माउने मात्रै होइन, त्यसले यौवन राम्रो बनाउँछ, मुटु र हाड जोर्नी बलियो बनाउँछ, पाचन प्रर्णालीदेखि सोच्ने तरिकासम्ममा परिवर्तन ल्याउँछ,’ उनले भनिन्, ‘पाठेघर नहुँदा हाटजोर्नीहरु कमजोर हुँदै जान्छन्, मुटु कमजोर हुन्छ, धड्कन बढ्छ, मन आत्तिन्छ, मन कमजोर हुन्छ, शरीर पोल्छ, पसिना छुट्छ।’

डा. कर्माचार्यले पाठेघर झिक्नुअघि १० पटक सोच्न महिलाहरूलाई आग्रह गरिन्। डा. कर्माचार्यले भारतमा गएर धेरै महिलाहरूले पाठेघर झिक्ने गरेको पाइएको बताइन्। ‘हामीले गुर्भाकोट, लेकवेशी र भेरीगंगामा महिला स्वास्थ्य शिविर सञ्चालन गर्‍यौं, उनले भनिन्, ‘अधिकांश महिलाहरूले भारतमा गएर पाठेघर फालेको पायौँ।’

उनले सेतो पानी बग्नुलाई समस्याका रूपमा नलिन आग्रह गरिन्। ‘जसरी नाकबाट सिँगान आउँछ, त्यसै गरी पाठेघरबाट सेतो पानी बग्छ,’ उनले भनिन्, ‘पाठेघरबाट सेतो पानी बग्नु भनेको त्यहाँ रहेको फोहर बाहिर आउनु हो, यसले पाठेघरमा कीटाणुहरू बस्न दिँदैन।’

डा. कर्माचार्यका अनुसार चेकजाँच गरिएका मध्ये २०४ जना महिलाको पाठेघरको अप्रेसन गर्नुपर्ने छ। उनीहरूलाई कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको छ। यस्तै शिविरमा आएका १२ जना महिलामा पाठेघर क्यान्सर देखिएको छ। उनीहरूलाई एपीएफले निःशुल्क एम्बुलेन्समार्फत बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पताल पठाएको छ।

महिला स्वास्थ्य शिविरको समापन

सशस्त्र प्रहरी अस्पतालले पूर्वी सुर्खेतमा सुरु भएको निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रिनिङ शिविर सोमबार समापन भएको छ। पूर्व गृहमन्त्री एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले फागुन ७ गते गुर्भाकोट नगरपालिकाबाट शिविरको शुभारम्भ गरेका थिए।

एपीएफ अस्पतालले गुर्भाकोट नगरपालिकामा तीन हजार २२२, लेकवेशी नगरपालिकामा दुई हजार २६५ र भेरीगंगा नगरपालिकामा तीन हजार ४१९ जना महिलाहरूको स्वास्थ्य चेकजाँच गर्नुका साथै जनचेतनामूलक कक्षा सञ्चालन गरेको थियो।

प्रकाशित: २२ फाल्गुन २०७९ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App