१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

योग्यता हेरेर विषय छानौं

शिक्षा साेपान

राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि माध्यमिक शिक्षा परीक्षा एसइई नतिजा सार्वजनिक गरेको छ। विगतको तुलनामा यस वर्षको नतिजा उत्साहजनक देखिएको छ। उत्साहजनक यस मानेमा कि गत वर्षभन्दा यस पटक धेरै विद्यार्थी पास भएका छन्। परीक्षामा सहभागिता जनाएका चार लाख ३८ हजार आठ सय ९६ मध्ये दुई लाख ७१ हजार दुई सय ९९ जना पास भएका छन्। प्रतिशतमा जोड्दा ६१.८१ विद्यार्थी यस पटक कक्षा ११ मा कुनै न कुनै विषय पढ्न योग्य भएका छन्।

आफूले प्राप्त गरेको ग्रेडसिट लिएर अहिले विद्यार्थीहरू विभिन्न शैक्षिक संस्थामा कक्षा ११ मा भर्ना हुन दौडधुप गरिरहेका छन्। एउटै विद्यार्थीले दुईदेखि तीन वटा शैक्षिक संस्थामा कक्षा ११ का लागि फारम भरेको देखिन्छ। आफूले रोजेको शैक्षिक संस्थामा नाम निकाल्न प्रवेश परीक्षा दिने तयारीमा विद्यार्थीहरू भेटिए।

काठमाडौं, कालिमाटीकी रञ्जिता श्रेष्ठले दुई वटा शैक्षिक संस्थामा नाम निकालेर सिट बुक गरिन् तर मन पराएको शैक्षिक संस्थामा परीक्षा दिने तयारीमा छिन्। ‘मैले दुई वटा शैक्षिक संस्थामा प्रवेश परीक्षा दिएँ, दुवैमा नाम पनि निकालिसकें तर मन परेको शैक्षिक संस्थामा प्रवेश परीक्षा दिन बाँकी छ। त्यसैको तयारी गर्दै छु,’ रञ्जिताले नागरिकसँग भनिन्, ‘ए प्लस ल्याएकी छु। आमाले साइन्स पढ् भन्नु हुन्छ तर म व्यवस्थापनको कम्प्युटर साइन्स पढ्ने तयारीमा छु।’

उता वीरगञ्जकी गंगा गुप्ताले यस वर्षको एसइईमा ३.६ जिपिए ल्याएकी छन्। तर कक्षा ११ पढ्न उनले पनि काठमाडौंका तीन वटा शैक्षिक संस्थामा प्रवेश परीक्षा दिएकी छन्। हुन त उनका बुवाले भारतका राम्रा स्कूलमा भर्ना गर्न खोजे पनि उनी भने नेपाली बोर्डबाटै अध्ययन गर्न चाहेको सुनाइन्।

‘घरमा विज्ञानतिर जा भन्छन्, मलाई पनि विज्ञानमै रुचि छ तर गणित अप्ठ्यारो लाग्छ,’ उनले अन्योल व्यक्त गरिन्, ‘कुन विषय पढ्ने अझै स्पष्ट भएकी छैन। हेर्दैछु। साथीहरूको पनि सुझाव लिन बाँकी छ।’

युवा विद्यार्थीहरूमा विषय छनोटमा अझै पनि अन्योल देखिएको छ। यसकारण काव्या स्कुलकी शिक्षा तथा सञ्चालन निर्देशक मेधा भट्टराई प्राप्त गरेको नम्बरमा नभई आफूसँग भएको योग्यताका आधारमा विषय छनोट गर्नुपर्ने सुझाउँछिन्। ‘यस पटक धेरै विद्यार्थी एसइई परीक्षा उत्तीर्ण गरेका छन्। सरकारी विद्यालयको नतिजा त ५१ प्रतिशत नै पुगेको छ,’ निर्देशक मेधा सुझाउँछिन्, ‘धेरै विद्यार्थी यस पटक राम्रो अंकले पास पनि भएका छन् तर उनीहरू आफैंले सोच्नु पर्छ कि प्रश्न सहज हो या आफू योग्य छु।’

विद्यार्थीले आफूले प्राप्त गरेको नम्बरमा भन्दा पनि आफ्नो योग्यता, क्षमता र रुचिमा विश्वास गर्दै विषय छानेर पढ्नु पर्ने धारणा मेधाको छ। उनको भनाइ छ, ‘रुचि अनुसारको विषय अध्ययन गर्दा पछिको अध्ययन पनि सहज हुन्छ।’

काव्याले क्याम्ब्रिजको शिक्षण पद्धति अपनाएर माई सेकेन्ड टिचर माध्यमबाट शिक्षण सिकाइ गराइरहेको छ।

लहडमा नलागौं

काठमाडौंको चाबेलमा रहेको टेक्सस कलेजका बिजनेस डायरेक्टर नारायण पोखरेलका अनुसार पछिलो समय आफ्ना नानीका साथ अभिभावक पनि भर्नाका लागि सोधीखोजी गर्न थालेका छन्। यसले साथीभाइको लहडमा लागेर जथाभावी विषय छनोट गर्नबाट विद्यार्थीहरू जोगिएका छन्। ‘विगतमा साथीभाइका साथ हुलका हुल विद्यार्थी आउँथे। यस वर्षदेखि भने अभिभावकलाई साथ लिएर आउन थालेका छन्,’ निर्देशक पोखरेलले भने, ‘लहडमा विषय छनोट नगरी स्पष्ट भएर विषय छनोट गर्दा पछि पछुताउनु पर्दैन। यसकारण अभिभावकको सल्लाह सुझाव लिन आवश्यक छ।’

विद्यार्थीले आफूले प्राप्त गरेको विषयगत ग्रेडको आफैंले मूल्याङ्कन गरेर विषय छनोट गर्दा राम्रो हुने उनको सुझाव छ।

शैक्षिक स्तर हेरेर विषय छनोट गर्नु

साढे दुई दशक शिक्षण पेसामा बिताइसकेका काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रिन्सिपल हेरम्ब कँडेलले कक्षा १० को नतिजा नम्बर वा अक्षराङ्कन जुनसुकै प्रणालीमा प्रकाशित भए पनि विद्यार्थीले आफ्नो रुचि र शैक्षिक स्तर अनुसारको विषय छनोट गर्नुपर्ने सुझाउँछन्। उनले हाल एसइईको नतिजाले प्रत्येक विद्यार्थीको शैक्षिक स्तर छुट्याइदिएको जनाए। ‘विद्यार्थीमा विषयगत नम्बर ठूलो कुरा होइन,’ प्रिन्सिपल कँडेल भन्छन्, ‘विद्यार्थीले कुन विषयमा रुचि छ त्यसै अनुसारको मूल्याङ्कन गरी अभिभावक र आफ्ना शिक्षकसँग छलफल गरी कक्षा ११ मा विषय छनोट गर्दा भविष्यमा सफल भइन्छ।’

अध्ययन धार प्रष्ट हुनुपर्छ

नेपालमा हाल दुईधारे शिक्षा नीति सञ्चालित छ। एउटा प्राविधिक र अर्को साधारण। थोरै समय खर्चेर छिटै करिअर बनाउने वा जागिर चाहिने अवस्थामा विद्यार्थीले प्राविधिक धारको शिक्षा रोज्नुपर्ने स्वास्थ्य तथा विज्ञान प्रविधि म ञ्चका पूर्व अध्यक्ष नेत्रराज चटौत बताउँछन्। लामो समय प्राविधिक शिक्षामा बिताएका चटौत भन्छन्, ‘थोरै समय खर्चेर छिटो उद्यमी वा जागिरे बन्ने हो भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कोर्षहरू अध्ययन गर्दा विद्यार्थीलाई ठीक हुन्छ।’

विषयविज्ञता हासिल गर्ने हो भने साधारण तर्फका मेडिकल, इन्जिनियरिङ, फार्मेसिस्ट लगायतका लागि विज्ञान संकाय नै पढ्दा राम्रो हुने उनको सुझाव छ। ‘विद्यार्थीलाई भविष्यमा के बन्ने निश्चित छैन भने विज्ञान समूह पढ्दा हुन्छ,’ पूर्वअध्यक्ष चटौत भन्छन्, ‘किनभने विज्ञान संकायमा कक्षा ११/१२ पढेपछि स्नातक तहमा जुनसुकै संकायमा सहजै फिट हुन्छ।’

काठमाडौंको सिद्धार्थ वनस्थली माविका प्रिन्सिपल रूपक राजवंशीले अचेल इन्टरनेटको जमानाले विद्यार्थीलाई निकै स्मार्ट बनाइदिएकाले विद्यार्थीले विषय छनोट गर्दा भविष्यमा कुन क्षेत्रमा करिअर बनाउने पहिले निश्चित गरेर मात्र त्यही अनुसारको विषय छानिरहेको देख्छन्। उनले भने, ‘मुख्य रूपमा विश्व बजारमा बिक्ने र आफूले सक्ने विषय छनोट गर्नु करिअरका लागि सही हुन्छ।’

परीक्षा बोर्ड निश्चित गर्नुपर्छ

उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवाल विद्यार्थीले कक्षा ११ मा विषय छनोट गर्नुपूर्व नेपालमा सञ्चालित परीक्षा बोर्डहरूबारे सही तरिकाले बुझेर पहिले बोर्ड निश्चित गर्नुपर्ने सुझाउँछन्। उनका अनुसार, नेपालमा हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय परीक्षा बोर्डका कार्यक्रमहरू सञ्चालित छन्। ‘अहिले नेपालमा राष्ट्रिय परीक्षा बोर्ड आइबी, ए लेभल, सिबिएसई र सिटिइभिटी परीक्षा बोर्डका पाठ्यक्रमअनुसार पठनपाठन गराइने भएकाले विद्यार्थीले कुन बोर्डमा पढ्ने, त्यो निश्चित हुनुपर्छ,’ अध्यक्ष सिलवालले सुझाए, ‘त्यसपछि मात्र रुचि अनुसारको कक्षा ११ र १२ मा आफूले अध्ययन गर्ने विषय छनोट गर्नु उचित हुन्छ।’

‘ए प्लस आउनासाथ विज्ञान पढ्नै पर्छ भन्ने छैन,’ उनको जोड छ, ‘समय र बजारको मागअनुसार अध्ययन गर्नु पर्छ।’ हाल कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानून, शिक्षा, सूचना तथा प्रविधि (एआई) लगायत थुप्रै समयसान्दर्भिक विषयहरू पढाइ भइरहेकाले स्वदेशी बोर्डकै माटो सुहाउँदो विषय अध्ययन गर्नुपर्ने उनको सुभाव छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पछिलो समय शैक्षिक स्तरमा आएको सुधारले नतिजा राम्रो भएको बताउँदै ग्रेडले कक्षा ११ मा कुनै न कुनै विषयमा अध्ययनको बाटो खोलिदिएको जनाए। उनले शर्माले भने, ‘नेपाल र माटो सुहाउँदो राष्ट्रिय परीक्षा बोर्डकै विषय अध्ययन गर्दा विद्यार्थीलाई सहज हुन्छ।’

कस्तो विद्यालय छान्ने?

टेक्सस कलेजका निर्देशक नरायण पोखरेलले अबका विद्यार्थीले शैक्षिक संस्था छान्दा अभिभावकको आर्थिक हैसियतले भ्याउने र करिअर ओरिएन्टेड शैक्षिक संस्था छनोट गर्नुपर्ने सुझाए।

आदर्श वातावरण भएको शैक्षिक संस्था रोजौं

पेन्टागन कलेजका अध्यक्ष एसपी सिंहले विद्यार्थीले शैक्षिक संस्था छनोट गर्दा सेवा–सुविधासम्पन्न ल्याब, पुस्तकालय, कक्षाकोठा, फ्याकल्टीका साथै सर्वसुलभ शुल्क शैक्षिक संस्थामा आदर्श वातावरण रहे/नरहेको राम्ररी बुझेर मात्र छनोट गर्नुपर्ने सुझाव दिए।

‘विद्यार्थीले पहिले आफूले अध्ययन गर्ने परीक्षा बोर्ड निश्चित गरेपछि विषय निश्चित गर्नुपर्छ,’ अध्यक्ष सिंहले भने, ‘त्यस अनुसारको शैक्षिक संस्था छनोट गर्दा त्यस संस्थाले उत्पादन गरेको जनशक्तिको अवस्था र त्यसको इतिहासबारे अवश्य जानकार हुनुपर्छ।’

‘कक्षा ११ भनेको किशोरावस्था हो। निकै संवेदनशील उमेर पनि हो। यसकारण अभिभावकले आफ्ना सन्तानका लागि शैक्षिक संस्था छनोट गर्दा त्यस संस्थाको आदर्श वातावरणबारे जानकारी हुनैपर्छ।’

सन्तानलाई दबाब नदिऊँ

सरकारले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा बनाइसकेकाले कक्षा ११ मा प्रवेश परीक्षा व्यवस्था गर्न नमिल्ने शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइ छ। स्कुल शिक्षा अर्थात् एउटा तह पूरा गरी अर्को तहमा भर्ना हुन गरिने प्रवेश परीक्षा प्रावधानले विद्यार्थीमा पढाइप्रति नै नकारात्मक सोच विकास भएको उनी बताउँछन्।

‘अब अभिभावकले आफ्ना नानीलाई दबाब दिएर विषय पढाउने, डाक्टर र इन्जिनियरिङ मात्र पढ्न बाध्य पार्ने दिन गए,’ शिक्षाविद् कोइरालाले भने, ‘विद्यार्थीले आफूले प्राप्त गरेको ग्रेडसिट हेरेर उच्चतम ग्रेड ल्याएको विषय रोज्नु राम्रो हुन्छ। ‘विज्ञान, अंग्रेजी र गणितमा राम्रो ग्रेड ल्याउनेले विज्ञान रोज्नु ठीक हुन्छ। तर, गणित र विज्ञानमा राम्रो ग्रेड छैन भने पनि ग्रेडिङ प्रणालीले अन्य संकायमा समेत राम्रो अवसर उपलब्ध गराएको छ।’

छात्रवृत्तिबारे अवश्य बुझ्नुपर्छ

रिलायन्स इन्टरनेसनल एकेडमीका प्रधानाध्यापक रविन्द्रजंग थापाले विद्यार्थीले शैक्षिक संस्था छनोट गर्दा त्यहाँ उपलब्ध गराइने छात्रवृत्तिबारे अनिवार्य बुझ्नु पर्ने बताए। सरकारले आर्थिक वर्ष २०८१/८२ मा छात्रवृत्ति कार्यक्रमअन्तर्गत विद्यालय शिक्षामा १ अर्ब ८३ करोड, प्राविधिक शिक्षामा ५ करोड, उच्च शिक्षामा ३९ करोड ४६ लाख र चिकित्सा शिक्षातर्फ ५ अर्ब ११ करोड गरी जम्मा ७ अर्ब ३९ करोड रकम छात्रवृत्तिमा खर्च गर्दै आएको छ। चालु शैक्षिक सत्रका लागि पनि यही आकारको बजेट खर्चने छ। यसकारण विद्यार्थीले यसको भरपूर लाभ लिनुपर्ने उनको सुझाव छ।

‘हाल सरकार र स्थानीय सरकारले सीमान्तकृत, जेहेन्दार र विभिन्न समुदायका विद्यार्थीका लागि छात्रावृत्ति उपलब्ध गराउँदै आएको छ,’ प्रअ थापाले नागरिकसँग भने, ‘तर विद्यार्थीले बेवास्ता गरेका कारण ती छात्रवृत्तिहरू खेर गइरहेको अवस्था पनि छ।

यति मात्र होइन, शैक्षिक संस्थाहरूले पनि भौगोलिक क्षेत्र, जेहेन्दार, सीमान्तकृत, अतिरिक्त क्रियाकलापमा अब्बल, प्रदेश, जिल्ला र राष्ट्रिय स्तरमै ख्याति प्राप्त प्रतिभालाई पनि सम्मानस्वरूप आन्तरिक रूपमा छात्रवृत्ति दिँदै आएका छन्। यसकारण पनि विद्यार्थी र अभिभावक दुवै आफूले पाउने छात्रवृत्ति सुविधाबारे जानकार हुनुपर्छ।’  

प्रकाशित: ३० असार २०८२ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App