उदयपुरको चौदण्डीगढी नगरपालिकाले आउदो विद्यालय शिक्षा परीक्षा (एसईई)लाई लक्षित गर्दै कक्षा १० काविद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्न थालेको छ । जसले एसईईको नतिजा सुधार हुने विश्वास पालिकाले लिएको छ ।
एसईईमा राम्रो नतिजा ल्याउन अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरले बताए । उनका अनुसार नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका कक्षा १० का छात्रछात्रालाई पढाइने छ ।
शैक्षिक अभियन्ता घुन्सा फाउण्डेशनकी याङजुम शेर्पाले केही दिन अघि नगरपालिकाका पाँच विद्यालयमा अनलाइन कक्षाबारे जानकारी गराएकी थिइन् ।
नगर प्रमुख कालुमान लामाले बालबालिकाको शैक्षिकस्तर उकास्दै एसईईको नतिजा बृद्धि गर्ने उदेश्यले घुन्सा फाउण्डेसनसँगको साझेदारीमा अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको बताए ।
अनलाइन कक्षा लिन चाहने विद्यार्थीले ‘एमविसनगुरु’एप डाउनलोड गर्नुपर्ने छ । कक्षा हरेक दिन साँझ ६ देखि राति ९ बजेसम्म नेपाली र अङ्रग्रेजी दुवै माध्यममा पढाई हुनेछ ।
प्रकाशित: ३१ आश्विन २०८२ १४:४७ शुक्रबार





