८ चैत्र २०८२ आइतबार
image/svg+xml
शिक्षा

शिक्षण पेशा विकृत पुँजीवादको चपेटामा : त्रिवि शिक्षाध्यक्ष

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायको विद्यापरिषद् पूर्ण बैठकले विभिन्न नीतिगत निर्णयहरू अनुमोदन गरेको छ । आज बसेको बैठकले २०८१ फागुन ३ देखि २०८२ माघ ७ गतेसम्म विद्यापरिषद् स्थायी समितिले गरेका निर्णयहरूको अनुमोदन गरेको छ। 

साथै, शिक्षाशास्त्र सङ्काय अन्तर्गतका पाठ्यक्रमलाई समयसापेक्ष बनाउने, वार्षिक प्रणालीलाई क्रमशः सेमेस्टर प्रणालीमा रूपान्तरण गर्ने, र सङ्काय पुनर्संरचना सम्बन्धी संवादलाई निरन्तरता दिने प्रस्तावहरू पारित भएका छन्।  

यस्तैगरी पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रमको समीक्षा तथा परिमार्जन, विषयवस्तुलाई थप सान्दर्भिक बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै पाँच जना शिक्षकलाई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि पारिश्रमिक उपलब्ध गराउने कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ।  

बैठकमा त्रिविका शिक्षाध्यक्ष खडग केसीले शिक्षण पेशामा दक्षिण एसियाली सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका कारण  आकर्षण घट्दै गएको बताए। उनले शिक्षण पेशा विकृत पुँजीवादको चपेटामा परेको बताउँदै कतिपय प्राध्यापकहरू शैक्षिक पहिचान भन्दा राजनीतिक आवद्धतालाई प्राथमिकता दिने प्रवृत्तिले नकारात्मक असर परेको बताए। 

साथै उच्च शिक्षाको गुणस्तर सुधारका लागि सरकारी स्रोत साधन अपर्याप्त रहेको र देशको राजनीतिक परिवर्तनमा शिक्षालाई प्राथमिकतामा नराखिएको पनि बताए। 

शिक्षाशास्त्र सङ्कायका डिन वेदराज आचार्यले स्थायी समितिका निर्णय अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिव कुमार सापकोटाले शिक्षाशास्त्र क्षेत्रमा दक्ष जनशक्ति कमजोर बन्दै गएको, शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण दर बढेको तथा पाठ्यसामग्री कमजोर रहेको गुनासो आएको  भन्दै   विश्वविद्यालयलाई सुधार गर्न अनुरोध गरेका छन् ।     

प्रकाशित: ८ चैत्र २०८२ १८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App