९ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

प्राविधिक धारका छात्रछात्रालाई छात्रवृत्ति प्रदान

महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयका छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ। गरिब तथा मेधावी छात्रछात्रालाई प्राविधिक शिक्षाको डिप्लोमा (स्नातक)तह अध्ययनका लागि पद्मशम्शेर स्मृति प्रतिष्ठान बर्दिबासले शनिबार एक समारोहबीच पूर्ण छात्रवृत्तिको रकम प्रदान गरेको हो।

प्रतिष्ठानले बर्दिबास–१ महोत्तरीले नगर क्षेत्रका विभिन्न शिक्षालयमा अध्ययन गर्न छ जना गरिब तथा मेधावी छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरेपछि अब अर्थाभावले आफ्नो अध्ययन नरोकिने छात्रछात्राको भनाइ छ।

‘मेरो अब अघिल्लो शिक्षाका लागि पढ्ने सावगास थिएन’, बर्दिबास–१० खयरमाराकी जसोधाकुमारी मण्डलले भनिन्, ‘मेरा लागि छात्रवृत्ति अब वरदान भएको छ। म मेहेनतसाथ पढेर राम्रो होटल व्यवस्थापनविज्ञ बन्नेछु।’

अत्यन्त गरिब परिवारकी मण्डलले बर्दिबास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा होटल म्यानेजमेन्ट विषयको डिप्लोमा तह अध्ययन थालेका छन्। प्रतिष्ठानले गत असोजमै निर्णय गरे अनुसार आज सम्बन्धित शिक्षालयका प्रमुखको उपस्थितिमा चेकबाट रकम उपलब्ध गराएको हो।

यसैगरी खयरमाराकै अत्यन्त गरिब परिवारकी दिनिता देवकोटाले पनि सोही शिक्षालयमा रेडियोग्राफी विषयको स्नातक तहको पठनपाठन र अभ्यासका लागि प्रतिष्ठानबाट पूर्ण छात्रवृत्ति पाएकी छन्।

 ‘रहर हुँदाहुँदै घरको गरिबीले पढ्न पाइएला जस्तो लागेको थिएन’, देवकोटाले छात्रवृत्तिमा छानिएपछि खुसी व्यक्त गर्दै भनिन्, ‘अब प्रतिष्ठानले ढुक्क बनाएको छ। दत्तचित्तसाथ पढेर राम्रो नतिजा ल्याउनेछु।’

प्रतिष्ठानबाट यसपटक बर्दिबास-३ की कविता चौलागाई र जेनिसा तामाङले क्रमशः पशु विज्ञान र बाली विज्ञानमा स्नातक तहको अध्ययन गर्न प्रतिष्ठानबाट पूर्ण छात्रवृत्ति पाएका छन्। चौलागाई र तामाङले उनीहरूले नै रोजेका प्राविधिक धारको पठनपाठन सञ्चालन गर्दै आएको जनता माध्यमिक विद्यालय बर्दिबास-३ गौरीडाँडामा पढ्न थालेका छन्।

त्यसैगरी बर्दिबास-६ का रविनकुमार साह र बर्दिबास-७ का मनिषकुमार महतोले क्रमशः सिभिल इञ्जिनियरिङ र कम्प्यूटर विज्ञान विषयका लागि स्नातक तहको अध्ययन गर्न पूर्ण छात्रवृत्ति पाएका छन्। उनीहरू दुवैले बर्दिबास-६ चौलिखास्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा पढ्न थालेका छन्।

‘मैले पढ्ने रहरले नामाङ्कनका लागि छात्रवृत्तिका लागि आवेदन त भरें’, सिभिल इञ्जिनियरिङ विषयमा अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरिएका रविनकुमार साहले भावविह्वल हुँदै भने,‘ आफू जस्ता गरिबले पढ्न पाउने कुरामा भने आश थिएन तर मैले सिटिइभिटी (योग्यता जाँच परीक्षा उत्तीर्ण) र प्रतिष्ठान दुवै ठाउँबाट अवसर पाएँ।’

मुख्य पक्ष पठनपाठनका लागि लाग्ने पूरै शुल्क प्रतिष्ठानले ब्यहोरिदिएपछि साह अब उच्च तहको प्राविधिक शिक्षा पढ्न पाउने कुराले खुसी छन्।

प्रतिष्ठानले शैक्षिक सत्र २०७७ देखि बर्दिबास नगरक्षेत्रका बासिन्दा रही यसै नगरक्षेत्रका प्राविधिक धारका विद्यालयमा पठनपाठन गर्न बर्सेनि १५ जना छात्रछात्रालाई छात्रवृत्ति दिने घोषणा गरे पनि मापदण्ड अनुसारका संख्या अपुग हुँदै आएको छ। प्रतिष्ठानबाट पहिलो वर्ष (२०७७०) मा ११ जना र गत वर्ष (२०७८)मा नौ जनाले पूर्ण छात्रवृत्ति पाएर अध्ययन जारी राखेका छन्। यसपालि छ जनाले छात्रवृत्ति पाउँदा संस्थाबाट लाभान्वित छात्रछात्राको संख्या २६ पुगेको छ। जसमध्ये कम्प्यूटर विज्ञानका दुई जनाले अध्ययन पूरा गरेका छन्।

आज अध्ययन पूरा गरेका छात्रछात्रालाई बिदाई तथा यसपालि छनोट भएका छ जनालाई छात्रवृत्ति प्रदान गर्न आयोजित समारोहमा अध्ययन पूरा गरेका अनिल गिरी र रक्षा सिग्देललाई प्रतिष्ठानले सम्मानपत्र प्रदान गरेको छ। सम्मानपत्र र नगद चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय एकाई महोत्तरीका प्रमुख भरतबाबु सुवेदीले प्रदान गरेका हुन्।

प्रतिष्ठानका अध्यक्ष विष्णु खड्का भन्छन्, ‘आर्थिक कारणले नै शिक्षाको अवसर गुमाउन नपरोस् भन्ने सोचले प्रयत्न थालिएको हो’, बर्दिबासस्थित होटल विनायकका सञ्चालक खड्काले होटलको मुनाफाभित्रको निश्चित प्रतिशत रकम प्रतिष्ठानमा जाने नियमित व्यवस्था गरेपछि छात्रवृत्ति सञ्चालनमा आएको हो। विगतमा अर्थाभावकै कारण पढ्ने इच्छा पूरा नभएको सम्झनाले अहिले केही सामाजिक काम गर्न सक्ने आर्थिक हैसियत भएपछि शैक्षिक अवस्था सुधारका लागि पहल थालेको प्रतिष्ठानका अध्यक्ष खड्काको भनाइ छ।

‘मैले त्यतिखेर (३० वर्षअघि) एसएलसी पास गरेपछि गरिबीकै कारण अध्ययन बढाउन सकिनँ’, उनले भने, ‘अहिले मेहेनतले केही खर्च गर्न सक्ने भएको छु। त्यसैले स्व. पितामाताको नाउँमा प्रतिष्ठान स्थापना गरेर छात्रवृत्ति कोषमार्फत शैक्षिक काम थालेको हुँ।’

गरिब परिवारका जेहेनदार छात्रछात्राको पढाइमा सहयोग पुर्‍याउन पाउँदा आफू सामाजिक काममा रहेको अनुभूतिसँगै सन्तोष र आनन्द लाग्ने गरेको खड्का बताउँछन्। बर्दिबास नगर क्षेत्रमा शिक्षाको प्रसारमा प्रतिष्ठानको योगदानले दक्ष जनशक्ति विकासमा सहयोग पुगेको बर्दिबास नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाका प्रमुख गणेशप्रसाद दाहालको भनाइ छ।

प्रकाशित: २० कार्तिक २०७९ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App