७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरको शैक्षिक क्यालेन्डर: दुई दिन बिदा, बुक फ्रि फ्राइडे

काठमाडौं महानगरपालिकाले विद्यार्थीको शिक्षण–सिकाइलाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित सुरु गरेको ‘बुक फ्रि फ्राइडे’लाई दुई दिन बिदामा पनि निरन्तरता दिने भएको छ।

महानगर शिक्षा विभाग प्रमुख नवराज ढकालका अनुसार महानगर अहिले शैक्षिक क्यालेन्डर बनाउने तयारीमा जुटेको छ। ‘दुई दिन बिदाले बुक फ्रि फ्राइडेलाई कुनै असर पार्दैन,’ उनले भने, ‘महानगरले शैक्षिक क्यालेन्डरमा बुक फ्रि फ्राइडेलाई निरन्तरता दिएको छ।’ काठमाडौं महानगरले नेपालमै पहिलो पटक सुरु गरेको यस्तो लोकप्रिय कार्यक्रमको अन्य पालिकाहरूले समेत सिको गरेका छन्।

‘यसले बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याएको छ। त्यसैले निरन्तरता दिइएको हो,’ उनले भने, ‘यस्तो कार्यक्रम अब सरकारको नीति तथा कार्यक्रममा नै आउने प्रबलता मैले देखेको छु। किनभने महानगरका प्रमुख अहिले प्रधानमन्त्री हुनुहुन्छ र शिक्षाविज्ञ नै शिक्षामन्त्री हुनुहुन्छ।’

आइतबारको बिदालाई सिकाइसँग जोड्ने विषयमा समेत महानगरले काम गरिरहेको उनको भनाइ छ। दुई दिन बिदा भए पनि विद्यालय समय भने काठमाडौं महानगरको हकमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म अर्थात् ६ घण्टाकै हुने गरी क्यालेन्डर बनाइँदैछ।

‘विद्यार्थीलाई विद्यालय समय बढाउँदा निकै सास्ती हुन्छ। लामो समयसम्म विद्यालयमा बसाउँदा विद्यालय आउने वातावरण कमजोर हुन सक्छ,’ विभागीय प्रमुख ढकालले स्पष्ट पारे, ‘यस कारण विद्यालय समयमा कुनै फेरबदल हुँदैन। सरकारले दिएको बिदालाई महानगरले मानेर अगाडि बढ्छ।’

‘बुक फ्रि फ्राइडे’ भनेको महानगरका विद्यालयहरूले अपनाएको एक राम्रो अभ्यास हो। यसमा हप्ताको एक दिन शुक्रबार विद्यार्थीहरूले किताब वा झोला विद्यालयमा नल्याउने व्यवस्था गरिएको हुन्छ। यस दिन पाठ्यक्रममा आधारित परम्परागत पढाइलाई कम गरेर अन्य सिर्जनात्मक र व्यवहारिक गतिविधिमा ध्यान दिइन्छ।

‘बुक फ्रि फ्राइडेले बालबालिकालाई होमवर्क, टेस्ट र किताबको बोझबाट एक दिन आराम दिन्छ। चित्रकला, नाचगान, नाटकजस्ता गतिविधिले नयाँ प्रतिभा विकास भएको छ,’ उनले सकारात्मक सुधारबारे बताए, ‘रमाइलो वातावरणमा बालबालिकामा व्यवहारिक ज्ञान बढ्नुका साथै समूहमा काम गर्ने र नेतृत्व विकासमा समेत अभिवृद्धि भएको छ। शुक्रबार विद्यार्थी रमाएर विद्यालय आउँछन्।’

उता पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार तत्काल पाठ्यक्रम परिमार्जन गर्न लामो समय लाग्ने भएकाले हालको सरकारी निर्णयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे वैकल्पिक उपायको खोजी भइरहेको छ।

दुई दिन बिदा कार्यान्वयनका लागि पाठ्यक्रम विकास केन्द्रले वैकल्पिक उपायहरूको खोजी गरिरहेको र अवधारणापत्र लेखनको काम पनि भइरहेको उनले बताए।

‘आइतबारको सिकाइलाई परियोजना कार्यसँग जोड्नेबारे केन्द्रमा छलफल भइरहेको छ,’ उनले भने, ‘पाठ्यक्रम परिमार्जन गर्न लामो समय लाग्छ। त्यसैले साताको पाँच दिनभित्रै पाठ्यक्रमअनुसारको क्रेडिट आवर पूरा गर्ने खालको शिक्षण–सिकाइ कसरी गराउने भन्नेबारे छलफल भइरहेको छ।’

आउँदो शुक्रबार पाठ्यक्रम विकास परिषद्को बैठकमा यस विषयमा विस्तृत छलफल हुने र वैकल्पिक अवधारणाबारे थप जानकारी लिने काम हुने उनको भनाइ छ।

प्रकाशित: ९ वैशाख २०८३ १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App