नयाँ शैक्षिक सत्र सुरु भएपनि जुम्लाको पातारासी गाउँपालिकाका सामुदायिक विद्यालयहरू यतिबेला विद्यार्थीविहीन छन्।
कक्षाकोठामा बसेर किताब पढ्नुपर्ने उमेरका यहाँका विद्यार्थीहरू घर खर्च र आफ्नो पढाइ खर्च जुटाउन यार्सागुम्बा सङ्कलनका लागि हिमाली पाटनतर्फ लागेका हुन्।
पातारासी-३, चौरगाउँका डिल्ली रावत यसपटक एसइई दिएर बसेका हुन्। तर, उनी यतिबेला उनलाई नतिजाको चिन्ता भन्दापनि पाटन जाने हतारो छ। विगत तीन वर्षदेखि निरन्तर यार्सा टिप्न हिमाल चढ्दै आएका डिल्लीले सिजनमा करिब डेढ लाख रुपैयाँसम्म कमाउने गर्छन्।
‘यार्सा टिप्न जाँदा पढाइ त छुट्छ,’ उनले भने, ‘तर पढ्न चाहिने पैसा पनि त्यहीँबाटै आउँछ।’
यार्सागुम्बाबाट हुने आम्दानीले उनी कापी, कलम, पोसाक किन्ने र जाडोयाममा ट्युसन पढ्ने गर्छन्। डिल्ली मात्र होइन, पातारासीका १६ वटै सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी यतिबेला पाटन पुगिसकेका छन्।
विशेषगरी कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू वैशाखदेखि असारसम्म विद्यालयमा देखिँदैनन्। मालिका माध्यमिक विद्यालय लोड्चौरका प्रधानाध्यापक जगतबहादुर शाहीका अनुसार माथिल्लो कक्षाका विद्यार्थीहरू पाटन जाँदा दुई महिनासम्म विद्यालयमा पढाइ नै ठप्प हुने गरेको छ।
‘कक्षा १० का ५५ विद्यार्थीमध्ये गत वर्ष ५० जना पाटन गएका थिए,’ शाहीले भने, ‘विद्यार्थी नहुँदा शिक्षकहरू विद्यालय आएर हाजिर लगाउने र धुलो जमेका डेस्क-बेन्च हेरेर फर्कने मात्र काम हुन्छ।’
अभिभावकहरू नै स्वयं विद्यालय पुगेर छोराछोरीलाई यार्सा टिप्न लैजान बिदा माग्ने गरेको शिक्षकहरू बताउँछन्। घरको आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थीहरू पढाइभन्दा कमाइमा केन्द्रित हुनुपर्ने बाध्यता छ।
पातारासी गाउँपालिका शिक्षा शाखाका प्रमुख रामचन्द्र रेग्मीले स्थानीय सरकारसँग यसको ठोस विकल्प नभएको स्वीकार गरे। ‘हामी पढाइमा जोड दिन्छौँ, उनीहरू कमाइमा,’ उनले भने, ‘कमाइ नभए पढाइ चल्दैन भन्ने अवस्था छ।’
विद्यार्थीहरू यार्सा खोज्न जुम्लासँगै डोल्पा र मुगुका पाटनसम्म पुग्ने गरेका छन्। यता, छिमेकी जिल्ला डोल्पामा भने जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गर्ने निर्णय गरिएको छ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनका अनुसार सङ्कलनलाई व्यवस्थित बनाउन प्रवेश शुल्क र सुरक्षाको प्रबन्ध मिलाइएको छ।
हिमाली क्षेत्रमा यार्सागुम्बा केवल जडीबुटी मात्र नभई विद्यार्थीका लागि ‘शैक्षिक बैंक’ जस्तै बनेको छ। वैशाखमा हिमाल चढेका विद्यार्थीहरू असारमा मात्रै फर्किन्छन्, जसले गर्दा विद्यालयको वार्षिक पाठ्यक्रम पूरा गर्न र गुणस्तरीय शिक्षा कायम राख्न चुनौती हुने गरेको छ।
प्रकाशित: २४ वैशाख २०८३ १६:१५ बिहीबार





