१ आश्विन २०८३ बिहीबार
image/svg+xml
शिक्षा

विद्यार्थीका पोसाक किन्न भारत पठाउँछन् स्कुल

नेपालगन्जनिवासी मिलन थापा आफ्ना छोराछोरीका लागि चाहिने विद्यालय पोसाक किन्न प्रायः भारतीय बजार रुपैडिहा पुग्छन्। भारतीय बजारमा पुग्नु उनका लागि रहर नभएर बाध्यता हो। ‘मलाई रुपैडिहा पुगेर छोराछोरीको विद्यालय पोसाक किन्ने इच्छा हुँदैन तर स्कुलले नै त्यहाँ पुग्न बाध्य बनाउँछ’, उनले भने।  

नेपालगन्जका अधिकांश संस्थागत विद्यालय (बोर्डिङ स्कुल) ले पोसाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य बनाइरहेका छन्। कमिसनको लोभमा स्कुलले अभिभावकलाई सीमापारि भारतीय बजार रुपैडिहा पठाउने गरेका हुन्।

सरकारले पछिल्लो समयमा ५ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयातमा अनिवार्य भन्सार महसुल लिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ तर आफूहरूलाई नचाहेर पनि विद्यालयले सीमापारि जान बाध्य गराउने गरेको अभिभावकको गुनासो छ। विद्यार्थीलाई स्कुलको पोसाक उपलब्ध गराउन यहाँ आधा दर्जनभन्दा बढी पसल सञ्चालनमा आइसकेका छन्।

यहाँका चर्चित बोर्डिङ स्कुलले नै रुपैडिहा स्थित ‘अग्रवाल ड्रेसेस’ सँग कमिसन लिएर विद्यार्थीका पोसाक किन्न सीमापारि पठाउने गरेको पाइएको छ। अभिभावक भन्छन्, ‘नेपालगन्जमै पोसाक तयार गर्ने तमाम पसल छन् तर स्कुलहरूले हामीलाई अग्रवालको भिजिटिङ कार्ड दिएर रुपैडिहा पठाउँछन्।’

अभिभावकलाई सीमापारि पठाउने त्यस्ता स्कुललाई अहिलेसम्म कुनै पनि निकायले कारबाही गरेको छैन। बोर्डिङ स्कुलको बेथिति रोक्न नेपालगन्ज उपमहानगरपालिका कार्यालय नै मूकदर्शक बनेको छ। ‘स्कुलले अभिभावकलाई त्यसरी सीमापारि पठाउँदा दैनिक लाखौं रुपैयाँ भन्सार राजस्व गुमिरहेको छ भने करोडौं नेपाली रुपैयाँ विदेश गइरहेको छ। हामी व्यवसाय नचलेर बन्द गर्ने अवस्थामा छौं’, एक व्यवसायीले भने।

सरकारलाई कर तिरेर सञ्चालित यहाँका अधिकांश पसललाई टिक्नै मुस्किल परेको छ। इनोभेटिभ युनिफर्मका सञ्चालक रेणु भण्डारीले पोसाक बिक्री हुने सिजन चले पनि व्यापार त्यति राम्रो नभएको दुखेसो पोखिन्। उनी भन्छिन्, ‘व्यापार त्यति सन्तोषजनक छैन, प्रायः अभिभावक रुपैडिहातिर गइरहेका छन्।’

आदर्श युनिफर्मका सञ्चालक चन्द्र श्रेष्ठले आफूकहाँ विद्यार्थी पोसाकको काम छिटपुट रूपमा मात्रै आउने गरेको सुनाए।  ‘प्रायः स्कुलले पोसाक किन्न रुपैडिहा पठाउँछन्, हामीकहाँ आउने भनेको त फाट्टफुट्ट काम मात्रै हो’, श्रेष्ठले भने। कुनै बेला आफूले करिब १२ वटा स्कुलका हजारौं विद्यार्थीलाई पोसाक पुर्‍याउने गरेकोमा अहिले सबैले लिन छाडेको उनले बताए। ‘अभिभावकले पोसाकको क्वालिटी हेर्दैनन्, नेपालगन्जको भन्दा थोरै सस्तो मूल्यमा दिएजस्तो गरेर अग्रवाल ड्रेसेसले अभिभावकलाई मूर्ख बनाइरहेको छ’, श्रेष्ठले भने, ‘अग्रवालले नेपालगन्जका स्कुललाई कमिसन दिइरहेको छ, हामी स्कुललाई कमिसन दिएर काम गर्न सक्दैनौं, किनकि हाम्रो लागत खर्च बढी आउँछ।’ 

बागेश्वरी युनिफर्मकी सञ्चालक माया ओलीले कतिपय स्कुलले आफूकहाँ अर्डर लिएर पनि पोसाक किन्न रुपैडिहा पठाउने गरेको दुखेसो पोखिन्। ‘स्कुलले अर्डर लिन्छ, विद्यार्थी तपाईंकहाँ पठाउँछु भन्छ, मुखका भरमा हामीले लाखौं रुपैयाँ लगानी गरेर सम्बन्धित स्कुलको पोसाक खरिद गर्छौं, हामीसँग स्कुल सञ्चालकले खुलेर कुरा पनि गर्न सक्दैनन्, त्यसपछि विद्यार्थी र अभिभावकलाई उनीहरू रुपैडिहा पठाउँछन्’, उनले भनिन्।

विद्यार्थी तथा अभिभावकलाई पोसाक किन्न रुपैडिहा पठाउनेमा नेपालगन्जका ठुला र नाम चलेका बोर्डिङ स्कुल धेरै छन्। अभिभावकलाई अग्रवालको भिजिटिङ कार्ड नै थमाएर मोर्डन पब्लिक, सोफिया, वेस्टजोन, होप इन्टरनेसनल एकेडेमी, ब्रिटिस, गोल्डेन एबिसी, सेन्थोमस, रेडहिल, होलिल्यान्ड लगायत स्कुलले रुपैडिहा पठाइरहेको विश्वस्त स्रोत बताउँछ।

प्रकाशित: १ आश्विन २०८३ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App