२१ चैत्र २०८२ शनिबार
image/svg+xml
शिक्षा

अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षण सुरु

एसइई परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने निर्णय कार्यान्वयनमा ल्याउन देशभरिका एक हजार नौ सय ६१ परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु भएको छ। यस वर्षको एसइई बिहीबारदेखि सुरु भएको छ। पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा भएको छ।

काठमाडौं डिल्लीबजारस्थित पद्यमकन्या विद्याश्रम माध्यमिक परीक्षा केन्द्रमा अंग्रेजी विषयको परीक्षा सकिएको दुई घण्टाभित्रै उत्तरपुस्तिका परीक्षा गर्न थालिएको केन्द्राध्यक्ष रीता तिवारीले बताइन्। यहाँ आठ वटा विद्यालयका तीन सय पाँचजना परीक्षार्थीको परीक्षा केन्द्र तोकिएको छ। पहिलो दिनको परीक्षामा यो केन्द्रमा तीन जना परीक्षार्थी अनुपस्थित रहे। ‘अनिवार्य अंग्रेजी विषयको परीक्षा आठ विद्यालयका तीन सय दुई जना सहभागी भए। तीन घण्टाको परीक्षा बिहान ११ बजे सकिएपछि उत्तरपुस्तिकालाई लाहछाप लगाएर प्रहरीको रोहबरमा केन्द्रमै राखियो’, केन्द्राध्यक्ष तिवारीले भनिन्, ‘परीक्षा सकिएको दुई घन्टामै अर्थात् १ बजेदेखि हाम्रो केन्द्रमा उत्तरपुस्तिका परीक्षण कार्य सुरु भयो। सिसिटिभी क्यामेराको निगरानीमा उत्तरकुन्जिकाको आधारमा परीक्षकहरुले उत्तरपुस्तिका परीक्षण गरिरहनु भएको छ।’

उनका अनुसार उत्तरपुस्तिका परीक्षणमा रोस्टरअनुसार दुई परीक्षकले तीन दिनभित्र परीक्षणको काम सक्ने छन् र त्यसपछि सम्परीक्षको काम हुने छ। उनले भनिन्, ‘परीक्षण र सम्परीक्षण गरिएका उत्तरपुस्तिका जिल्ला शिक्षा तथा समन्वय एकाइमा पठाउँछौं।’

चाहेमा कुनै पनि काम सहज रुपमा गर्न सकिने गतिलो उदाहरण एसइई उत्तरपुस्तिका परीक्षणलाई लिन सकिने केन्द्राध्यक्ष तिवारीले बताइन्। ‘अहिले राज्यले देशभरिका एक हजार नौ सय ६६ परीक्षा केन्द्रलाई नै उत्तरपुस्तिका परीक्षण केन्द्र कायम गरी शिक्षक र केन्द्राध्यलाई जावफदेही बनाउन खोजेको स्पष्ट छ,’ तिवारीले भनिन्, ‘अब एसइई विद्यालय तहका अन्य कक्षाका परीक्षा जस्तै बन्यो, हाउगुजी बनेन्। त्यही भएर आज हाम्रो केन्द्रमा अनुगमनमा पनि कोही आउनुभएन।’

उनका अनुसा विगतमा भन्दा निकै शान्त र मर्यादित रुपमा पहिलो दिनको परीक्षा सम्पन्न भएको छ।

यसैगरी काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन परीक्षा केन्द्रबाट पनि सात वटा विद्यालयका तीन सय सात जना विद्यार्थीले अंग्रेजीको परीक्षा दिए। केन्द्राध्यक्ष हेरम्बराज कँडेलका अनुसार प्रहरी र सिसिटिभी क्यामेराको निगरानीमा रोस्टरमा परेका तीन परीक्षकले उत्तरपुस्तिका परीक्षण थालेका छन्। ‘प्रत्येक दिन हुने परीक्षाको उत्तरपुस्तिका परीक्षण सोही दिनबाट थालिन्छ। सरकारले सुम्पेको जिम्मेवारी हामी बहन गर्छौं’, कँडेलले भने, ‘१९९० सालदेखि सुरु भएको एसएलसी परीक्षालाई अहिले एसइई भन्न थालिएको छ। विगतमा परीक्षा सकिएपछि केन्द्राध्यक्षले उत्तरपुस्तिकामा लाहछाप लगाएर प्रहरी चौकीमा बुझाउने चलनको अहिले अन्त भएको छ।’

उनका अनुसार परीक्षा सकिएलगत्तै केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्ने व्यवस्था भएपछि नतिजा एक महिनाभित्रै प्रकाशन गर्न सहज हुन्छ। विगतमा नतिजाका लागि परीक्षार्थीले तीन महिनासम्म कुर्नुपथ्र्यो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट एसइईको परीक्षा सकिएको एक मिहनाभित्र नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि राष्ट्रिय परीक्षा बोर्डले पनि सोहीअनुसारको मार्गचित्र बनाएर पास गरेको छ।

‘एसइईको नतिजा एक महिनाभित्र प्रकाशन भएपछि कक्षा ११ को भर्ना र परीक्षा पनि समयमै हुन्छ। यो क्रम कक्षा १२ मा पनि चल्छ,’ पद्यमकन्या मावि केन्द्रकी केन्द्राध्यक्ष तिवारीले भनिन्, ‘यसले विश्वविद्यालयको शिक्षा पनि समयमै पूरा हुने देखिन्छ। अब विद्यार्थीको शैक्षिक सत्र खेर जाँदैन।’

एसइईको परीक्ष सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने निर्णय कार्यान्वयन गर्न देशभरिका एक हजार नौ सय ६६ परीक्षा केन्द्रहरुमा दैनिक परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण थालिएको काठमाडौं जिल्ला शिक्षा तथा समवन्य एकाइ प्रमुख सेमन्तराज आचार्यले बताए। ‘काठमाडौं जिल्लाका १३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार विद्यार्थीले एसइई दिइरहेका छन्। सुन्धारा कारागारबाहेक १३४ परीक्षा केन्द्रलाई नै उत्तरपुस्तिका परीक्षण केन्द्र कायम गरिएको छ, आचार्यले भने, ‘दुई केन्द्रमा परीक्षक नपुगेकाले छिमेकी केन्द्रबाट सहयोग लिएर उत्तरपुस्तिका परीक्षण गराउन निर्देशन दिइएको छ।’

उनका अनुसार सीमित स्रोतसाधान र जनशक्तिमा समेत उत्तरपुस्तिका परीक्षण भइरहेको छ। उनले भने, ‘एकाइले परीक्षण गरिएका उत्तरपुस्तिका पाँच दिनभित्र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रमा पठाउनुपर्ने कार्यविधि छ।’

दुई वर्ष एसइईका उत्तरपुस्तिका परीक्षण गरेकालाई परीक्षकको रोस्टरमा राख्ने कार्यविधि छ।

एसइई परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार बिहीबारको परीक्षा सबै केन्द्रमा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको छ। ‘पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका परीक्षण पनि सुरु भएको जनाकारी प्राप्त भएको छ,’ उनले भने। यस पटक पाँच लाख १२ हजार नौ सय ६१ परीक्षार्थी छन्।

प्रकाशित: २० चैत्र २०८२ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App