जापानिज इन्सेफलाइटिसबाट सन् २०२५ को हालसम्म ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य र खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस देखिएको र ११ जनाको मृत्यु भएको बताए।
उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक-एक जना तथा चितवनका तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये आठ वर्षका एक, १७ वर्षका एक र ४० वर्षभन्दा माथिका नौ जना छन्।
शाखा प्रमुख डा गौतमका अनुसार घरमै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतको मृत्यु भएको छ। सन् २०२४ मा जापानिज इन्सेफलाइटिसबाट २५ जनाको मृत्यु भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो।
उनले जापानिज इन्सेफलाइटिस खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताए। ‘हालसम्म २४ जिल्लाका ५० स्थानीय तहमा यो रोग देखिएको छ। २४ स्थानीय तहलाई उच्च जोखिममा राखिएको छ। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ,’ डा गौतमले भने।
उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइसकिएको छ।
कसरी सर्छ
चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो। यो लामखुट्टे साँझ र झिसमिसे बिहान बढी सक्रिय हुन्छ। धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ।
जापानिज इन्सेफलाइटिस गम्भीर भएमा मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्म मृत्यु हुन सक्ने डा गौतमले बताए। यो रोग जुनसुकै उमेरकालाई लाग्न सक्छ, तर धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिन्छ।
यो रोग सङ्क्रमित हाँस, कुखुरा र सुँगुर-बङ्गुरलाई टोकेका लामखुट्टेले मानिसलाई टोक्दा सर्छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। रासस
प्रकाशित: ३ भाद्र २०८२ २०:५३ मंगलबार





