८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘जलन’ उपचारका लागि छैनन् अस्पताल र आइसीयु चिकित्सक

फाइल तस्बिर

खाना पकाउने ग्याँस चुहिएपछिको दुर्घटनामा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते भए। उपचारका क्रममा भण्डारीकी आमाको किर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भयो। नेता भण्डारीको थप उपचारका लागि भारत लगिएको छ। उनको अहिले मुम्बइस्थित नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ।

किर्तिपूरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टरले अहिलेको श्रोत र साधनमा भण्डारीको उपचार संभव र सहज नहुने देखिएको भन्दै उपचारका लागि मुम्बइ रिफर गरेको हो।

उपचारका लागि नेता भण्डारीलाई मुम्बई रिफर गरेसंगै जलनको भरपर्दो उपचारनै सम्भव नै नभएको हो भन्ने बिषय बहसमा छ। नेपालमा जलनको प्रभावकारी र भरपर्दो उपचार नरहेको कुराको पुष्टि पछिल्ला घटनाक्रमले गरेका छन्।

नेपाल क्लिफ एण्ड बर्न सेन्टरका जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मी नेपालमा उपचार नै सम्भव नभएर रेफर गरेको भन्दा पनि नेसनल बर्न सेन्टरको सेवा सुविधा राम्रो भएर रेफर गरेको बताउँछन्।  

उनी भन्छन्, ‘भण्डारीको शरीर ३० प्रतिशत जल्नुका साथै श्वास नलीबाट तातो हावा अथवा धुँवा फोक्सोमा गएको थियो। त्यसले श्वास नली सुन्निएर श्वास नली नै बन्द भएको र त्यसमा अक्सिजनहरु जान नपाएर जटिल देखिएकाले भारत पठाइएको हो।’ 

त्यस्तो अवस्थामा उपचार गर्नै नसकिने भन्ने नभएको डा. नकर्मीले बताए। नेपालको तथ्यांक अनुसार यस्ता अवस्थाका बिरामीको मृत्युदर ५० प्रतिशत रहेको र अस्पतालले अहिलेको अवस्थाबारे जानकारी गराएपछि भण्डारीलाई भारत लाने निर्णय गरिएको उनले जानकारी दिए।  

डा. नकर्मीका अनुसार नेपाल भारतमा जलन सम्बन्धी उपचार गर्ने प्रविधि एउटै हो। तर नेपालमा जलनको सघन उपचार गर्ने विशेषज्ञ नहुँदा समस्या हुने गरेको उनी बताउँछन्।  

‘जलन उपचार गर्ने सर्जनहरु नेपाल भरमा झण्डै ३०/३५ जना हुनुहुन्छ। सामान्य जलनहरु सर्जनहरुले गर्न सक्नुहुन्छ। तर जलनको सघन उपचार गर्ने आइसियुको सेवा दिन सक्ने विशेषज्ञहरु नेपालमा छदै छैनन्। अन्य आइसीयु र जलनको आइसीयु हेर्ने चिकित्सक नै फरक हुन्छन्’, डा. नकर्मीले भने।  

जलनको विशेष तालिम नलिएका चिकित्सकहरुलाई जलनको आइसीयु हेर्न गाह्रो हुने उनले बताए। जनरल आइसीयु हेर्ने चिकित्सकले जलनको आइसीयु हेर्न नसक्ने डा. नकर्मीको भनाइ छ।  

तिन वर्षको प्लाष्टिक सर्जरी पढेपछि जलन सम्बन्धी उपचार गर्ने विशेषज्ञ पढ्न पाइन्छ। अहिले बर्न सेन्टरले यो पढाइ अहिले सुरु गरेको छ।  

उनले भने, ‘हाम्रो एक जना डाक्टरले अहिले पढ्दै हुनुहुन्छ। उहाँले ६ महिना तालिम गरिसक्नु भएको छ अब तीन वर्ष गर्नुपर्छ। उहाँलाई हामीले जलनको केशहरु कुन कुन देशमा बढी छन्। कस्ता प्रविधिबाट उपचार भइरहेका छन्,त्यस्तो देशहरुमा पठाउने छौं।’  

किर्तिपुर बर्न अस्पतालले अहिले जलन सम्बन्धि उपचार गर्ने कम्तिमा ४ जना विशेषज्ञ तयार गर्न लागिरहेको छ। डा. नकर्मीका अनुसार नेपालमा जलन उपचार विशेषज्ञ नपढ्नुको कारण बर्न अस्पतालहरु धेरै मात्रामा नहुनु हो।

‘नेपालमा यो उपचारका लागि धेरै बिरामीहरु हुँदैनन् भएपनि जहिल्यै जटिल खालको हुँदैन त्यसैले पढ्दैनन्। प्लास्टिक सर्जन पछि पढ्नका लागि विदेश नै पठाउनुपर्छ। जहाँ जलनको नियमित उपचार हुन्छ। नयाँ खालको प्रविधिबाट उपचार हुन्छ त्यस्ता देशहरुमा तालिमका लागि पठाउनुपर्छ। व्यक्तिगत रुपमा यो गर्न सक्ने अवस्था रहेन् त्यसैले पनि पढ्ने हुँदैनन्’, डा. नकर्मी भन्छन्।

उनका अनुसार जलन उपचार विशेषज्ञ बन्न एमबीबीएसको पढाई पुरा गरेपछि ६ वर्ष प्लास्टिक सर्जरी पढनुपर्छ। र, त्यसपछि ३ वर्ष तालिम लिनुपर्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिर अधिकारी जलन सम्बन्धि केशहरु धेरै मात्रामा नहुँदा उपचार गर्ने विशेषज्ञहरु राख्नलाई कठिनाइ भएको बताउँछन्।

उनी भन्छन्, ‘हाम्रोमा जलनका केशहरु धेरै मात्रामा हुँदैनन्। केशहरु थोरै हुँदा विशेषज्ञहरुलाई राख्न सकिन्छ कि सकिदैन भन्ने पनि आउछ। जलनको विशेषज्ञ फेरि काम नभएर जनरल मै जान पर्यो भने पनि के काम। अहिलेसम्म सर्जनहरुले काम गरिरहनु भएको छ। फेरि जलन उपचारका लागि फरक/फरक चिकित्सकले हेर्नुपर्ने हुन्छ।’

अन्य अस्पतालहरुमा पनि बर्न उपचारका लागि कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा मन्त्रालयले छलफल गरिरहेको उनले बताए।

नेपालमा विभिन्न खालका आगलागी, डढेलो नियन्त्रण प्रयास क्रममा हुने आगलागि, आत्मदाहको प्रयास आदिबाट मानिसहरु जल्ने गरेको पाइएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार विगत ५ वर्षमा ३ सय ३६ जनाको आगोबाट जलेर मृत्यु भएको छ।

आर्थिक वर्ष २०७५/७६ मा  ७२ जनाको आगोबाट जलेर मृत्यु भएको छ भने ३ सय १२ जना घाइते भएका छन्। २०७६/७७ मा ३७ जनाको आगोबाट जलेर मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।  

त्यस्तै २०७७/७८ मा ८१ ज्नाको आगोबाट जलेर मृत्यु भएको छ भने ३ सय ८२ जना घाइते भएका छन्। २०७८/८९ को माघ २६ गतेसम्म आगोबाट जलेर ५६ जनाको मृत्यु भएको छ भने १९० जना घाइते भएका छन्।  

प्रकाशित: १२ फाल्गुन २०७९ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App