७ पुस २०८२ सोमबार
image/svg+xml
शिक्षा

जहाँ विद्यालय बन्द हुन्थे, त्यहीँ चल्न थाले कक्षा

जुम्लामा हिउँद आउनु भनेको विद्यालय बन्द हुनु मात्र होइन, पढाइ रोकिनु पनि हो । तीन महिना लामो बिदा यहाँको शिक्षामा ‘स्वाभाविक अवरोध’ मानिँदै आएको छ । हिमपात, चिसो र दुर्गमताले पढाइ सम्भव छैन, भन्ने तर्क वर्षौँदेखि दोहोरिँदै आएको छ । तर, गुठिचौर गाउँपालिकाले यसपटक यही तर्कलाई प्रश्न गरेको छ । गुठिचौर–१ स्थित खड्कदेवी माध्यमिक विद्यालयमा हिउँदे ट्युसनसँगै नि:शुल्क कम्प्युटर शिक्षा सुरु भएको छ ।  

आगामी चैतमा हुने एसईई परीक्षाका लागि तयारी गरिरहेका ४२ जना विद्यार्थी लक्षित यो कार्यक्रम केवल शैक्षिक गतिविधि मात्र होइन, दुर्गम शिक्षाबारे स्थापित सोचमाथिको हस्तक्षेप हो ।‘हिउँदमा पढ्न सकिँदैन भन्ने कुरा प्राकृतिक बाधा होइन, व्यवस्थापनको अभाव हो,’ वडाध्यक्ष अर्जुनकुमार महाताराले भने, ‘स्थानीय सरकारले चाह्यो भने विद्यालय बन्द हुनु आवश्यक छैन ।’

यस क्षेत्रका विद्यार्थीका लागि एसईई तयारीको अर्थ थियो, सदरमुकाम खलंगा सर्नु । गाउँका विद्यालयमा बिदा, ट्युसनको अभाव र प्रतिस्पर्धात्मक वातावरण नहुँदा पढाइका लागि शहरतर्फ धकेलिनु बाध्यता जस्तै बनेको थियो । तर त्यो बाध्यतासँगै खर्च पनि आउँथ्यो ।

‘मासिक १५ देखि २० हजार रुपैयाँ खर्च हुने हुँदा धेरैले बीचमै पढाइ छोड्थे,’ विद्यार्थी अस्मिता थकाली भन्छिन्, ‘पढ्न चाहने तर पैसा नहुने विद्यार्थी गाउँमै थन्किन्थे ।’

यसरी आर्थिक हैसियत नै शैक्षिक भविष्य निर्धारण गर्ने अवस्था थियो । गाउँमै रहँदा पढाइ कमजोर, शहर जाँदा खर्च असह्य-दुवै विकल्प असमान थिए।५ देखि ७ हजार रुपैयाँसम्म ट्युसन शुल्क तिर्नुपर्ने अवस्था थियो । नुन, चामल, ग्यास, कोठा भाडालगायतमा न्यूनतम १० हजार रुपैयाँ खर्च हुने गरेको थियो,' थकालीले भनिन्,‘रुपैयाँ नभएर बाध्यताले गाउँमा थन्किनु परेका विद्यार्थीलाई राहत मिलेको छ ।’ उनले स्थानीय सरकारको यो कदमको खुलेर प्रशंसा गरिन् ।'गतवर्षसम्म सामल बोकेर खलंगामा ट्युसन पढ्न आउने विद्यार्थीहरु गाउँमै रोकिएका छन् । अभिभावकलाई आर्थिक भार पनि कम भयो । विद्यार्थीलाई खलंगामा ट्युसन पढ्नुपर्ने बाध्यता पनि हट्यो,' विद्यार्थी मुनप्रसाद बोहराले भने,‘यो पटक वडा सरकारले राम्रो व्यवस्था गर्‍यो ।’  

हिउँदे ट्युसनसँगै कम्प्युटर शिक्षा समावेश गर्नु गुठिचौरको अर्को महत्त्वपूर्ण पक्ष हो । यहाँका धेरै विद्यार्थीका लागि कम्प्युटर पहिलोपटक देख्ने साधन मात्र होइन, पहिलोपटक छोइने प्रविधि हो ।‘कक्षा ९–१० पछि कम्प्युटर सिकाउन खोज्दा विद्यार्थी डराउँछन्,’ वडाध्यक्ष महाताराले भने, ‘अहिले नै आधार बनाइदिए माथिल्ला कक्षामा उनीहरू पछि पर्दैनन् ।’

यसले पाठ्यक्रम पूरा गर्ने सीमित लक्ष्यभन्दा बाहिर गएर भविष्यको श्रम बजारलाई ध्यानमा राखेको संकेत गर्छ ।कार्यक्रम सञ्चालनका लागि वडा कार्यालयले वडाभित्रकै विद्यालयबाट दक्ष शिक्षक छनोट गरेको छ । यसले बाहिरबाट शिक्षक ल्याउने खर्च घटाएको छ। भने स्थानीय क्षमताको प्रयोग गरेको छ । नियमित अनुगमन, शिक्षक–विद्यार्थी संवाद र कक्षाको मूल्यांकनलाई अनिवार्य बनाइएको छ ।

‘स्थानीय सरकार बजेट बाँड्ने निकाय मात्र होइन,’ वडा अध्यक्ष महाताराले भने, ‘नीति बनाउने र परिणाम खोज्ने जिम्मेवारी पनि हाम्रो हो ।’

गुठिचौरको यो अभ्यासले एउटा गहिरो प्रश्न उठाएको छ।दुर्गममा शिक्षा कमजोर हुनु भूगोलको दोष हो कि प्राथमिकताको ? हिउँदका दिनमा सुनसान हुने विद्यालय परिसर अहिले विद्यार्थीको चहलपहलले भरिएको छ । कम्प्युटर कक्षामा टाइपिङ अभ्यास गरिरहेका हातहरू केवल परीक्षा तयारी होइन, सम्भावनाको अभ्यास गरिरहेका छन् ।यो कार्यक्रमले देखाएको छ। दुर्गम भनिने ठाउँमा समस्या मात्रै छैन, समाधान पनि त्यहीँ छन् । ‘प्रश्न चाहिँ इच्छाशक्ति र दृष्टिकोणको हो,’ वडा अध्यक्ष अर्जुनकुमार महताराले भने ।

प्रकाशित: ५ पुस २०८२ २१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App