काठमाडौं उपत्यका मेयर्स फोरमले शैक्षिक सत्र २०८३ को भर्ना अभियान आउँदो शुक्रबार ११ गतेबाट र पठनपाठन १५ गतेबाट सुरु गर्न उपत्यकाभित्रका पालिकालाई निर्देशन दिएको छ।
बुधबार बसेको फोरमको बैठकले संघीय सरकारको निर्देशनलाई मध्यनजर गर्दै शिक्षा नियमावलीअनुसार २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ भर्ना अभियान सुरु गरी वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको हो।
अध्यक्ष चिरीबाबु महर्जनले विज्ञप्ती जारी गरेर मुलुकमा देखिएको इन्धन संकटलाई ध्यानमा राखी विद्यालय सञ्चालन र पठनपाठन अवरुद्ध हुन नदिन आवश्यक परे विद्युतीय सवारीसाधनको प्रयोग बढाउन तथा अनलाइन कक्षा सञ्चालनको तयारी गर्न पनि आग्रह गरेका छन्।
यसअघि संघीय सरकारले वैशाख १५ बाट भर्ना अभियान र वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको थियो। तर शिक्षा नियमावली, २०५९ को नियम ८४ को उपनियम (१) मा शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु भई चैत मसान्तसम्म कायम रहने व्यवस्था रहेको पनि फोरमले स्मरण गराएको छ।
नेपालको संविधान २०७२ को अनुसूची–८ मा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकारसूचीअन्तर्गत रहेको तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज)मा आधारभूत र माध्यमिक शिक्षासम्बन्धी २३ वटा कार्यक्षेत्र उल्लेख गरिएको जनाइएको छ। सोहीअनुसार सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी अधिकार स्थानीय तहमा निहित रहेको फोरमको भनाइ छ।
फोरमले स्थानीय तहले शैक्षिक सत्र सुरु हुने अवधिभित्र विद्यालय सञ्चालनका लागि शैक्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्दै आएको अवस्थामा सरकारले गरेको निर्णयले निर्धारित शैक्षिक क्रियाकलापमा असर पर्न सक्ने जनाएको छ।
विज्ञप्तिमा संविधान र स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था तथा सर्वोच्च अदालतको विद्यार्थी भर्नासम्बन्धी आदेशलाई समेत ध्यानमा राख्नुपर्ने उल्लेख छ। साथै, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनलगायत सरोकारवाला निकायबाट प्राप्त सुझावसमेत विचार गर्न आग्रह गरिएको छ।

प्रकाशित: ९ वैशाख २०८३ १८:१८ बुधबार





