८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
शिक्षा

प्राविधिक शिक्षा रोजगारीको सुनिश्चितता

एआई तस्बिर

माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्पन्न भएसँगै विद्यार्थी र अभिभावकको ध्यान अब कक्षा ११ मा कुन विषय र कुन बोर्डको शिक्षाको छनोटतर्फ केन्द्रित हुन थालेको छ। केही वर्षअघिसम्म कक्षा ११/१२ मा विज्ञान, व्यवस्थापन वा मानविकी पढ्ने परम्परागत धारलाई प्राथमिकता दिने चलन भए पनि अहिले परिस्थिति बदलिँदै गएको छ। पछिल्ला वर्षहरूमा नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको देखिएको छ।

पहिले ‘डाक्टर’, ‘इन्जिनियर’ वा सरकारी जागिरलाई मात्र सफलताको मापदण्ड मान्ने गरिन्थ्यो भने अहिलेको पुस्ताले ‘डिग्रीभन्दा सिप’ लाई बढी महत्वव दिन थालेको शिक्षाविद्हरू बताउँछन्। रोजगारीको बदलिँदो बजार, बेरोजगारीको चुनौती, विदेश पलायन, उद्योग–व्यवसायमा दक्ष जनशक्तिको अभाव र स्वरोजगारको सम्भावनाले विद्यार्थीलाई व्यावहारिक तथा सीपमूलक शिक्षातर्फ आकर्षित गरेको हो।

विशेषगरी कम्प्युटर इन्जिनियरिङ, सिभिल, इलेक्ट्रिकल, अटोमोबाइल, कृषि, पशु विज्ञान, होटल व्यवस्थापन, फार्मेसी, नर्सिङ, सूचना प्रविधि, ल्याब टेक्नोलोजीलगायत विषयमा विद्यार्थीको आकर्षण बढ्दो छ। प्राविधिक धार सञ्चालन गर्ने विद्यालय तथा कलेजहरूका अनुसार हरेक वर्ष आवेदन संख्या बढिरहेको छ।

प्राविधिक शिक्षामैत्री नीति

नेपालमा प्राविधिक शिक्षाको प्रमुख निकाय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी) ले पनि पछिल्लो समय विद्यार्थीमैत्री नीति अघि सार्न थालेको छ। परिषद्ले आगामी शैक्षिक सत्र २०८३ का लागि ‘प्रवेश प्रक्रिया, भर्ना तथा रजिस्ट्रेसनसम्बन्धी कार्य सञ्चालन मार्गदर्शन– २०८३’ जारी गर्दै प्राविधिक शिक्षामा भर्ना प्रक्रिया सहज बनाएको छ।

यसअघि एसइई नतिजा आएको लामो समयपछि मात्र प्राविधिक शिक्षाको भर्ना खुल्ने, विद्यार्थीले विभिन्न कार्यालय धाउनुपर्ने र प्रक्रिया झन्झटिलो हुने गुनासो थियो। तर नयाँ मार्गदर्शनले सम्बन्धित शिक्षालयलाई नै प्रवेश प्रक्रिया, भर्ना र विद्यार्थी छनोटको अधिकार दिएको छ।

परिषद्का उपाध्यक्ष मोहम्मद साफीउल्लाहका अनुसार अब एसइई नतिजा प्रकाशित भएको भोलिपल्टदेखि नै शिक्षालयहरूले भर्नासम्बन्धी सूचना प्रकाशित गर्न सक्नेछन्। शिक्षालय प्रमुखको अध्यक्षतामा तीन सदस्यीय कार्यटोली गठन गरी जिपएका आधारमा विद्यार्थी छनोट, भर्ना तथा छात्रवृत्ति वितरण गर्न सकिने व्यवस्था गरिएको छ।

उनका अनुसार विगतमा विद्यार्थीले अन्य शैक्षिक संस्थामा भर्ना भइसकेपछि मात्र प्राविधिक शिक्षातर्फ आउने प्रवृत्ति थियो। ‘अब त्यो अवस्था अन्त्य हुनेछ,’ उनले बताएका छन्।

नयाँ व्यवस्थाअनुसार सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा जुनसुकै धार अध्ययन गरेका विद्यार्थीले परिषद्अन्तर्गतका प्राविधिक विषयमा भर्ना हुन सक्नेछन्। यसले विद्यार्थीलाई विषय छनोटमा थप सहजता दिएको छ।

त्यसैगरी तीन वर्षे डिप्लोमा तह उत्तीर्ण विद्यार्थीलाई विश्वविद्यालय तहमा स्नातक सरहको समकक्षता दिने व्यवस्था पनि गरिएको छ। यसले प्राविधिक शिक्षा पढेका विद्यार्थीलाई भविष्यमा मेडिकल, इन्जिनियरिङ वा अन्य उच्च अध्ययनमा जान बाटो खुला गरेको उपाध्यक्ष साफीउल्लाह बताउँछन्।

हाल नेपालभर परिषद्अन्तर्गत ६७ आंगिक शिक्षालय, सामुदायिक विद्यालयमा सञ्चालित ‘टेक’ कार्यक्रमअन्तर्गत ८६० शिक्षालय र ४५० सम्बन्धन प्राप्त संस्थासहित कुल एक हजार तीन सय ७७ शिक्षालय सञ्चालनमा छन्। स्वास्थ्य तथा प्राविधिक धारमा गरी करिब ७५ हजार सिट कोटा निर्धारण भए पनि विगतमा भर्ना प्रक्रिया लामो हुँदा आधा सिट पनि भरिन कठिन हुने अवस्था रहेको सरोकारवालाको भनाइ छ।

स्वास्थ्य तथा प्राविधिक शिक्षा मञ्चका महासचिव निर्मल सापकोटाका अनुसार नयाँ मार्गदर्शनले विद्यार्थीलाई केन्द्रमा राखेर प्रक्रिया सरल बनाएको छ। ‘एसइईको ग्रेडका आधारमा विद्यार्थीले आफूले चाहेको विषय र शिक्षालय रोज्न पाउने अवस्था बनेको छ’, सापकोटाले भने।

मार्गदर्शनले डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमका लागि न्यूनतम २.० जिपिए र अन्य डिप्लोमा कार्यक्रमका लागि न्यूनतम १.६ जिपिएको मापदण्ड तय गरेको छ। प्रि–डिप्लोमा तहमा भने एसइई वा सोसरहको परी क्षामा सहभागी भएका आधारमा योग्यताक्रम निर्धारण गरिने व्यवस्था गरिएको छ।

रोजगारीसँगको प्रत्यक्ष सम्बन्ध

प्राविधिक शिक्षाप्रति आकर्षण बढ्नुको अर्को मुख्य कारण रोजगारसँगको प्रत्यक्ष सम्बन्ध हो। आजको रोजगार बजारले केवल प्रमाणपत्र होइन, काम गर्न सक्ने दक्ष जनशक्ति खोजिरहेको छ।

सिभिल इन्जिनियरिङ पढेका विद्यार्थी निर्माण क्षेत्रमा सुपरभाइजर वा सबइन्जिनियर बन्न सक्छन्। इलेक्ट्रिकल पढेकाले वायरिङ तथा मर्मतको काम गर्न सक्छ। कृषि र पशु विज्ञान पढेका विद्यार्थी आधुनिक खेती, कृषि उद्यम वा पशुपालन व्यवसाय गर्न सक्छन्। सूचना प्रविधि पढेकाले कम्प्युटर, नेटवर्किङ, ग्राफिक डिजाइन, सफ्टवेयर तथा डिजिटल सेवामा अवसर पाउन सक्छन्।

यसरी प्राविधिक शिक्षा पढेका विद्यार्थी जागिर खोज्ने मात्र होइन, स्वरोजगार सिर्जना गर्ने अवस्थामा समेत पुग्न सक्छन्।

नेपालमा सडक, पुल, जलविद्युत्, भवन निर्माण, पर्यटन, स्वास्थ्य सेवा, सूचना प्रविधि र कृषि आधुनिकीकरणका क्षेत्रमा विस्तार भइरहे पनि दक्ष जनशक्ति अभाव कायमै छ। स्थानीय तहदेखि निजी क्षेत्रसम्म कृषि प्राविधिक, स्वास्थ्य सहायक, इलेक्ट्रिसियन, मेकानिक, कम्प्युटर अपरेटर, सब–इन्जिनियर जस्ता जनशक्तिको माग बढिरहेको छ। यसले नेपालमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अवसर प्रशस्त रहेको देखाउँछ।

वैदेशिक रोजगारीमा समेत प्राविधिक शिक्षाको महत्वव बढेको छ। अदक्ष श्रमिकका रूपमा विदेश जाने नेपाली युवाले कम पारिश्रमिक र असुरक्षित काम गर्नुपर्ने अवस्था रहँदै आएको छ। तर वेल्डर, इलेक्ट्रिसियन, प्लम्बर, केयरगिभर, होटल स्टाफ, अटोमोबाइल टेक्निसियन, नर्स वा आइटी सहायकजस्ता सिप भएका जनशक्तिले विदेशमा राम्रो अवसर पाउने गरेका छन्।

यसैले वैदेशिक रोजगारीमा जान चाहने युवाका लागि पनि प्राविधिक शिक्षा महत्ववपूर्ण तयारीका रूपमा हेरिएको छ।

प्राविधिक शिक्षाप्रति आकर्षण बढेसँगै छात्रवृत्ति व्यवस्थालाई पनि थप व्यवस्थित बनाइएको छ। नयाँ मार्गदर्शनअनुसार शिक्षालयहरूले आफ्नो कोटा क्षमताअनुसार विशेष छात्रवृत्ति, वर्गीकृत छात्रवृत्ति र जेहेनदार छात्रवृत्ति उपलब्ध गराउनुपर्ने छ।

२० सिट स्वीकृत भएका कार्यक्रमले कम्तीमा दुई विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै ३०, ४० र ४५ सिटका कार्यक्रम सञ्चालन गर्ने शिक्षालयले थप छात्रवृत्ति कोटा छुट्याउनुपर्ने छ।

आत्मनिर्भर बन्ने सोच

शिक्षाविद्हरूका अनुसार अहिलेको पुस्ताले छोटो अवधिमै सिप हासिल गरेर आत्मनिर्भर बन्ने सोच विकास गरिरहेको छ। चार–पाँच वर्ष लामो सैद्धान्तिक अध्ययनपछि बेरोजगार बस्नुभन्दा व्यवहारिक सीप सिकेर आयआर्जन गर्न सकिने भएकाले विद्यार्थीको झुकाव प्राविधिक शिक्षातर्फ बढेको हो।

अभिभावकको सोचमा पनि परिवर्तन आउन थालेको छ। पहिले प्राविधिक शिक्षा कमजोर विद्यार्थीको विकल्प हो भन्ने बुझाइ रहे पनि अहिले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीसमेत डिप्लोमा तथा प्राविधिक धार रोज्न थालेका छन्।

यद्यपि चुनौती भने अझै छन्। धेरै शिक्षालयमा आधुनिक प्रयोगशाला, दक्ष प्रशिक्षक, उपकरण तथा उद्योगसँगको समन्वय अभाव रहेको गुनासो छ। ग्रामीण क्षेत्रका विद्यार्थीले अझै गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुँच पाउन सकेका छैनन्।

विशेषज्ञहरूका अनुसार सरकारले उद्योग र श्रम बजारसँग जोडेर पाठ्यक्रम विकास गर्नु, आधुनिक उपकरणसहितका शिक्षालय विस्तार गर्नु, प्रशिक्षक उत्पादनमा लगानी गर्नु र अध्ययनपछि रोजगारसँग जोड्ने प्रणाली बलियो बनाउन आवश्यक छ।

निजी शिक्षण संस्थाले पनि केवल भर्नामुखी सोचभन्दा बाहिर निस्केर विद्यार्थीको भविष्य निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता छ। मेरिट स्कलरसिप, सहुलियत शुल्क, इन्टर्नसिप, उद्योग साझेदारी, करिअर काउन्सेलिङ र प्लेसमेन्ट कार्यक्रम प्रभावकारी बनाउन सके प्राविधिक शिक्षाप्रति आकर्षण अझ बढ्ने विश्वास गरिएको छ। आजको समय केवल डिग्रीको होइन, दक्षता र रोजगारयोग्य क्षमताको समय हो। यही कारण एसइईपछि प्राविधिक शिक्षा रोज्ने विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ।

अब प्रश्न ‘के पढ्ने?’ भन्ने होइन, ‘के सिकेर भविष्य बनाउने?’ भन्ने बनेको छ। त्यसको व्यावहारिक उत्तर धेरै विद्यार्थीका लागि अहिले प्राविधिक शिक्षा बन्न थालेको छ।

प्रकाशित: ८ जेष्ठ २०८३ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App