काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका कक्षाकोठालाई तिहारअघि नै स्मार्ट कक्षाकोठामा परिणत गर्ने घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले दुई वर्षदेखि रोकिएको यो महत्वाकांक्षी योजना सम्पन्न हुने चरणमा पुगेको र यसबाट ५३ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने बताए।
‘डिजिटल शिक्षा आजको आवश्यकता हो,’ प्रमुख शाहले भनेका छन्, ‘विविध कारणले पछिल्ला २ वर्षदेखि रोकिएको स्मार्ट कक्षाकोठा निर्माणको कार्य अन्ततः सम्पन्न हुने चरणमा पुगेको छ।’
प्रमुख शाहका अनुसार हालसम्म पहिले रहेका १७७ र नयाँ जडान गरिएका ३१३ गरी कुल ४९० वटा स्मार्ट बोर्ड सञ्चालनमा आइसकेका छन्। थप ५७० वटा बोर्ड खरिदका लागि सम्बन्धित विद्यालयहरूमा बजेट निकासा भइसकेको उनले जानकारी दिए।
यससँगै महानगरका ८७ वटा सामुदायिक विद्यालयका लागि आवश्यक १,०६० वटै स्मार्ट बोर्ड तिहारअघि जडान सम्पन्न हुनेछ। यो योजना सम्पन्न भएपछि महानगरका सबै सामुदायिक विद्यालयका कक्षाकोठा पूर्ण रूपमा प्रविधिमैत्री बन्नेछन्।
‘हाम्रा बालबालिकाहरू हाम्रो पहिलो प्राथमिकता हुन्,’ साहले लेखेका छन्, ‘उनीहरूमा गर्ने लगानीले मात्र उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गर्न सक्ने आधार तयार हुन्छ भन्ने कुरामा हामी स्पष्ट हुनैपर्छ।‘
उनले यस अभियानमा सबैको अपनत्व र सहभागिता आवश्यक रहेकोमा जोड दिए।
प्रकाशित: ८ आश्विन २०८२ २०:२२ बुधबार





