नेपाल नमुना माध्यमिक विद्यालय ताराखोलाले बालबालिकालाई आचरण सिकाउने भएको छ। जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँमा रहेको विद्यालयले आगामी शैक्षिक शत्रदेखि बालबालिकालाई आचरण सिकाउनका लागि बिहान ६ देखि बेलुका ६ बजेसम्म विद्यालयमा राख्ने निर्णय गरेको हो।
पछिल्लो समय साना उमेरका बालबालिकाहरू मोबाइलको लतमा पर्ने र अन्य आनीबानी र व्यवहार पनि सामाजिक हुन नसकेको देखिएकाले यो कार्य गर्न लागिएको विद्यालयका प्रधानाध्यापक प्रकाश रोकाले बताए। ‘अहिले साना बालबालिकाहरू मोबाइलको लतमा फस्ने, पढाइमा ध्यान नदिने, सामाजिक आचरण र बानी व्यवहार पनि अनुसरण नगर्ने देखिएको छ,’ उनले भने, ‘त्यस कारण हामीले विद्यालयमै बालबालिकालाई राखेर आनीबानी र आचरण सिकाउने गरी आउँदो शैक्षिक शत्रबाट कार्यक्रम लागू गर्दैछौं।’
कक्षा १–५ मा अध्ययन गर्ने बालबालिकालाई बिहान ६ देखि साँझ ६ बजेसम्म विद्यालयमा राखेर बानी व्यवहार र आचरण सिकाउने उनले बताए। ‘अभिभावकले आफ्ना बालबालिकालाई बिहान ६ बजे विद्यालय ल्याएर छोड्नुहुन्छ, साँझ ६ बजे लिन आउनुहन्छ,’ उनले भने, ‘हामीले त्यो बीचमा विद्यार्थीलाई नियमित पठनपाठनसंगै सामाजिक आहार विहार र चालचलन पनि सिकाउँछौं। हरेक दिन दुई चरणमा बालबालिकालाई सामाजिक आनीबानी र व्यवहार आचरणका कुरा सिकाउँछौं।’
बालबालिकालाई रैथाने संस्कृति र सीपहरू समेत सिकाउनका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्री ‘दिवस’ले जानकारी दिए। ‘पुस्तान्तरण नहुँदा हाम्रो स्थानीय सीप र संस्कृतिक सबै लोप हुने अवस्थामा पुगेका छन्, त्यसका लागि बालबालिकालाई खेल्दै त्यसलाई अनुभव र अनुसरण गर्ने वातावरण सिर्जना नगरी यसको पुस्तान्तरण हुँदैन भन्ने हामीलाई लाग्यो,’ अध्यक्ष खत्री भन्छन्, ‘त्यस कारणले पनि हामीले साना बालबालिकालाई बढी फोकस गरेर यो कार्यक्रम अगाडि सारेका छौं।’
रैथाने सीपलाई बानी व्यवहारकै रूपमा सिकाउन सकिए जगेर्ना गर्न सकिने उनको विश्वास छ। २०२६ सालमा स्थापना भएको विद्यालयले नमुना विद्यालय अन्तर्गत २०७७ सालबाट पशु विज्ञान कार्यक्रम सञ्चालन गरिरहेको छ। ताराखोला गाउँपालिकामा अधिकांस नागरिक कृषि र पशुपालनका क्षेत्रमा लागेकाले स्थानीय समुदायसँगको छलफलको आधारमा पशुविज्ञान कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
विगतका वर्षहरूमा प्राविधिक धारतर्फ न्यून विद्यार्थीको सहभागिता भए पनि यस वर्षबाट झण्डै तीन गुणा वृद्धि भएको विद्यालयले जनाएको छ। ‘विद्यार्थी र अभिभावकलाई प्राविधिक शिक्षाको महत्व बुझाउँदै गएपछि अहिले हामीसंग कक्षा ९ मा पुशविज्ञान विषय अध्ययन गर्ने विद्यार्थी १८ जना पुगेका छन्, विगतका वर्षमा ६/७ जना मात्र हुन्थे,’ प्रअ रोकाले भने। पशु विज्ञापन अध्ययन गर्ने विद्यार्थीलाई अभ्यास गर्नका लागि पशु फार्म सञ्चालन गरेर भैँसी र बाख्रापालन गरेको छ।
विद्यालयमा विद्यार्थी आकर्षण गर्नका लागि स्वैच्छिक छात्राबास सञ्चालन गर्ने, विद्यालय बस सञ्चाल गर्ने योजना अगाडि सारेको छ। विगतमा कक्षा १० र ८ का विद्यार्थीका लागि मात्रै सञ्चालन गरिएको छात्राबास आउने शैक्षिक सत्रदेखि कक्षा ८ देखिमाथि सबैका लागि सञ्चालन गर्ने उनले जानकारी दिए। नमुना विद्यालयलाई थप व्यवस्थित बनाउनका लागि समुदायबाट दान सहयोग लिने उनले बताए।
अहिलेसम्म विद्यालयमा ७० लाखमाथिको अक्षयकोष र फाउण्डेसन स्थापना भएको विव्यस अध्यक्ष पदम खत्री बताउँछन्। २०७५ सालमा स्वर्ण महोत्सव मनाएपछि सुरु गरेको अभियानबाट उक्त कोष स्थापना भएकाले हिरक महोत्सवसम्म दुई करोडको कोष र फाउण्डेसन बनाउने बताए। विद्यालयको भौतिक निर्माणको काम लगभग सकिएकाले अब शैक्षिक विकासमा विद्यालय केन्द्रित हुने उनी बताउँछन्।
कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिका सामाजिक विकास शाखा प्रमुख एवं ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले ताराखोला गाउँपालिका भित्रको नमुना विद्यालयको रूपमा रहेको नेपाल माविलाई अझ नमुना बनाउनका लागि सबैले साझेदारी गर्नुपर्ने बताए। ‘बालबालिकालाई रैथाने सीप र आचरण सिकाउनका लागि विद्यालयले सुरुवात गर्न लागेको कार्य निकै महत्वपूर्ण छ,’ उनले भने, ‘हामी वडा र गाउँपालिकाको तर्फबाट पनि यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्नेछौं।’
प्रकाशित: २९ चैत्र २०८२ १२:३३ आइतबार





