२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:३४ पूर्वाह्न
शिक्षा

महानगरको छात्रवृत्तिले पारदर्शी बन्दै निजी विद्यालय

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालित प्रवेश परीक्षा नतिजा प्रकाशन गरी मनोनयन कार्य सुरु गरेको छ।

सरकारले विद्यालय तहको छात्रवृत्तिमा जेहेनदार र लक्षित वर्गको पहुँच पुर्‍याउने लक्ष्यसहित छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याए पनि निजी विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिमा विगतमा भनसुनकै आधारमा पाउने गरेको थियो।

साविकको उमावि र पछि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छात्रवृत्ति परीक्षा पनि सधैं उही जो पहुँचवाला छन् उनैका सन्तानले पाउने गरेको छात्रवृत्ति विगत तीन वर्षदेखि काठमाडौं महानगर लक्षित वर्गसम्म पुर्‍याउन सफल भएको छ। निजी विद्यालयहरूले उपलब्ध गराएको छात्रवृत्ति सूची नै बनाएर महानगर शिक्षा विभागमा उपलब्ध गराउने अनिवार्य व्यवस्थाले निजी विद्यालय पारदर्शी बन्दै गएका छन्।

देश संघीयतामा गएसँगै विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय सरकारमा गएसँगै काठमाडौं महानगरले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ।

निजी विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिमा लक्षित वर्गको पहुँच पुर्‍याउन महानगरले नै परीक्षा सञ्चालन गर्नेदेखि नतिजा प्रकाशन र छात्रवृत्तिका लागि स्कुलहरू मनोनयन गर्नेसम्मको जिम्मेवारी पूरा गरेको छ।

जसको परिणा हो, काठमाडौं महानागरले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिमा यसपटक पहिलो चरणमै ३३६१ विद्यार्थीले १४० निजी विद्यालयमा छात्रवृत्ति पाएका छन्।

साउन ३ गते महानगरले छात्रवृत्तिका लागि सञ्चालन गरेको परीक्षा नतिजा २४ घण्टा नपुग्दै सार्वजनिक गर्‍यो। त्यसलगत्तै साउन ६ गते स्कुल मनोनयनको पहिलो सूची सार्वजनिक गरेको छ। पहिलो चरणमा ३,३६१ विद्यार्थी छनोट भएका छन्।

मनोनीत विद्यार्थीले साउन ९ भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने महानगर शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जनाए।

‘परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन भएका परीक्षार्थीले साउन ९ सम्ममा भर्ना हुनुपर्छ’, शिक्षा विभाग प्रमुख ज्ञवालीले भने, ‘भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यताक्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि साउन १० पश्चात् सूचना प्रकाशन गर्ने तय गरिएको छ।’ उनले थपे, ‘एक महिनादेखि निरन्तर खटिएर चौबीस घन्टामै नतिजा प्रकाशन गर्न सक्यौं। महानगर विद्यार्थीप्रति उत्तरदायी छ भन्ने प्रमाण हो यो। समावेशीकरणलाई सुनिश्चित गर्ने छात्रवृत्ति प्रणालीलाई संविधानको मर्मअनुसार कार्यान्वयन गर्दै आएका छौं।’

यसपटकको परीक्षामा देशभरिका कक्षा १० पास भएका १७२२९ छात्रछात्राले फाराम भरेका थिए। तीमध्ये १६१३१ को फारम पुष्टि भयो। ५४ परीक्षा केन्द्रबाट परीक्षा भएकोमा १४१७३ परीक्षार्थी परीक्षामा सहभागी थिए।

तीमध्ये १०,८६७ जनाले न्यूनतम ४० प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण भएको महानगर प्रमुखका सचिवालयका शिक्षा सल्लाहकार सस्मित पोखरेलले बताए।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो। यसमा गणित, विज्ञान र अंग्रेजीबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल सय बहुवैकल्पिक प्रश्न समावेश थिए।

पोखरेलले नकारात्मक अंकको व्यवस्था हटाइएकाले पनि विद्यार्थीले निर्धक्क भएर परीक्षा दिएको बताए। ‘विज्ञान, व्यवस्थापन, मानविकी र कानुन तथा शिक्षा गरी महानगरको कुल कोटा ४५ सय हो, तर १०८६७ विद्यार्थी पास भएका छन्।

यस्तो अवस्थामा महानगरले विद्यार्थी छनोट मेरिट र कोटाका आधारमा गरेको हो’, शिक्षा सल्लाहकार पोखरेलले नागरिकसँग भने, ‘विद्यार्थीको मुख्य आकर्षण सेन्टजेभियर्स, काठमाडौं मोडेल, ट्रिनिटी, युनिग्लोब र ग्लोबल मावि देखिएको छ।

सबैको रुचि यिनै पाँच विद्यालयमा देखियो। यसले गर्दा छात्रवृत्तिमा मनोनयन भए पनि विद्यार्थीले रुचिको विद्यालय नपाएपछि छात्रवृत्ति छाड्नेहरू पनि उत्तिकै देखिए।’

उनले जोड दिए, ‘पहिलो र दोस्रो सूचीमा पनि छात्रवृत्ति कोटा नभरिए महानगरले अन्त्यमा र्‍यापअप गर्ने समयमा खाली रहेका सिटमा अन्य पास भएका मेरिटका विद्यार्थीलाई छात्रवृत्तिमा मनोनयन गर्दै जाने छ।’

‘तीन वर्षको अनुभवमा बर्सेनि विद्यार्थी सहभागिता बढ्दै गएको पोखरेलले बताए। उनले भने, ‘पहिलो वर्षमा चार हजार, दोस्रो वर्षमा ६ हजार र चालु शैक्षिक सत्रका लागि १७ हजार बढीले फाराम भरेका थिए।’

छात्रवृत्तिमा अध्ययन गर्न चाहने सबैभन्दा बढी विद्यार्थी आकर्षण विज्ञानमै देखियो। महानगरले उपलब्ध गराएको तथ्यांकअनुसार कुल छात्रवृत्ति कोटा चार हजार चार सय ९३ हो।

विज्ञानमा १९३१ कोटा कायम गरिएको छ। विज्ञानका लागि १० हजार २ सय ६१ ले आवेदन दिए, जसमध्ये ८७५० पास भएका छन्।

‘मेरिटका आधारमा पहिलो चरणमा १८८० मनोनयन भएको शिक्षा विभाग प्रमुख ज्ञवालीले बताए। ‘विज्ञानमा अवसर फराकिलो भएकाले होला धेरै आकर्षण देखियो। विद्यार्थी धेरै भए’, ‘प्रमुख ज्ञवालीले भने, ‘तर व्यवस्थापन, मानविकी, कानुन र शिक्षामा सिटभन्दा कम विद्यार्थीले परीक्षामा सहभागिता जनाएका छन्।’

यसकारण पनि छात्रवृत्तिका सिट कोटा खाली हुने देखियो तर महानगरले अन्त्यमा सबै कोटामा मेरिटकै आधारमा कोटा पूरा गराउने उनले दाबी गरे।

महानगरले १६० संस्थागत विद्यालयहरूमा ४४९३ छात्रवृत्ति कोटामा छात्रवृत्ति उपलब्ध गराउँदै आएको शिक्षा सल्लाहकार पोखरेलले बताए।

यी सिटमा ४० प्रतिशत सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, ५ प्रतिशत संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४ प्रतिशत काठमाडौं महानगरका स्थायी वासिन्दा र एक प्रतिशत ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ।

यसका अतिरिक्त महिला, दलित, मधेसी, जनजाति, आदिवासी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पछाडि पारिएका तथा सहिद र बेपत्ता पारिएकाका बालबालिकाका लागि सामुदायिक विद्यालयमा पढेका ४० प्रतिशत सिट कोटा निर्धारण गरिएको छ।

सरकारले विद्यालय तहको शिक्षाका लागि छात्रवृत्ति कार्यक्रममा बर्सेनि एक अर्ब ८३ करोड, प्राविधिक शिक्षाका लागि पाँच करोड गरी एक अर्ब ८८ करोड रकम छुट्ट्याउँदै आएको छ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये १५ लाख ५२ हजार एक सय ६८ जना विद्यार्थीले आवासीय, गैरआवासीय, दलित, छात्रा, अपांग, सीमान्तकृतबाट छात्रवृत्ति प्राप्त गर्दै आएका छन्।

प्रकाशित: ८ श्रावण २०८२ २२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App