त्रिभुवन विश्वविद्यालय (त्रिवि) पठनपाठनको दरिलो केन्द्र बन्दै जानुपर्नेमा आन्दोलनका नयाँ-नयाँ स्वरूप देखिन थालेको छ।
पछिल्लो समय विश्वविद्यालयपरिसरमा आन्दोलनरत विद्यार्थीले अनसनस्थलमै खाना पकाएर खानुका साथै पिकनिक नै मनाएको दृश्यले त्रिवि आन्दोलन गर्ने थलोमा परिणत भएको महसुस गरिएको हो।
२१ दिनदेखि विश्वविद्यालयमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विद्यार्थीका यस्ता क्रियाकलापप्रति सबैको ध्यानाकर्षण भएको छ। क्रान्तिकारीका विद्यार्थी चारवटा विभागको शुल्कको विवादलाई लिएर आन्दोलनरत छन्।
धर्ना, अनसन र कार्यालय तोडफोडमा उत्रिएका क्रान्तिकारी विद्यार्थीले बुधबार बिहान उपकुलपति कार्यालयको गेट बाहिर पानीमा भिजेरै पाल टाँगेर रिले अनसनमा बसेका थिए।
रमाइलो दृश्य के थियो भने विद्यार्थीले रिले अनसन बसेको स्थलमै खाना पकाएर खाए। बुधबार बिहान गुन्द्रुक र भात पकाएर खाएपछि रिले अनसन बसेको खबर उपकुलपति प्रा.डा. दीपक अर्यालसम्म पनि पुग्यो।
उपकुलपति अर्यालले विद्यार्थीको यस्तो रबैयालाई रमाइलो जात्राको संज्ञा दिएका छन्। विद्यार्थीले आफ्ना गुरुमाथि हातपात र कार्यालय तोडफोड गर्नु विद्यार्थीको आचरण नै होइन। यो त नितान्त राजनीतिक दलका अराजक कार्यकर्ताको गलत आचरणले त्रिविभित्र त्रास फैलाइरहेको त्रिविका प्राध्यापकहरूको भनाइ छ।
विश्वभरबाट विदेशी विद्यार्थी तथा प्राज्ञिकहरूको निरन्तर आवतजावत भइरहने मुलुकै जेठो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयमा आन्दोलनको जात्रा नै जात्रा चलिरहेको छ।
उपकुलपति अर्यालले आन्दोलनका कारण आफूले तय गरेको कार्यढाँचाअनुसार विश्वविद्यालयभित्र काम गर्न नसकिएको बताए। आन्दोलन र धम्कीले उपकुलपति अर्यालले मनोबल गिरेको महसुस गरेका छन्। साथै उनले आफूले गृह प्रशासनसँग सुरक्षाको गुहारसमेत मागेको सुनाए।
‘उपकुलपतिले विश्वविद्यालयभित्र बसेर काम गर्ने वातावरणै छैन। विदेशी प्राज्ञहरूसँग कार्यकक्षमा बसेर छलफल गर्न नपाउँदा लाज महसुस भएको छ। राजनीतिक दलले आफ्ना कार्यकर्तालाई नैतिक शिक्षा दिनु अति आवश्यक छ’, उपकुलपति प्रा.डा. अर्यालले नागरिक न्युजसँग दुखेसो गरे, ‘जल तथा मौसम विज्ञानमा आठ वर्ष विभागीय प्रमुख भएर चलाएँ, विभाग प्राज्ञिक बनाएँ। त्यही विज्ञता विश्वविद्यालयको समग्र शैक्षिक सुधारमा प्रयोग गर्ने अठोट लिएर उपकुलपति भएको हुँ’, उनले जोड दिए, ‘तर विश्वविद्यालयभित्र जकडिएको दलगत राजनीतिले काम गर्ने वातावरण छैन। क्रान्तिकारीले रजिस्ट्रार प्रा.डा. केदार रिजाल सरमाथि हातपात गरेका छन्। उपकुलपति कार्यालय र शिक्षाध्यक्षको कार्यालय तोडफोड भएको छ। यो राजनीतिक अराजक हो। हाम्रो मनोबल गिराउने काम दलले गरेका छन्। पर्सि माओवादी अध्यक्ष पुष्पकमल दाहालजीसँग भेटेर प्रश्न राख्ने छु– तपाईंको दल गुरुको अपमान गर्ने कार्यकर्ता किन उत्पादन गर्दै छ ? के तपाईंको दलभित्र कार्यकर्तालाई नैतिक शिक्षा दिइँदैन ?’
विश्वविद्यालयकाले उपकुलपति पाएको भोलिपल्टदेखि नै विश्वविद्यालयमा तलाबन्दी, धर्ना, घेराउ तथा अनसन र तोडफोड भइरहने गलत प्रवृत्तिले विश्वविद्यालयका पदाधिकारीको मनोबल गिर्दै गएको छ।
उपकुलपति प्रा.डा. दीपक अर्याल असार २५ गते नियुक्ति भएको भोलिपल्टै इन्जिनियरिङ कलेजका इन्जिनियरहरूले बेरुजुको विषयलाई लिएर १० दिन निरन्तर धर्ना र आन्दोलन गरे।
त्यसपछि उपकुलपति अर्यालले आफैंले नेतृत्व लिएर वार्ता र छलफलबाटै समस्या समाधान गरे। त्यसपछि साउन ४ गते क्रान्तिकारी विद्यार्थी संगठनले कनफ्क्टि म्यानेजमेन्ट, सामाजिक कार्य, जेन्डर स्टडिज र इन्टरनेसनल रिलेसन गरी चार विभागको शुल्क अन्य केन्द्रीय विभागको शुल्कसरह बनाउन माग राख्दै उपकुलपति अर्याललाई ज्ञापनपत्र बुझाए।
ज्ञापनपत्र बुझाएको भोलिपल्ट साउन ५ देखि नै क्रान्तिकारीहरू उपकुलपति कार्यालयअगाडि धर्ना बसेर घेराउको आन्दोलन गर्न थाले। उपकुलपतिले श्वास फेर्न नपाउँदै विश्वविद्यालयमा आन्दोलन भएको उपकुलपति अर्यालको गुनासो छ।
साउन ४ मा सुरु भएको क्रान्तिकारीको आनदोलन साउन २६ गते आन्दोलनको १९औं दिन सोमबार उपकुलपति कार्यालयअगाडि धर्ना बसेका क्रान्तिकारी विद्यार्थी संगठन र प्रहरीबिच झडप भएपछि केही विद्यार्थी पक्राउ परे र अन्यलाई उपकुलपति कार्यालयअगाडिबाटै हटाइयो। अहिले क्रान्तिकारी विद्यार्थी संगठन प्रविन दाहालको अगुवाइमा त्रिवि उपकुलपति गेट बाहिर पालभित्र रिले अनसन बसिरहेको छ।
त्रिविले असोज १ र मंसिर १२ को निर्णयबाट त्रिविमा निजी कार्यक्रमका रूपमा सञ्चालित द्वन्द्व व्यवस्थापन, सामाजिक कार्य, जेन्डर स्टडिज र इन्टरनेसनल रिलेसनलाई केन्द्रीय विभागका रूपमा परिवर्तन गरेको छ। तर शुल्क भने निजीसरह नै कायम छ। एकातिर त्रिविले आफ्नो शैक्षिक नियम संशोधन गरी स्कुलको अवधारणा अपनाउने निर्णय गरेको छ भने अर्कातिर निजी कार्यक्रमलाई केन्द्रीय विभागका रूपमा स्थापित गर्नु आफैंमा त्रिविको शैक्षिक नियम बाझिएको स्पष्ट छ।
क्रान्तिकारी विद्यार्थी संगठनका नेता प्रविन दहालले त्रिविले चार विभागको शुल्क अन्य विभागजस्तै कायम नगरेसम्म आन्दोलन जारी रहने बताएका छन्। हाल त्रिविका अन्य विभागमा प्रति सेमेस्टर १३ हजारदेखि १८ हजार शुल्क कायम छ।
‘तर हाम्रो चार विभागको शुल्क प्रति सेमेस्टर ३६ हजार र भर्ना पनि ३६ हजार कायम छ’, क्रान्तिकारीका नेता दहालले भने, ‘कार्यक्रमलाई विभागमा रूपान्तरण गरेपछि शुल्क पनि विभागसरह कायम हुनुपर्ने हाम्रो मुख्य माग हो। अहिले हामी पानीमा भिजेरै पालभित्रै स्टोभमा खाना पकाउँदे खाँदै रिले अनसन बसेका छौं। विद्यार्थीले रेक्टर र रजिस्ट्रारको कार्यालयमा केही क्षति पुर्याएको अवश्य हो। शुल्क नघटाए कडा आन्दोलनमा जान्छौं।’
उता उपकुलपति प्रा.डा. अर्याल भने शुल्क नबढाएकाले घटाउने कुराको कुनै तुक नरहेको दाबी गरे। ‘कार्यक्रमलाई केन्द्रीय विभाग बनाएको हो। यी चारवटै विभाग निजी कार्यक्रम नै हो। शुल्कबाटै चल्छ’, उपकुलपति अर्यालले स्पष्ट पारे, ‘पुरानै शुल्क नलिएर विभाग बन्द गर्नुपर्ने अवस्था आउँछ।’ उनले दिक्क मान्दै भने, ‘म उपकुलपति नियुक्ति भएको भोलिपल्टदेखि नै बन्द, घेराउ र धर्ना र अनसनको कार्यक्रम कहिले विद्यार्थी त कहिले शिक्षकले गरिरहेका छन्। म बाहिरबाटै काम गरिरहेको छु। यही कारणले होला पूर्वउपकुलपति केशरजंग बराल सरले एक वर्षभित्रै राजीनामा दिनुभयो। अब मलाई पनि काम गर्ने निकै कठिन छ। यस्तो अवस्थामा त्रिविलाई गति दिन चुनौती छ।’
उपकुलपति अर्यालले त्रिविभित्र भय र त्रासको वातावरण भएकाले गृह प्रशासनसँग सुरक्षा माग गरेको बताए। उनले थपे, ‘शिक्षाध्यक्ष र रजिस्ट्रारज्यूका लागि पनि सुरक्षाको माग गरेको छु।’
उनले त्रिविमा ४७ प्रतिशत सरकारी अनुदान र ५३ प्रतिशत त्रिविको आन्तरिक स्रोतबाटै चल्ने भएकाले चारवटै विभागबाट पनि शुल्क लिनुपर्ने अवस्था आएको दाबी गरे।
प्रकाशित: २८ श्रावण २०८२ २१:१५ बुधबार