९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
शिक्षा

जन्मदिन कोषबाट गाउँका स्कुलहरूलाई पुस्तक हस्तान्तरण

स्कुलका छात्रछात्राहरूको एक वर्षको जन्मदिन कोषमा जम्मा भएको रकमबाट पुस्तक खरिद गरी देशका विभिन्न तीन स्कुलहरूलाई सहयोग गरिएको छ। भक्तपुरको एभरेष्ट इंगलिश स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न तीन विद्यालयहरूका लागि पुस्तक खरिद गरी हस्तान्तरण गरेको हो।

एभरेस्ट जन्मदिन कोष २०८२ बाट संकलित रकमबाट टीकापुर ९ झुङगा कैलालीस्थित श्री सेती मैयाँ चौधरी माध्यमिक विद्यालय, भोजपुर ४ दावाँस्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालय र जीतपुर सिमरा २ दशविगाहा बारास्थित श्री सरस्वती आधारभूत विद्यालयलाई पुस्तकहरू हस्तान्तरण गरिएको हो।

पुस्तकहरू सबै निःशुल्क हस्तान्तरण गरिएको हो। पुस्तक खरिदका लागि स्कुलमा अध्ययनरत विद्यार्थीहरूले आ-आफ्नो जन्मदिनमा चकलेट, केक वा अन्य केही नकिनी जन्मदिनको पैसा कोषमा राखेका थिए। यही कोषमा जम्मा भएको रकमबाट पुस्तक खरिद गरिएको हो। खरिद पुस्तकहरू देशका विभिन्न ग्रामिण क्षेत्रका विद्यालयहरूलाई हस्तान्तरण गर्ने स्कुलको परिपाटी अनुसार यसअघि नै छनौट गरिएका स्कुलका प्रतिनिधिहरूलाई बोलाइ पुस्तक हस्तान्तरण गरिएको हो।

पुस्तकर हस्तान्तरण गरी पठन संस्कृतिलाई अझ मजबुत बनाउन हौसला पुगेको बताइएको छ। एभरेष्ट इंगलिश स्कुलको शुक्रबार भक्तपुरमा भएको ४३ औँ वार्षिकोत्सव कार्यक्रममा तीन वटा स्कुलहरूलाई पुस्तक हस्तान्तरण गरिएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रजापतिले पुस्तक हस्तान्तरण गरेका हुन्।

कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। एभरेष्ट इंगलिश स्कुलको ४३ औ वार्षिकोत्सव कार्यक्रममा प्रमुख प्रजापतिले शिक्षा व्यापार नभइ राज्यको जिम्मेवारी भएको बताए। भक्तपुरको शैक्षिक इतिहास बाकेको एभरेष्ट स्कुलले शैक्षिक जगतमा निरन्तर उत्कृष्टता हासिल गर्दै आइरहेको बताउँदै उनले कुनै पनि संस्थाको दिगो विकासमा नेतृत्वको महत्वपूर्ण भूमिका हुने बताए। उनले भक्तपुर नगरपालिकाले विद्यालयलक्षित गतिविधिमा जोड दिँदै आएको बताए। विद्यार्थीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्नुपर्ने, कुलतबाट जोगाउनुपर्ने र असल सगतको लागि प्रेरित गर्नुपर्ने बताउँदै उनले भक्तपुरमा ज्ञानको गुणस्तरमा भएको प्रतिस्पर्धाले भक्तपुर आज ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास हुन सफल भएको बताए।

प्रमुख प्रजापतिले गुणस्तरीय शिक्षाले मात्रै नयाँ पुस्ताको भविष्य उज्ज्वल हुने बताउँदै शिक्षामा विभेद गर्नु हुन्न भन्ने मान्यताले सामुदायिक र संस्थागत विद्यालयहरूलाई समान ढगले अगाडि बढाउने नीति अवलम्बन गर्दै आएको बताए।

बालबालिकाको व्यक्तित्व विकासको महत्वपूर्ण अस्त्रको रूपमा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापहरू हुन् भन्दै उनले भक्तपुर नपाले यहाँका विद्यालयहरूलाई आर्थिक, नैतिक र भौतिक सहयोग पनि गर्दै आइरहेको बताए।

कार्यक्रमका विशेष अतिथि राष्टिय गानका रचयिता प्रदिपकुमार राई व्याकुल माइलाले वार्षिकोत्सवको अवसरमा एभरेष्ट स्कुलले विद्यालयहरूलाई पुस्तक हस्तान्तरण कार्यक्रमलाई आगामी दिनहरूमा निरन्तरता दिने विश्वास व्यक्त गर्दै यसले देशको शैक्षिक किवासमा पनि टेवा पुग्ने बताए।

विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयको शैक्षिक गतिविधिबारे प्रष्ट पार्दै सामाजिक तथा शैक्षिक अभियानमार्फत विद्यालय अगाडि बढिरहेको बताए। विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि सलग्न गराउँदै आएको बताउँदै उनले विद्यालयको भावी योजनाबारे अवगत गराए।

प्रकाशित: १ फाल्गुन २०८२ १९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App