१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
शिक्षा

कोहलपुरमा संस्थागत विद्यालयको छात्रवृत्तिमा वृद्धि

‘समान शिक्षा, सबैको पहुँच’ भन्ने नारालाई आत्मसात् गर्दै कोहलपुर नगरपालिकाभित्रका ४९ वटा संस्थागत विद्यालयहरूले चालु शैक्षिक सत्र २०८२ मा गरी करिब १९ दशमलव ३ प्रतिशत छात्रवृत्ति वितरण गरेका छन् । 

सरकारी मापदण्डअनुसार न्यूनतम छात्रवृत्तिको दर १० देखि १५ प्रतिशतको सीमाभित्र हुने प्रावधान रहे पनि कोहलपुरमा औसत दरभन्दा बढी छात्रवृत्ति वितरण भएको तथ्याङ्क सार्वजनिक भएपछि यसले विद्यार्थी मात्र होइन, अभिभावकहरूमा समेत आशा जगाएको छ ।

विद्यालयहरूबाट वितरण गरिएका छात्रवृत्ति कोठाभित्र सीमित नभई कक्षा कोठाभित्र आशयपूर्ण रूपमा पुग्न थालेको देखिन्छ । खास गरी दलित, जनजाति, अपाङ्गता भएका बालबालिका, एकल महिला तथा मजदुर वर्गका सन्तानहरूमा छात्रवृत्तिले थप राहत र प्रेरणा दिएको छ । छात्रवृत्ति नपाएको भए कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा राख्न कल्पना गर्न पनि सक्दैनथे । तर, अब ती बालबालिका पनि अन्य विद्यार्थी सरह समान अवसर र स्रोतसाधनका साथ पढ्न पाउने अवस्थाले सामाजिक समावेशी शिक्षाको दिशातर्फ नगर अगाडि बढिरहेको देखिन्छ ।

नगर शिक्षा शाखाले सार्वजनिक गरेको विवरणअनुसार कोहलपुर नगरभित्र सञ्चालित ४९ वटा विद्यालयमध्ये सबैले आआफ्नो संस्थागत क्षमता र जिम्मेवारी अनुसार छात्रवृत्ति वितरण गरेका छन् । यस्ता विद्यालयमा ‘ब्राइट एकेडेमी’, ‘गोल्डेन युनाइटेड स्कुल’, ‘जनजागृति हाईस्कुल’ देखि लिएर ‘मानवज्ञान स्कुल’, ‘कोहलपुर पब्लिक’, ‘अरोहा एकेडेमी’ लगायतका विद्यालयले दलित, जनजाति, बालबालिका, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरूलाई छात्रवृत्तिमा प्राथमिकता दिएका छन् ।

छात्रवृत्तिले विद्यार्थीको पढाइसँगै आत्मविश्वास र सम्मानमा समेत वृद्धि गरेको देखिन्छ । जब कुनै विद्यार्थीले पूर्ण वा आंशिक छात्रवृत्ति पाउँछ, तब त्यो विद्यार्थीमा आफूलाई समाजले साथ दिएको अनुभूति हुन्छ । विशेषतः अभिभावकको आर्थिक भार हलुका हुँदा विद्यार्थीका लागि विद्यालय आनन्दको थलो बन्न पुग्छ । विद्यालयले पोसाक, पुस्तक, भर्ना शुल्क, मासिक शुल्क जस्ता क्षेत्रमा छुट दिँदा शिक्षा केवल हैसियतवालाको मात्रै नभई सबैका लागि हो भन्ने अनुभूतिले विद्यार्थीलाई थप सशक्त बनाउने कार्य गरेको छ ।

शिक्षा तथा खेलकुद शाखा अधिकृत रबिलाल मिजारका अनुसार, विद्यालयहरूले मापदण्डअनुसार छात्रवृत्ति दिएका छन् भने कतिपयले त्यो भन्दा बढी वितरण गरी समावेशी शिक्षाको नमूना प्रस्तुत गरेका छन् । ‘यसपटक करिब १९ दशमलव ३ प्रतिशत छात्रवृत्ति वितरण भएको छ, जुन प्रशंसनीय मात्र नभई अभ्यासयोग्य पनि हो,’ मिजार भन्छन्, ‘विद्यालयको सामाजिक उत्तर दायित्वबोध र विद्यार्थीको आवश्यकतालाई प्राथमिकतामा राखेर काम भइरहेको छ ।’  

विद्यालयहरूले छात्रवृत्ति वितरण गर्दा केवल कागज भर्ने औपचारिकता मात्र नगरी त्यसको पहुँच सुनिश्चित गर्नेतर्फ पनि ध्यान दिएका छन् । कुनै छात्रवृत्ति वितरण गर्दा विद्यार्थीको वर्ग, आर्थिक अवस्था, परिवार पृष्ठभूमिलगायतका पक्षहरू मूल्याङ्कन गरी छनोट गरिएको छ । यसले छात्रवृत्ति वितरण प्रक्रियालाई निष्पक्ष, प्रभावकारी र पारदर्शी बनाएको छ । विद्यार्थी मात्र होइन, अब अभिभावकहरू समेत विद्यालयको यो भूमिका देखेर सन्तुष्ट छन् ।

यद्यपि सबै विद्यालयले समान रूपमै छात्रवृत्ति कार्यान्वयन गरिरहेका छन् भन्ने दाबी गर्न सकिन्न । अझै पनि केही विद्यालयहरूले विवरण पेस नगरेका वा न्यूनतम मापदण्डमा पनि नपुगेका देखिएका छन् । नगरपालिकाले यस्ता विद्यालयहरूलाई स्मरण पत्र पठाइसकेको छ र अब अनुगमन टोलीमार्फत निरीक्षण गरी आवश्यक निर्देशन तथा कारबाहीको प्रक्रिया अघि बढाइने जनाएको छ ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यले शिक्षा क्षेत्रमा संस्थागत विद्यालयहरूको जिम्मेवारीलाई सराहना गर्दै अझ पारदर्शी, प्रभावकारी र समावेशी छात्रवृत्ति वितरण प्रणालीको विकासमा जोड दिएका छन् । ‘छात्रवृत्ति वितरण अब लुकेर होइन, खुलेर र सही स्थानमा पुग्नुपर्छ,’ उनले भने, ‘यो कुनै दया होइन, सामाजिक न्यायको अभ्यास हो ।

प्रकाशित: १७ श्रावण २०८२ १७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App