४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

भक्तपुर नगरभित्र शिशु स्याहारदेखि विश्वविद्यालयसम्म!

शिशु स्याहारदेखि विश्वविद्यालयसम्मको यात्रामा रहेको भक्तपुर देशभरमै एउटै मात्रै नगरपालिका भएको दावी गरिएको छ । भक्तपुर नगरपालिकाको बुधबार भएको ७६ औं स्थापना दिवसका अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले यस्तो दावी गरेका हुन् ।

‘हाम्रो वडावडामा नगरपालिकाको आफनै शिशु स्याहार केन्द्रहरु सञ्चालनमा छन्, उनले भने, ‘आठ वटा कलेजहरु छन्, विश्वविद्यालय सञ्चालनका लागि माग गर्दै गरेको पनि दसक नाघ्यो ।’ सरकारले विश्वविद्यालय सञ्चालनको अनुमति दिए जुनसुकै बेलादेखि विश्वविद्यालय सञ्चालन गर्नसक्ने पूर्वाधार रहेको उनले दावी गरे । ख्वप विश्वविद्यालयको मागसहित दसक अघिदेखि आफूहरु आन्दोलनरत रहेको उनले सम्झे ।

हाल नगरपालिका अन्तर्गत ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिंग कलेज, ख्वप कलेज अफ इन्जिनियरिंग, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ ल, शारदा क्याम्पस मावि र शारदा क्याम्पस गरी आठ वटा कलेजहरु सञ्चालित छन् । यी कलेजहरुमा देशभरकै दसौं हजार विद्यार्थीहरु अध्ययनरत छन् ।    

२०५४ सालमा प्रेम सुवाल नगर प्रमुखमा निर्वाचित भएपछि पहिलो पटक ‘शिक्षालाई जोड दिने’ त्यतिबेलाको निर्वाचन घोषणापत्रमा उल्लेख भएको र त्यही अनुसार  २०५६ सालमा ख्वप मावि स्थापनासँगै हालसम्म विश्वविद्यालयसम्म पुग्ने क्रममा पुगेको उनले सम्झे । २०५८ साल माघ २१ गते भक्तपुरका बुद्धिजिबीहरुको एक बृहत भेलामा बीचमा कुनै बाधा व्यवधान आएन भने भक्तपुर पहिलो साक्षार जिल्ला, प्रत्येक घरमा एक स्नातक भएको, पारदर्शी, भ्रष्टाचारमुक्त, स्मारक संरक्षित, कला संस्कृति जोगिएको र आफ्नो पहिचान भएको जिल्ला बनाउन सकिने’ उल्लेख भएको र त्यही अनुसार नगरपालिका अगाडि वढिरहेको उनले जनाए । एक घर एक स्नातकको सपनालाई साकार पार्न नगरपालिका निरन्तर अगाडि बढिरहेको र त्यही अनुसार २०५८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्वधन लिएर ख्वप कलेज र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बधन लिएर ख्वप इन्जिनियरिङ कलेजका कक्षाहरु शुरु भएको उनले स्मरण गरे । ‘कुनै पनि शैक्षिक संस्थाहरुको स्वीकृति र संचालन सहज थिएन, ख्वप मावि स्थानीय तहहरुले सञ्चालन गरेको एक मात्र मावि हो, उनले भने, त्यो कार्यकालमा अन्य कार्यको अतिरिक्त उच्च शिक्षा प्रदान गर्ने महत्वपूर्ण शैक्षिक संस्थाहरु स्थापना भए ।

भक्तपुर संसारकै आकर्षक नगर, बिहान प्राचीन शहर जस्तो, दिउँसो विश्वविद्यालय जस्तो र राति सुन्दर आधुनिक सुन्दरी जस्तो देखिने अवको उद्देश्य रहेको उल्लेख उनले गरे । त्यसको लागि सय वर्षपछिको भक्तपुर भन्ने मार्गचित्र अनुसार आफूहरु अगाडि बढिरहेको उनको भनाई छ ।

२००६ सालमा भक्तपुर म्युनिसिपालिटीको रुपमा स्थापना भएको भक्तपुर नगरपालिका २००७ सालमा नगर पंचायत, २०१० सालमा नगरपालिका, २०१९ सालमा नगर पंचायत, २०४५ सालमा नगर पंचायत समिति हुँदै २०४७ साल जेठ ३० गतेदेखि हालसम्म नगरपालिकाको नाउँमा संचालित छ । यस नगरपालिमामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले २०१९ सालमा नगर पचायतको सदस्य निर्वाचित भएर सेवा गर्न थालेका थिए । त्यसबेलादेखि नै देशभरका ३६ वटा नगर पञ्चायतहरुमध्ये भक्तपुर नगर पञ्चायतले पृथक रुपमा काम सुरु गरको कार्यक्रममा जनाइयो । देशभर कक्षा ५ सम्म सरकारले निःशुल्क गरेको बेला भक्तपुर नगर पञ्चायतभित्र कक्षा ७ सम्म निःशुल्कको व्यवस्था गरिएको वक्ताहरुले बताए ।  

प्रकाशित: २ पुस २०८२ १९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App