५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

खेलबाट विपद जोखिम न्यूनीकरण शिक्षा

बालबालिकालाई खेल खामग्रीबाट विपद न्यूनीकरण शिक्षा कसरी दिन सकिन्छ भनेर सिक्दै शिक्षकहरु।

गोरखाका विभिन्न १६ विद्यालयका विद्यार्थीलाई खेलमार्फत विपद् जोखिम न्यूनीकरण शिक्षा दिइने भएको छ। बालबालिकाको मनसपटलमा कसरी विपद् जोखिम न्यूनीकरणका कुरा पुर्‍याउन र उनीहरुलाई सिकाउन सकिन्छ भन्ने उद्देश्य अनुरुप सोही अनुसारका खेल सामग्री तयार गरिएको हो।

एकीकरण नेपाल गोरखाले जिल्लाका १६ विद्यालयमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी खेल सामग्री सोमबार वितरण गरेको छ। गोरखा सदरमुकाममा भएको एक कार्यक्रम बिच गोरखा नपाको प्रमुख कृष्णबहादुर रानाले उक्त सामग्री वितरण गरेका हुन्।

विपद व्यवस्थापन सम्बन्धी विभिन्न सात प्रकारको खेल सामग्रीहरु कागजको भाडा बनाउने तरिका, विपद् सम्बन्धी सर्प र भयाङ्ग, आगोलागी सम्बन्धी रिले दौड, पहिरो र भुक्षय सम्बन्धी रुमालचोरी खेल, आपतकालीन सामग्री हाजिरी जवाफ, विपद् जीवन चक्र खेल तथा दुर्घटना सुरक्षा सम्बन्धी भाग्योदय खेल सामग्री विद्यालयमा पठाइएको छ।

खेल सामग्री वारपाक सुलीकोटको आठ वटा, गोरखा नगरपालिकाको सात वटा र सिरानचोक गाउँपालिकाको एउटा विद्यालयलाई सामग्री वितरण गरिएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि दवेकोटाले बताए। विपद् जोखिम न्यूनीकरण शिक्षालाई स्थानीयकरण गर्न खेलको माध्यमबाट विद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरण सम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले खेल सामग्री वितरण गरिएको उनले बताए।

उक्त खेल सामग्रीहरु विगतमा सम्बन्धित विद्यालयका शिक्षकहरुबाटै प्राप्त ज्ञान र सीपको आधारमा विकास गरिएको एकीकरण नेपालका परियोजना निर्देशक दिपक मरहट्टाले बताए। गोरखा नगरपालिकाको मेयर कृष्णबहादुर रानाले नेपाल विपद् जोखिमको हिसाबले उच्च जोखिममा रहेकाले यस्ता खालको कार्यक्रमले बालबालिकाहरुलाई व्यावहारिक ज्ञान, सीप र क्षमताको विकास हुने बताए।

एल्मुनाई इन्गेजमेन्ट इन्नोभेशन फन्ड एइआइएफ अन्तरगत अमेरिकन दूतावासको आर्थिक सहयोगमा वितरित सामग्री गोरखा नगरपालिका, वारपाक सुलीकोट गाउँपालिका र सिरानचोक गापाको १६ वटा विद्यालयमा वितरण गरिएको हो।

प्रकाशित: ६ असार २०७९ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App