१६ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोसी अस्पतालले फालिएका सामान पुनः प्रयोगमा ल्याउँदै

बिग्रिएर काम नलाग्ने भनेर फालिएका (कवाडी) सामानलाई विराटनगरको कोसी अस्पतालले पुनः प्रयोगमा ल्याउन थालेको छ।

अस्पतालका विभिन्न वार्डमामा सामान्य बिग्रिएका सामानलाई पूरै बिग्रिए जस्तै गरी कवाडीका रूपमा फालिएका सामानलाई मर्मत सम्भार गरी पुनः प्रयोगमा ल्याइएको छ।

कोसी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीका अनुसार काम नलाग्ने भनेर कवाडीका रूपमा फालिएका बेड, बिरामी बोक्ने स्ट्रेचर, कुर्सी, टेबललगायतका सामान मर्मत गरेर पुनः प्रयोग गर्न थालिएको हो।

सामान्य बिग्रिए पनि पूरै कामै नलाग्ने भन्दै फालिएका सामानलाई मर्मत गराएर पुनः प्रयोगमा ल्याउन थालेको बताउँदै, सदस्य बुढाथोकीले भने, ‘अस्पताल प्रशासनले सामान्य बिग्रेका सामानलाई कवाडी जस्तै बनाएर फालिएको थियो। त्यस्ता सामान नयाँ खरिद गर्दा महँगो पर्ने हुँदा छानेर मर्मत गर्दा नयाँ जस्तै स्वरूपमा आउने सामानलाई बनाएर पुनः प्रयोगमा ल्याउन थालेका हौँ।’

अस्पताल प्रशासनले सामान कौडीको मूल्यमा बेच्नका लागि तयारी गरेको थियो। सामान्य खर्च गरेर नयाँ स्वरूपमा सामान प्रयोग गर्दा अस्पतालको बजेट जोगाउन सकिने देखेपछि इटहरीको एउटा कम्पनीलाई मर्मतको जिम्मा दिएको बुढाथोकीले बताए। 

अस्पताल प्रशासनले पहिलो चरणमा ५० वटा बेड, २२ वटा  स्ट्रेचर, टेबल, कुर्सीलगायतका सामान पुनः प्रयोगमा ल्याएको छ।

आफू अस्पतालको प्रमुख भएर आउनु अघि नै काम नलाग्ने भनेर फालिएका सामानलाई थोरै खर्चमा नयाँ स्वरूप दिएर प्रयोगमा ल्याएको बताउँदै, कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले भने, ‘अस्पताल ३ सय ५० बेडको हो। तर, बिरामी त्यसभन्दा बढी नै उपचारका लागि भर्ना हुने गरेका छन्। बेड अभावमा बिरामीलाई भुईँमा राखेर उपचार गर्न बाध्य भएका थियौँ। नयाँ बेडलगायतका सामान किन्नका लागि पर्याप्त बजेट नहुँदा कवाडी भनेर फालिएको सामानलाई थोरै बजेटमा मर्मत गरेर पुनः प्रयोगमा ल्याएका हौँ।’

यसरी तयार पारिएको बेडलाई पहिलो प्राथमिकता प्रसूति वार्डलाई दिइने र बाँकी बेड आवश्यक परेका ठाउँमा राख्ने डाक्टर सिंहले बताए। नयाँ बेड खरिद गर्दा न्यूनतम १५ हजारभन्दा बढी र फोल्डिङ बेडलाई २२ हजारभन्दा बढी लाग्ने छ। 

कवाडी भनेर फालिएको सामान्य बेडलाई प्रतिगोटा ३ हजार ३ सय रुपैयाँमा मर्मत गरिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७९ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App