बेरोजगारी नेपालको मुख्य समस्या हो । यही समस्याले नेपाली युवा विदेश पलायनको दर पनि बढेको छ । यो राष्ट्रिय समस्या हो । जागिर नपाउने समस्या एकातिर छँदैछ तर, अर्को समस्या पनि सँगै दोहोरिएर आएको छ आवश्यक जनशक्ति नेपालमा नभेटिने । यही उदाहरण छ ताप्लेजुङको एक विद्यालयमा जहाँ जागिरका लागि सात पटक आवेदन खुलाउँदा पनि कसैको उम्मेद्वारी परेन । अहिले फेरि अर्को पटक आवेदन खुलाइएको छ ।
सातौं पटकको विज्ञापनमासमेत गणित शिक्षक नपाएपछि ताप्लेजुङको मैवाखोलास्थित पार्टीडाँडा मावि फाकुम्बाले आठौं पटक शिक्षक आवश्यकताको विज्ञापन गरेको छ ।
प्रधानाध्यापक गोपालप्रसाद ठाकुरका अनुसार सातौं पटकको विज्ञापनसम्म आफुले खुलाएको शिक्षक विज्ञापनमा कसैले दरखास्त नदिएपछि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार आठौं पटक शिक्षक आवश्यकताको विज्ञापन गरिएको हो ।
आठौं पटकको विज्ञापनको म्याद भदौ १३ गतेसम्म छ । प्रधानाध्यापक ठाकुरले आठौं पटकको विज्ञापन अनुसार एकजना उम्मेदवार सम्पर्कमा आएको जानकारी दिए । खुल्ला प्रतिश्पर्धाबाट शिक्षकको पदपूर्ति गरिने भएकोले आवश्यक शैक्षिक योग्यता भएका १९ वर्ष पुगेको तर ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने विद्यालयले जनाएको छ ।
माध्यमिक तह तृतीय श्रेणीको गणित शिक्षक पदपुर्तिका लागि विज्ञान विषयमा स्नातक उर्तीण वा सो सरहको शैक्षिक योग्यता भएको व्यक्ति खोजेको हो । विद्यालयले मावि संघीय अनुदानबाट तलवभत्ता खुवाउने छ ।
शिक्षक पदपूर्तिका लागि विद्यालयलाई गत असार ४ गते मैवाखोला गाउँपालिकाले स्वीकृति दिएको थियो । विद्यालयले असार ५ गते पहिलोपटक सूचना प्रकाशित गरेको थियो । प्रत्येक पटक ७ दिनको समय दिएर पार्टीडाँडाले शिक्षक विज्ञापन गर्दै आएको छ ।
प्रकाशित: ७ भाद्र २०८२ १५:५१ शनिबार





