८ माघ २०८२ बिहीबार
image/svg+xml
शिक्षा

अब्बल बन्दै सामुदायिक विद्यालय

कालीकोटका सामुदायिक विद्यालय अब्बल बन्न थालेका छन्। दरिलो व्यवस्थापनका कारण कालीकोटका सामुदायिक विद्यालयले काँचुली फेर्दै छन्। गुणस्तरमा सुधारसँगै नमुना बन्ने होडबाजी विद्यालयको छ।

प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबिचको राम्रो अन्तरसम्बन्धका कारण कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयले पछिल्लो समय व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएको हो, जसको परिणाम अभिभावकमा सामुदायिक विद्यालयप्रतिको सोच बदलिएको छ।

आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन उनीहरू खुसी भएका छन्। सान्नी त्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा नियमित खेलकुद र अतिरिक्त क्रियाकलापसँगै विद्यार्थीमैत्री कसरी बनाउने भन्ने विषयमा अभिभावकसँग छलफलमा समेत जुट्ने गरेको छ।

विद्यालयले विद्यार्थीको नियमित अनुगमन गर्ने गर्दछन्। विद्यार्थीको पढाइ सरसफाइ लगायत अतिरिक्त क्रियाकलापको समेत जानकारी गराउने कार्य भइरहेको प्रध्यानाध्यापक हिरामणि सिम्खाडाले बताए।

उनले भने, ‘विद्यालयलाई समयअनुकुल बनाउन, विद्यालय सुधार योजना, शैक्षणिक योजना, लक बुक, नमुना कक्षाकोठा व्यवास्थापन तयार गरिएको छ।’

दुर्गम बस्तीमा रहेको यो विद्यालयमा शैक्षिक स्तर बढाउन भरपूर्ण मेहनत गर्न शिक्षकले प्रतिबद्धता जनाउँदै विशेष कार्ययोजनासमेत निर्माण गरी लागु गरिरहेको जनाएका छन्।

विसं २०१६ मा स्थापना भएको विद्यालयले बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालन गरेको छ। विद्यालयमा प्राविधिक धार, विज्ञान प्रयोगशालासमेत नियमित सञ्चालन हुने गरेका छन्।

गैरसरकारी संस्थाको प्रयासमा सान्नी त्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा पछिलो समय स्मार्ट कक्षा सञ्चालन गर्न थालेपछि विद्यार्थीको आकर्षण थप बढ्दै गएको छ। कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक धारका पढाइ सुरु छ।

विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना छ। ‘किताबबाट कक्षामा सरहरूले बुझाउँदा निकै समस्या पथ्र्याे’, कक्षा ९ का छात्र रोशन संज्यालले भने, ‘अहिले विज्ञान प्रयोगशालामा आफैं प्रत्यक्ष देखेरै अध्ययन गर्दा विषयबारे प्रस्ट हुन्छ ।’ उनले थपे, ‘चाहेका विषयवस्तुका बारेमा छलफल हुने गरेको छ।’

यो स्कुलमा विद्यार्थीलाई सजाय होइन सल्लाह, सुझाव र हौसला दिएर सिकाइन्छ। मध्यम र कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षाको व्यवस्था छ। अंग्रेजी माध्यमबाट पनि पढाइने सञ्चालन गरिन्छ। विद्यालयको नेतृत्व (प्रधानाध्यापक) हिरामणि सिम्खाडाका हातमा आयो, विद्यालयले काँचुली मात्र फेरेन, अब्बल बन्न पुग्यो। अहिले चार सय ५० भन्दा बढी विद्यार्थी खुसीसाथ अध्ययनरत छन्।

अहिले किर्डाक नेपाल कालीकोट र प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित सशक्त बालिका परियोजनाअन्र्तगत छात्रालाई कक्षामा टिकाइराख्न महिनावारी आराम कक्ष, हरित विद्यालय प्रवर्धन कार्यक्रम, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप बृहत् यौनिकता शिक्षा लागु गरेको किर्डाक नेपाल कालीकोटका अनुगमन तथा मूल्यांकन अधिकृत प्रेम चौलागाईंले बताए।

विद्यालयमा नियमित ९ः५० मा विद्यालयमा विद्यार्थी र शिक्षक उपस्थित हुने गरेका छन्। विद्यालयमा ५६ जना प्राविधिक धारको कम्प्युटर इन्जिनियरिङ पढिरहेका छन्। विद्यालयमा अहिले भवन अभाव रहेको विद्यालयले जनाएको छ।

प्रकाशित: २७ पुस २०८२ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App