४ भाद्र २०८२ बुधबार
image/svg+xml १५:४३ अपराह्न
शिक्षा

बजेटसँगै नीति तथा कार्यक्रम पारित हुँदा विश्वविद्यालयलाई सहज

कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औं बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा।

विश्वविद्यालयका सभाहरू प्रधानमन्त्री निवास बालुवाटारमा हुँदा विश्वविद्यालयका पदाधिकारीसहित सभाका सदस्यहरूको बास नै त्यही भयो। एकै दिनमा चारवटासम्म विश्वविद्यालयको सभा सम्पन्न गराउँदा विश्वविद्यालयका सबै पदाधिकारी, विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी तथा सभाका सदस्यहरूको बास नै बालुवाटारमा बन्न पुगेको हो। यसले गर्दा विश्वविद्यालयका पदाधिकरी तथा सभाका सदस्यहरूले सास्ती खेप्नुपरेको थियो। सबै सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलपतिको हैसियतले अध्यक्षता गर्नुपर्ने हुँदा सबै सदस्य बालुवाटारमै बस्नुपर्ने अवस्था सिर्जना भएको हो।

असार मसान्तसम्म सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरूको आर्थिक वर्ष २०८२÷८३ को बजेटसँगै नीति तथा कार्यक्रम पास गराउनुपर्ने बाध्यता र सबै विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीको व्यस्तताका कारण विश्वविद्यालयमा पुग्न सक्ने सम्भावना नभएपछि बालुवाटारमै सभा सम्पन्न गर्नुपरेको नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारी बताउँछन्।

 ‘प्रधानमन्त्रीज्यूले कुलपतिको हैसियतले प्रत्येक विश्वविद्यालयलाई साढे दुईदेखि साढे तीन घण्टासम्म समय दिनुभयो। निकै शान्त भएर विश्वविद्यालयका समस्या र चुनौतीबारे उहाँले सुन्नुभयो,’ रजिस्ट्रार अधिकारीले नागरिकसँग भने, ‘असार ३२ गते लुम्बिनी र नेपाल संस्कृत विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोग गरी एकै दिन तीन वटा सभा सम्पन्न भयो। सकारात्मक पक्ष के रह्यो भने असार मसान्तभित्र सबै विश्वविद्यालय र प्रतिष्ठानहरूको कम्तीमा बजेट र कार्यक्रम समयमै पास भयो । नयाँ आर्थिक वर्षमा क्यालेन्डरअनुसार काम गर्न सकिने भयो । विश्वविद्यालय अनुदान आयोगले पनि बजेट समयमै निकासा गर्ने भयो।’

विश्वविद्यालयका पदाधिकारी तथा सभाका सदस्यहरू नै प्रधानमन्त्री निवासमा पुग्नु सही नभएको भनी आलोचना भइरहेका बेला रजिस्ट्रार अधिकारी भने यसो गर्दा ‘झनै प्राज्ञिक गरिमा बढेको’ तर्क गर्छन्। ‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री र सदस्यहरू विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, शिक्षा सचिव, अर्थ सचिवलगायत समेत हुने भएकाले सबै विश्वविद्यालयहरूमा पुग्न सहज छैन। यसकारण विगतमा वैशाखसम्म पनि बजेट पास हुन मुस्किल हुन्थ्यो तर यसपटक बालुवाटारमा सभा सम्पन्न भएपछि सबै विश्वविद्यालयले नयाँ कार्यक्रम गर्न पाएका छन्,’ रजिस्ट्रार अधिकारी भन्छन्, ‘विश्वविद्यालयको ऐनमा कुलपति अनुपस्थित भए सहकुलपति, सहकुलपति अनुपस्थित भए उपकुलपतिको अध्यक्षतमा सभा बस्नुपर्ने व्यवस्था छ। यसकारण अबको सभा उपकुलतिकै रोहवरमा विश्वविद्यालयभित्रै गर्दा अपनत्व बढ्छ। विश्वविद्यालयको प्राज्ञिक गरिमा कायम हुन्छ।’

यस पटक असारमसान्तसम्म नौ वटा विश्वविद्यालय, एक प्रतिष्ठान र एक आयोगको बजेट र नीति तथा कार्यक्रम पास गराउने जिम्मेवारी प्रधानमन्त्री एवं विश्वविद्यालय तथा प्रतिष्ठानहरूका कुलपति एवं प्रधानमन्त्री ओलीको दायित्व भएकाले उनले समय व्यस्तताका कारण प्रधानमन्त्री निवास बालुवाटारमै विश्वविद्यालयको सभा चलाएका हुन्।

एकै दिनमा चार वटासम्म विश्वविद्यालयको सभा चलाउँदा विश्वविद्यालय सभाका सदस्य, पदाधिकारी तथा विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी समेतले बालुवाटारमा लामो समय गुजार्नुपर्ने अवस्था बन्यो। विशेष गरी पछिल्ला तीन दिन असार ३०, ३१ र ३२ सम्म देशका सबै विश्वविद्यायल र प्रतिष्ठानहरूले बालुवाटार पुगेर बजेट र नीति तथा कार्यक्रम पास गराए। यसले विश्वविद्यालयका पदाधिकारी, सभाका सदस्य तथा आयोगका पदाधिकारीलाई सास्ती हुनुका साथै विद्यार्थीको विश्वविद्यालयप्रतिको अपनत्व भने हुन सकेन। खातापाता बोकेरै विश्वविद्यालयका बौद्धिक जमात बालुवाटार पुग्नुलाई विश्वविद्यालयको बौद्धिक जगत्ले राम्रो मानेको छैन। तथापि यसपटक समयभित्रै बजेट र नीति तथा कार्यक्रम भने पास भएका छन्।

प्रधानमन्त्री विश्वविद्यालय तथा प्रतिष्ठानहरूको कुलपति हुने व्यवस्थाले पछिल्लो समय विश्वविद्यालयहरूले निकै सास्ती खेप्नुपरेको छ। देशका सबै विश्वविद्यालय र प्रतिष्ठानहरूमा प्रधानमन्त्री कुलपति हुने तर व्यस्तताले विश्वविद्यालयहरूमा समय दिन नसक्ने भएपछि असार मसान्तभित्र आफ्ना नीति, कार्यक्रम, बजेटलगायत खातापाता बोकेरै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

विश्वविद्यालय स्वायत्त संस्था हो। विश्वविद्यालयमा विद्यार्थी तथा प्राज्ञहरू अध्ययन–अनुसन्धान गर्छन्। नितान्त बौद्धिक जगत्को शैक्षिक निकाय पछिल्लो समय आफ्नो नीति तथा कार्यक्रम र बजेट पास गराउन प्रधानमन्त्री निवास बालुवाटार पुग्ने गरेको देख्दा समस्त प्राज्ञिक क्षेत्र नै नाजवाफ बनेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति एवं त्रिवि सभा सदस्य प्राध्यापक डा. वसन्त ढकाल बताउँछन्।

शिक्षाविद् एवं काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बालाचन्द्र लुइँटेल विश्वविद्यालयको गरिमा राख्न पनि विश्वविद्यालयको सभा विश्वविद्यालयमै बस्नुपर्नेमा जोड दिन्छन्।

असार ३० गते एकै पटक दुई विश्वविद्यालय मध्यपश्चिम र राजर्षि जनक विश्वविद्यालयको सभा प्रधानमन्त्रीकै अध्यक्षतामा बालुवाटारमै बस्यो। मध्यपश्चिम विश्वविद्यालयको १७औं सभाले एक अर्ब ३६ करोड ७७ लाख र राजर्षि जनकको १०औं सभाले अगामी आर्थिक वर्षको ३७ करोड ९३ लाख बजेट पारित ग¥यो। असार ३१ गते पूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभाले एक अर्ब ८७ करोड, सुदूरपश्चिम विश्वविद्यालयको १३औं सभाले एक अर्ब ५४ करोड, कृषि तथा वन विश्वविद्यालयको १४औं सभाले एक अर्ब ६८ करोड र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औं सभाले तीन अर्ब १९ करोड बजेटसँगै नीति तथा कार्यक्रम र बजेट पारित भयो।

असार ३२ गते लुम्बिनी र नेपाल संस्कृत विश्वविद्यालय गरी दुई विश्वविद्यालयको सभा बालुवाटारमा बस्यो । लुम्बिनी विश्वविद्यालयको १८औं सभाले ४९ करोड ५९ लाखको बजेट पारित ग¥यो । नेपाल संस्कृत विश्वविद्यालयको ७८औं सभाले एक अर्ब ३१ करोडको बजेट पास ग¥यो ।

प्रकाशित: २ श्रावण २०८२ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App