२३ पुस २०८२ बुधबार
image/svg+xml
शिक्षा

राजनीतिक झगडाले फुटेको रुपाकोट विद्यालय एकै थलोमा, पठनपाठन सहज

जुम्लाको रुपाकोट आधारभूत विद्यालयमा विद्यालय एकीकृत गर्न बसेको अभिभावक भेला। तस्बिर: गोल्डेन/नागरिक

जुम्लाको एक विद्यालय गाउँको राजनीतिक प्रभावमा विवादित भएपछि दुई स्थानमा फुटाइयो र लामो समय पढाइ समेत प्रभावित बन्यो।

अब भने झण्डै दश वर्षपछि गाउँलेले राजनीतिक विषयलाई बिर्सँदै मिलेर एकै स्थानमा विद्यालय सुचारु गर्न थालेका छन्। जुम्लाको हिमा गाउँपालिका ५ रुपाकोट आधारभूत विद्यालय बाजागाडा गाउँमा नेपाली कांग्रेस र कम्युनिष्टबीच विसं २०७१/०७२ मा विद्यालयको विषयलाई लिएर विवाद भएपछि फरक फरक स्थानमा सुचारु गरिएको थियो।

अभिभावक विभाजित भएपछि बालबालिका पनि विभाजित भएर दुई स्कुलमा जान थालेका थिए। गाउँको झगडाले केही विद्यार्थीहरू रुपाकोट छोडेर छिमेकी गाउँको विद्यालयमा समेत पढ्न जान बाध्य भएका थिए।

विद्यालय फुटेपछि यहाँमा रहेका तीन जना दरबन्दीका शिक्षक, एक निजी र कार्यालय सहयोगी पनि बाँडिए। उनीहरूले लामो समय १०:०० देखि १:०० बजेसम्म एक स्कुल र १:०० देखि ४:०० बजेसम्म अर्को स्कुलमा काम गर्न थाले।

विद्यालयको समस्याका विषयमा विसं २०७१ मा स्थानीय सरकार आएपछि स्थानीय सरकार, स्थानीय प्रशासन, शिक्षा सम्बद्ध सरोकारवाला निकाय, राजनीतिक दलसँग पटक पटक छलफल भयो तर विद्यालयको विषयमा निष्कर्ष आएन। स्थानीय प्रशासनले विभिन्न समयमा अल्टिमेट दिँदै आएको थियो।

विसं २०७६ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे गाउँमै गएर एक बनाउन निर्देशन गरेका थिए। दुई भागमा विभाजित भएपछि विद्यालयका कोर्स पनि भ्याउन शिक्षकलाई समस्या भयो। विसं २०७६ साउन १० गते विद्यालयले प्रधानाध्यापक शान्तिकुमारी शाहीलाई जिम्मेवारी दियो।

प्रधानाध्यापक शाहीले विद्यालयलाई एक बनाउने कामलाई पहिलो प्राथमिकतामा राखिन्। उनले स्थानीय सरकार, प्रशासन, शिक्षा विकास तथा समन्वय इकाइ र सरोकारवाला निकायसँग निरन्तर समन्वय बढाइन्। पुरानो विद्यालय गाउँ नजिकै थियो भने नयाँ बनाएको चाखाडाँडामा थियो। चाखाडाँडामा भएको विद्यालय राजमार्ग नजिक भएकाले पछिल्ला भौतिक संरचना निर्माण गर्न सहज भयो।

प्रधानाध्यापक शान्ति शाहीले चाखाडाँडामा विद्यालय रहेको स्थानमा भौतिक संरचना अभाव भएका कारण एउटै कक्षाकोठा दुई कक्षामा बाँडेकी थिइन्। यो समस्या सल्टाउन भवन निर्माणका लागि नेपाल सरकालाई अनुरोध गरेपछि हाल भौतिक संरचना पनि पुगेको छ। प्रधानाध्यापक शाहीले विद्यालयको समस्या लिएर तत्कालीन शिक्षा मन्त्री देवेन्द्र पौडेलकहाँ पुगेपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ वटा पक्की भवन परेको बताइन्।

उनका अनुसार चारकोठे एक र अर्को चारकोठे आधुनिक दुईवटा पक्की भवन निर्माण भएपछि अभिभावकको सकारात्मक धारणा आउन थाल्यो। विद्यालय यति मात्र होइन घेरबार पनि गाउँपालिकाले गरिदिएको छ। शैक्षिक सामग्रीका लागि स्थानीय सरकार र गैरसरकारी निकायमा समन्वय गरेको विद्यालयले जानकारी दियो।

झण्डै आठ वर्ष दुई स्थानमा चलेको विद्यालय विसं २०७९ मा व्यवस्थापन समिति अध्यक्ष नरबहादुर रावतको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकमा प्रधानाध्यापक शान्ति शाहीले पहिलो प्रस्ताव विद्यालय एक बनाउने राखिन्। विद्यालय व्यवस्थापन समितिमा एकीकृत गर्न डाडाचाखामा एकीकृत रूपमा संचालन गर्ने निर्णय गर्यो। सो निर्णयपछि शिक्षक अर्को विद्यालय नगएपछि बल्ल विद्यार्थी एक ठाउँमा पढ्न आउन थाले तर अभिभावकका काटिएका मन नमिलेका कारण विद्यालयको कार्यक्रममा केही अभिभावक आउँदैनथे।

यस पटक भने दसैँको केही अगाडि अभिभावक भेलामा विद्यालय परिवार र सबै पक्षका गाउँले उपस्थित भएर विद्यालयको झगडा अन्त्य भएको छ। स्थानीय विकास रोकायाले गाउँका मानिसहरू मिलेर एकै स्थानमा खाजा खाइ कसम खाएर मेलमिलाप भएको जानकारी दिए। स्थानीय अलि रोकायाले अब विद्यालयमा झगडा अन्त्य भएको बताए। गाउँमा घनिभूत छलफल गरेर मनमुटाब अन्त्य भएकाले खुसी व्यक्त गरे।

यस पटक नयाँ व्यवस्थान समिति पनि चयन गरिएको छ। अभिभावकले चिट्ठा प्रणालीबाट सौरे रोकायाको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको हो।  

गाउँपालिकाको शैक्षिक हब बन्दै

रुपाकोट आधारभूत विद्यालय कुनै बैला दुई स्थानमा फुटेकाले कमजोर मानिने अहिले अब्बल हुँदै गएको छ। अहिले यो विद्यालय गाउँपालिकाको शैक्षिक हब हुन थालेको छ। गाउँपालिकाले यस विद्यालयमा गाउँपालिका स्तरीय शिक्षा सवालका कार्यक्रम निरन्तर गरिरहेको छ। सो विद्यालयमा साक्षरता हिमा गाउँपालिका घोषणा, बालविवाह मुक्त गाउँपालिका घोषणा, गाउँपालिका स्तरीय शैक्षिक मेला जस्ता कार्यक्रमसहित अन्य कार्यक्रम समेत यही विद्यालयमा भइरहेका छन्।

यता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले रुपाकोट आभारभूत विद्यालय गाउँपालिकाको स्थायी केन्द्र नजिकैको विद्यालय समेत भएकाले यो विद्यालय नमूना हुन सक्ने बताए।

प्रकाशित: २१ आश्विन २०८२ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App