अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ। गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो।
समाजका सभापति डा. त्रिभुवन शर्माले विद्यार्थीमा मात्र नभई सर्वसाधारणलाई पनि गणितको महत्व बुझाउने प्रयासस्वरुप सडकमै गणित पढाउने अभ्यास गरिएको बताए। ‘म्याथम्याटिक्स एण्ड होप’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीले ‘टावर अफ हनोई’, ‘टेनग्राम पजल,’ ट्रयांगल फर्मेसन पजल, म्याजिक स्क्वायर लगायतका विभिन्न गणितीय खेलहरु खेलाइएको थियो। कार्यक्रममा बालबालिकादेखि पाको उमेरसम्मका अभिभावकले सहभागिता जनाएका थिए।
समाजका अध्यक्ष डा. शर्माले यस्ता कार्यक्रमले सर्वसाधारण र बटुवालाई गणितप्रतिको आकर्षण बढाउने बताए। ‘गणितको महत्व बुझाउन यस्ता कार्यक्रम आवश्यक पर्छ। जीवनका हरेक क्षण गणितको महत्व छ भन्ने बुझाउन नसक्दा समस्या हो,’ उनले भने, ‘गणितको महत्व सबैले बुझ्न जरुरी छ।’ शर्माले आगामि वर्ष पनि यस्तै गतिविधि गर्दै जाने पनि प्रतिवद्धता जनाए।
कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य नियम र ज्ञान सिकाएको समाजका गण्डकी अध्यक्ष शर्माले जानकारी दिए। ‘गणितको ज्ञान कक्षाकोठामा मात्र सीमित हुनुहुँदैन। घरको भान्सामा पनि गणितको महत्व छ। हामीले बाहिरबाट हेर्दा गणित पढाउन कक्षाकोठा नै चाहिन्छ भन्ने मान्यता छ। त्यही मान्यता चिर्नका लागि बाटोमा गणित पढाउने कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष शर्माले भने।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले किताबी ज्ञानले मात्र सबै खालको शिक्षा प्राप्त नहुने र यस्ता अभ्यासले उनीहरुमा अतिरिक्त र व्यवहारिक ज्ञान हासिल हुने बताए। ‘संसारका अरु देशमा पनि यो अभ्यास छ। गणित नपढेका बटुवाले पनि केही कुरा जानुन। ज्ञानलाई बढी महत्व दिएर सिकाउने अभ्यास हो,’ उनले भने, ‘घरायसी व्यवहारमा पनि गणित लागु हुन्छ। त्यसैले बटुवालाई पनि सहभागि गराएका हौ।’
प्रकाशित: ३ चैत्र २०८२ १७:०८ मंगलबार




