३ मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

साकेलाले जटिल रोगका बिरामीको उपचार खर्च बेहोर्ने

स्वास्थ्य शिविरको उद्घाटन गर्दै अध्यक्ष राई।तस्बिर: महेश्वर

खोटाङको साकेला गाउँपालिकाले जटिल खालका बिरामीका उपचारार्थ अस्पताल जान–आउन तथा बिरामी र कुरुवालाई खाने–बस्ने खर्चको जोहो गरिदिने भएको छ। जटिल प्रकारका रोग लागेर गाउँपालिकाभन्दा बाहिरका अस्पतालमा उपचार गर्न रिफर हुने बिरामीका लागि सो सुविधा दिन लागिएको हो।

गाउँपालिकाका अस्पताल र स्वास्थ्यचौकीबाट उपचार हुन नसक्ने खालका बिरामी रिफर भएर अन्यत्र जानुपर्दा लाग्ने एम्बुलेन्स वा गाडी भाडा बेहोरिदिने अध्यक्ष रविप्रकाश राईले बताएका छन्। गाउँबस्तीका महिलाको स्वास्थ्य समस्या पत्ता लगाई समाधान गर्ने उद्देश्यले वडा नं १ को बाँझेच्यानडाँडास्थित स्वास्थ्यचौकीमा आयोजित ‘प्रजनन स्वास्थ्य र रुग्णतासम्बन्धी स्क्रिनिङ शिविर’ का अवसरमा अध्यक्ष राईले सो कुरा बताएका हुन्।

कार्यक्रममा अध्यक्ष राईले उपचार अवधिमा बिरामीलाई खाने खर्च तथा कुरुवाका लागि आवश्यक खर्चसमेत गाउँपालिकाले नै बेहोर्ने व्यवस्था मिलाइने घोषणा गरे। त्यसका लागि छुट्टै कार्यविधि बनाएर अघि बढ्ने योजना सुनाए। बच्चादानी (पाठेघर) खसेका महिलाको उपचार गाउँमा सम्भव नहुने भएकाले अन्यत्र उपचारार्थ रिफर गर्नुपर्ने हुँदा त्यस्ता बिरामीलाई सहज बनाउन यस्तो सहयोगको योजना अघि सारिएको बताए।

गाउँघरमा अझै प्रजनन स्वास्थ्यसम्बन्धी थुप्रै दिदीबहिनीमा जटिल समस्या रहेको बताउँदै अध्यक्ष राईले सम्भव भएसम्म टोलटोलमा घुम्ती शिविर राखेर सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे। आमा स्वस्थ भए मात्र बच्चा स्वस्थ हु्ने र त्यस्ता बच्चा भविष्यमा योग्य र सक्षम नागरिक बनेर देश, जनता र समाज सेवा गर्ने भएकाले पहिला आमा स्वस्थ हुनुपर्ने राईको शर्त छ  

वडाध्यक्ष हेमन राईका अनुसार शिविरबाट विभिन्न ५० जना वडाबासीले स्वास्थ्य सेवा पाएका छन्। उनका अनुसार २० महिलाको बच्चादानीमा हुने क्यान्सर रोगको प्रारम्भिक उपचार गरिएको छ भने विभिन्न किसिमका परिवार नियोजनका अस्थायी साधन पनि वितरण तथा सेवा प्रवाह गरिएको छ।  

त्यसैगरी शिविरमा १० जना यौन रोगसम्बन्धी सिकायत भएका स्थानीयले उपचार पाएका छन्। गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रीता ढकालका अनुसार बच्चादानी खसेर बिरामी ७४ वर्षीया एक वृद्धाको भने शिविरमा उपचार सम्भव नभएकाले सुविधासम्पन्न अस्पतालमा उपचारार्थ रिफर गरिएको छ। १ नं वडापछि अन्य वडामा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले बताएकी छन्।

प्रकाशित: ३ फाल्गुन २०७९ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App