समाता स्कूलले आफ्नो शैक्षिक संस्थामा कुनै व्यापारी तथा कलाकारको संलग्नता नरहेको स्पष्टीकरण दिएको छ । विद्यालयबारे मेडिकल व्यवसायी दुर्गा प्रसाईले विभिन्न भ्रम सिर्जना गरेको आरोप लगाउँदै विद्यालयले स्पष्टीकरण दिएको हो ।
समता एजुकेशन ट्रष्टले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै कोही पनि कलाकार व्यवसायोको लगानी विद्यालयमा नरहेको जानकारी दिएको हो ।
‘केही समय अगाडिदेखि विभिन्न सञ्चार माध्यम तथा व्यक्तिहरुले समता शिक्षा निकेतन (समता स्कुल/समता एजुकेशन टष्ट नामक संस्था) समता फाउण्डेसन नामक संस्थाबाट सञ्चालन हुँदै आइरहेको र यसमा विभिन्न नाम चलेका प्रतिष्ठित व्यवसायी तथा कलाकरको समेत लगानी छ भन्ने भ्रामक सम्प्रेषण भैरहेको सन्दर्भमा समता शिक्षा निकेतन/समता स्कूल/समता एजुकेशन ट्रष्ट उक्त भ्रामक सूचनाको गहिरो खण्डन गर्दछ’,समता एजुकेशन टष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी समता स्कूल नितान्त व्यक्तिगत सहयोग जुटाएर सञ्चालन गरिरहेको पनि जनाएको छ । ‘तत्कालिन गोठाटार गाविस र हाल कागेश्वरी मनोहरा ९, काठमाडौं निवासी उत्तम कुमार संजेलले समता शिक्षा निकेतन/समता स्कूल एकल लगानीमा स्थापना गरेको संसथा हो । यी संस्था सञ्चालन गर्न उत्तमकुमार संजेलले समता एजुकेशन ट्रष्ट, बौद्ध, काठमाडौंमार्फत सञ्चालन हुँदै आइरहेको छ । यसबाहेक समता शब्दसँग जोडिएका, संस्थाका लगानी कर्ता/स्थापनाकर्तासँग उत्तम कुमार संजेलले स्थापना गरेको समता शिक्षा निकेतन/समता स्कुल/समता एजुकेशन ट्रष्ट, काठमाडौंको सम्बन्ध नभएको कुरा प्रष्ट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित: ९ आश्विन २०८२ १९:३९ बिहीबार





