२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
शिक्षा

अध्ययन भिसा सिफारिसमा शंकास्पद कागजात, छानबिनका लागि गृहलाई पत्राचार

व्यक्तिको भर्ना र अध्ययन विवरणमा गम्भीर असंगति भेटिएको शिक्षा मन्त्रालयको निष्कर्ष

अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात तथा नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पठाएको पत्रमा विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको उल्लेख गर्दै अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार काठमाडौंस्थित वाल्मिकी विद्यापीठको नामबाट ‘एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा’ शीर्षकको पत्र प्राप्त भएपछि सोही आधारमा अध्ययन भिसाका लागि सिफारिस गरिएको थियो । तर, मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीको नाममा जारी पत्र र त्यससँग संलग्न आम्दानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ ।

अनुगमनका क्रममा उक्त व्यक्ति सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययनरत रहेको दाबी पुष्टि हुन नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा पेश गरिएका केही कागजात तथा रसिदसमेत शंकास्पद र नक्कली प्रकृतिका देखिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

मन्त्रालयका अनुसार सोही विद्यापीठको नामबाट यसअघि प्राप्त अर्को पत्रसमेत नक्कली रहेको पाइएको छ । प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातको विश्वसनीयतामाथि प्रश्न उठेपछि अध्ययन भिसाका लागि जारी गरिएको सिफारिस पत्रसमेत खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयलाई पठाइएको पत्रमा घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । साथै अध्ययन भिसा सिफारिस प्रक्रियाको दुरुपयोग रोक्न सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको पनि मन्त्रालयले औँल्याएको छ ।

नेपालमा विदेशी विद्यार्थीलाई अध्ययनका लागि भिसा सिफारिस गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी भएका भर्ना, अध्ययन र शुल्कसम्बन्धी आधिकारिक कागजातका आधारमा प्रक्रिया अघि बढाइन्छ । अध्यागमन विभागले समेत अध्ययन भिसा सिफारिस गर्दा विद्यार्थी वास्तविक रूपमा अध्ययनमा संलग्न रहेको सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारका विभिन्न निकायहरूले भिसा वा वैदेशिक अध्ययनसम्बन्धी प्रक्रियामा गलत, भ्रामक वा नक्कली कागजात पेश गरेमा कानुनी कारबाही हुन सक्ने भन्दै समय–समयमा सचेत गराउँदै आएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिएको जनाएको छ । मन्त्रालयले अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ ।

प्रकाशित: २८ जेष्ठ २०८३ २१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App