विभिन्न विश्वविद्यालयमा कार्यवाहक उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया गरिएको छ।
विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको अन्तरक्रियामा विश्वविद्यालयका कामकाज प्रभावित हुन नदिन तथा अध्ययन–अध्यापनलाई निरन्तरता दिन पदाधिकारीहरूबाट योजना प्रस्तुत गरिएको छ।
मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिएका छन्।
सरकार गठन भएसँगै विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडी बढेको छ। उपकुलपति नियुक्तिका लागि आठ वटा विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भई छनोट प्रक्रिया अघि बढिसकेको छ।
सरकारले आठ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सोही बमोजिम उपकुलपति छनोट प्रक्रिया सुरु गरिसकेको छ।
नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत छनोट गर्ने व्यवस्थासहित ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ ल्याइएको हो।
प्रकाशित: ५ जेष्ठ २०८३ १६:४४ मंगलबार





