१०२ वर्ष लामो इतिहास बोकेको भक्तपुर जिल्लाकै सबैभन्दा पुरानो एउटा सरकारी स्कुल अहिलेसम्म पनि समस्यामा पर्दै आएको छ । श्री पद्म माध्यामिक विद्यालय दरवार क्षेत्र भक्तपुरले भबनलगायतका विभिन्न अभाबहरु झेल्दै आउन बाध्य भएको हो ।
स्कुलको सोमबार भएको १०२ औँ तथा पदम कलेजको १६ औं वार्षिकोत्सवको अवसरमा स्कुलका प्राचार्य राम हाडाले एक सय वर्ष भन्दा पुरानो ऐतिहासिक स्कुल अहिलेसम्म पनि कक्षाकोठा अभावको समस्यासँग जुधिरहेको भन्दै दुःख व्यक्त गरे । उनका अनुसार स्कुलका पुराना भबनहरु २०७२ सालको महाभूकम्पले भत्केका थिए । तर त्यो भबन बनाउन सकेको छैन । अहिले स्कुलले विभिन्न अस्थायी टहराहरुमा राखेर विद्यार्थी पढाइराखेको छ ।
कार्यक्रममा प्राचार्य हाडाले स्कुलको मुल भबनको उतरतर्फका प्रस्तावित तीनवटा भबनमध्ये दुई वटा भबन निर्माणका लागि काम भइरहेको जनाए । तर भबन निर्माणका लागि आर्थिक अभाब भइरहेको उनले जनाए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री एवं सोही स्कुलका पूर्व विद्यार्थी सुरेश श्रेष्ठले स्कुल भबन बनाउनका लागि आफूले पहल गरिदिने वचन दिए । चालू आर्थिक वर्षका लागि बजेट पारित भइसकेकोले अर्को आर्थिक वर्षका लागि बजेटका पहल गरिदिने उनले बताए । साथै पूर्व विद्यार्थीको भेला गरी उनीहरुसँग एक एक हजार मात्रै पनि सहयोग संकलन गर्न सकिने स्कुल भबन बन्न सकिने उनले बताए ।
कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं उक्त स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले एक सय वर्ष पूरा भएर इतिहास बोकेको स्कुलको दर्दनाक अवस्था भएको सरकारी शिक्षा अधिकारीहरुले जानकारी पाए पनि सहयोग नपाउनु दुर्भाग्यको विषय भएको बताए । त्यसकारण जुन पार्टीको सरकार आयो त्यो पार्टीलाई मात्रै बजेट पार्ने परिपाटी अन्त्य गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने सरकारी नीति हुनुपर्नेमा उनले विशेष जोड दिए ।
भक्तपुरमा राणाकालीन अवस्थामा ठुलो संर्घषका बाबजुद विसं १९८१ स्कुल खुलेको थियो । यो स्कुलको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अङ्ग्रेजी विद्यालय’ का नामले भएको थियो । समाजसेवी जगबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले दुई कक्षासम्म सञ्चालन गरेका थिए । प्रारम्भिक चरणमै अङ्ग्रेजी शिक्षा भित्रयाउने यो भक्तपुरकै पहिलो स्कुल थियो ।
२००३ सालमा पद्म शमशेरले यसलाई माध्यमिक तह बनाउने हुकुम दिएसँगै यसको नाम पनि फेरियो । यहाँका विद्यार्थी २००३ सालबाटै एसएलसी परीक्षामा सहभागी थिए । त्यो बेला ४ जना विद्यार्थीले परीक्षा दिएका थिए । राणाकालदेखि विभिन्न समस्या झेल्दै भक्तपुरको शैक्षिक गुणस्तरलाई ध्यान दिँदै आएको उक्त स्कुल हालसम्म पनि टहरामा अध्यापन गराउन बाध्य हुँदै आएको छ ।
प्रकाशित: ८ मंसिर २०८२ २१:५९ सोमबार





